कुम्हालेहरुलाई पेशा जोगाउनै समस्या

बाराको सदरमुकाम कलैया स्थित कलैया बजारमा माटोको भाँडो बेच्दै कलैया उपमहानगरपालिका-६ पर्सा टोलका बहादुर पंडित ।

हिमालय टाइम्स
Read Time = 5 mins

-संजीव कुमार मिश्रा
बारा । कुम्हालेहरुलाई आफनो पेशा जोगाउन समस्या भएको छ । कलैैया उपमहानगरपालिका-६ पर्साटोल घर भएका ५९ वर्षीय बहादुर पंडितले बजार सँग प्रतिस्पर्धा गर्न नसकी पेशा जोगाउनै समस्या भएको बताउनुभयो ।

बजारमा आएको प्लाष्टिकका भाडाकुडाले आफ्नाे पेशा नै धरापमा पारेको उहाँले बताउनुभयाे । चाइनिज समानहरुले बजार लिएपछि आफूहरुको पेशा नै जोखिममा परेको उहाँकाे भनाई छ । पहिला पहिला मानिसहरु प्लाष्टीकका भाडाकुडालाई अशुद्ध मान्दथे र माटोको भाडा मात्र प्रयोग गर्ने गर्दथे तर अहिले आएर पटक पटक प्रयोग गर्न सकिने भनेर मानिसहरु माटो भन्दा प्लाष्टीकको भाडा तर्फ आकर्षित भएको हुनाले हाम्रो व्यवसाय नै धरापमा परेको उहाँले बताउनुभयाे ।

प्लाष्टीकको भाडो भन्दा शुद्ध र वातावरणको दृष्टिकोणले समेत माटोको भाडो राम्रो भएपनि पहिलाको भन्दा अहिले कमाई कम र लगानी बढी भएको पंडितकाे भनाई छ  । पहिला सितैमा पाउने माटो पनि अहिले किन्नु पर्ने बाध्यता छ, उहाँले भन्नुभयो, ‘अहिले एक टेलर माटोको एक हजार रुपैयाँ तिर्नु पर्छ । त्यसै गरि पहिला चार सयमा पाउने दाउरा अहिले एक हजार पाँच सय देखि दुई हजार सम्म पर्छ । दुई सयमा पाउने गुईठा अहिले एक हजार भन्दा बढी पर्छ । लगानी धेरै हुन्छ तर कमाई कम हुन्छऽ  उहाँले भन्नुभयो ।’ अहिले त यो पेशाबाट जेनतेन गरि नून तेल र तरकारी मात्र पुग्छ । त्यो बाहेक त माटोको भाडो बनाएर केही गर्न सकिएको छैन । पहिला पहिला कमाई राम्रो हुन्थ्यो र आफनो कमाईले नै केही जग्गा पनि जोडेको उहाँले बताउनुभयो ।

यही पेशाबाट छोरा छोरीलाई पनि पढाइयो तर अब यो पेशा गरेर जीवन धान्न धेरै गाह्रो भएको छ, उहाँले भन्नुभयो, ‘माटोको भाडो तयार गर्न माटो मुछ्ने देखि लिएर बनाउने सुकाउने र आगोमा पकाएर तयार गर्न १५ दिन लाग्छ । गर्मी याममा माटोको भाडो तयार गर्न सजिलो हुने तर जाडोको बेला माटोको भाडा बनाएर बजार सम्म पुर्‍याउन महिनौ लाग्छ । श्रम अनुसार पैसा नपाएर हाम्रा सन्ततिहरु पेशा छोडदै गए । अब यो पेशा हामी बुढापाकाहरुले मात्र जोगाएका छौ । अहिले माटोको भाडो लिएर बजारमा दिनभरि बस्दा पनि दुई सय देखि पाँच सय सम्म कमाई हुने गरेको उहाँले बताउनुभयो ।’

बिहाबारीको समयमा विक्री बढछ र कमाई पनि राम्रो हुन्छ तर त्यो क्षणिक मात्र हुन्छ । केही दिन कमाएर यो पेशाबाट जीवन धान्न गाह्रो हुने गरेको उहाँले दुखेसो पोख्नुभयो । बजारमा आएको प्लाष्टीकको भाडा सस्तो र टिकाउ हुने भएको कारण माटाका भाडोहरु मान्छेले किन्नै छाडेको उहाँकाे भनाई छ ।

माटोको भाडाको बजार अहिले प्लाष्टिकले लिएको कारण कुम्हालेहरुको पेशा लोप हुने अवस्थामा पुगेको छ । प्लाष्टिकको भाडोले बजार लिएपनि स्वास्थ्य र वातावरणको दष्टिकोणले माटोको भाडो राम्रो हुन्छ । कुम्हालेहरुको पेशा पौराणिक भएर नै यो लोप हुने अवस्थामा पुगेको हो । समय सापेक्ष यसमा परिवर्तन र परिमार्जन हुन नसकेर  पेशा नै समाप्त हुने अवस्थामा पुगेको उहाँले बताउनुभयाे ।

प‌ंडितको एउटा छोरा र एउटा छोरी छन । छोरा पढे लेखेका छन उनी माटोको भाडा बनाउन मान्दैनन् र यो कामबाट जीवन धान्न गाह्रो हुने भएकोले अब यो काम नगरौ भनि भन्छन, कुम्हालले भन्नुभयो । ३२ वर्षीय छोरा वृजकिशोर पंडित कारखानामा काम गर्छन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?