७७ जिल्लामा फैलियो डेंगु, संक्रमित संख्या ४२ हजारनजिक

अझै एक/डेढ महिना डेंगुले प्रकोप लिन सक्छ : डा. शेरबहादुर पुन

डिबी शर्मा
Read Time = 4 mins

काठमाडौं । देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । गत साउनदेखि व्यापक बनेको डेंगु देशका सबै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनयता मात्रै ४१ हजार ७४३ जना डेंगु संक्रमित भएका छन् । मंगलबार एकै दिन एक हजार ७१४ जना डेंगुका बिरामी थपिएका हुन् । सोमबारसम्म कुल बिरामी ४० हजार २९ जना थियो ।

हाल देखिएको संक्रमितको संख्या २००४ यताकै धेरै हो । काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा धेरै संक्रमित छन् । उपत्यकाबाहिर गुल्मी, दार्चुला, संखुवासभा, कास्की लगायतका २६ जिल्लामा संक्रमितको संख्या एक सयभन्दा माथि छ । नेपालमा साउनदेखि हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार थप एक जनाको ज्यान गएसँगै डेंगुबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो ।

उपत्यकाका अधिकांश सरकारी अस्पताल डेंगुका बिरामीले भरिएका छन् । सरकारी अस्पतालमा मात्रै होइन, क्लिनिक, निजी अस्पतालमा पनि डेंगु भएर भर्ना हुने अत्यधिक छ । गम्भीर लक्षण देखिएकाहरू मात्रै अस्पताल आउने भएकाले घरघरमा डेंगुका बिरामी हुनसक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौं उपत्यकाका अधिकांशमा डेंगु संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । डेंगु नियन्त्रण गर्नका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज र नष्ट गर’ अभियान हो । यसभन्दा अगाडि दशैँ, तिहारतिर आउटब्रेक हुने गरेको भए पनि यसपालि अझै एक/डेढ महिना डेंगुले प्रकोप लिनसक्ने उहाँको भनाइ छ । डेंगु अन्त्यका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान प्रभावकारी रूपमा चलाउनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे नियन्त्रण गर्न भनेर प्रत्येक वर्ष लाखौँ रुपैयाँ विनियोजन गर्दै आएको छ । यसपालि पनि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । तर, डेंगु नियन्त्रणभन्दा बढ्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक सन् २००४ मा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुःख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, बान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?