माफ गर्नुस् असल उम्मेदवारहरू !

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 14 mins

यो चुनावमा अहिले मलाई ठूलो पछुतो लागिरहेको छ । राज्यकोषबाट विश्वविद्यालय अनुदान आयोग हुँदै आफू कार्यरत विश्वविद्यालयमा आउने अनुदानबाट जीविका गर्दै आएको एक व्यक्ति भएका कारण मैले असल उम्मेदवारलाई शुभकामना दिने र खराब उम्मेदवारहरूका बारेमा केही खुलासा गर्ने अवसर गुमाएको छु । एउटा जिम्मेवार नागरिक भएका कारण मैले यो राजनीतिक दलको यो उम्मेदवारले हाम्रो देशको भविष्य र हामी नेपाली नागरिकको दैनिकीमा केही परिवर्तन ल्याउन सक्दछ भनेर बुझाउनुपर्ने थियो तर तलबी नागरिक भएका कारण म मौन बस्न बाध्य भएको छु । महिनामा छवटा लेख दैनिक पत्रिकाहरूमा निरन्तर लेख्ने लेखक भएका कारण पनि मैले सत्यलाई सत्य भन्नु पर्ने थियो तर असत्यलाई झुट भनेर पनि लेख्न नसक्ने अवस्थामा छु । त्यसैले लेखको आरम्भमै देशभरि प्रतिस्पर्धामा सामेल भएका सबै असल उम्मेदवारहरूसँग माफी माग्दछु ।

मैले राजनीतिक दलको झण्डा बोकेर नारा लगाउँदै जुलुसमा हिँड्न त्यति सुहाउँदैन भन्ने मलाई थाहा छ । उम्मेदवार सँगसँगै काँधमा काँध मिलाएर उम्मेदवार जताजता हिँड्छन् त्यतै त्यतै दौडिन मिल्दैन भन्नेमा पनि मैले ख्याल राख्नैपर्दछ । राजनीतिक दलहरूले गरेका घरदैलो कार्यक्रममा सहभागी हुँदै जिन्दावाद र मुर्दावादका नारा लगाउन पनि मैले दकस मान्नै पर्दछ । राज्यकोषबाट तलब खाने भएकाले मैले चुनावी ¥यालीहरूमा समय दिन थालेँ भने त्यसको नकारात्मक असर मैले तलब खाए वापत् निर्वाह गर्नुपर्ने भूमिकामा पर्दछ भन्नेमा पनि ध्यान दिनैपर्दछ तर आफ्नो निर्वाचन क्षेत्रको समस्यामा बढी संवेदनशील पात्रका रूपमा तपाईंलाई देख्दा देख्दै पनि विजयका लागि शुभकामना दिन नसकेका कारण तपाईंसँग मैले क्षमा माग्दछु ।

चुनावमा बग्रेल्ती उम्मेदवारहरू सहभागी भएका छन् । कतिपयको नाम सुन्दा नै यस्ता किन उठेका होलान् भन्ने लाग्दछ भने कतिपयको अनुहार देख्ने बित्तिकै यस्ताले चुनाव जिते पो भने जस्तो लाग्दछ । निर्वाचन आयोगले यस्ताको उम्मेदवारी नै खारेज गरिदिए हुन्थ्यो जस्तो अनुभूति हुन्छ ।

प्राध्यापक र शिक्षकहरूको काम कक्षामा पढाउने, अनुसन्धान गर्ने र आफ्नो ज्ञानलाई अभिवृद्धि गर्ने त हुँदै हो । त्यसको अलावा समाज कता जाँदैछ र यदि समाजले सही मार्गको सट्टा गलत बाटो समात्न थाल्यो भने उपयुक्त मार्गदर्शन गर्ने काम पनि शिक्षक प्राध्यापकहरूको हुनैपर्दछ । चुनावका बेला शक्तिका पछि लागेर, धनका पुजारी भएर, भोजभतेरका पक्षमा लागेर मतदाता बहकिएको देखियो भने यो गलत हुँदैछ है भनी सचेत गराउने जिम्मेवारी पनि पढेका भनिएका हामी जस्ताको हो तर यसपटकको चुनावमा मैले त्यो भूमिका जिम्मेवारीका साथ निर्वाह गर्न नसक्ने भएको छु । त्यसैले जित्नै पर्ने तपाईं जस्ता उम्मेदवारका पक्षमा केही बोल्न नसकेका कारण क्षमा मागेको छु ।

चुनावमा बग्रेल्ती उम्मेदवारहरू सहभागी भएका छन् । कतिपयको नाम सुन्दा नै यस्ता किन उठेका होलान् भन्ने लाग्दछ भने कतिपयको अनुहार देख्ने बित्तिकै यस्ताले चुनाव जिते पो भने जस्तो लाग्दछ । विगतका कामहरू हेर्दा निर्वाचन आयोग र सर्वोच्च अदालतहरूले यस्ताको उम्मेदवारी नै खारेज गरिदिए हुन्थ्यो जस्तो अनुभूति हुन्छ भने केही उम्मेदवार चुनावमा हार्नै नहुने देखिन्छ । अनुहारमा कालो पोतिएकाहरू पनि चुनावी मैदानमा छन् भने तीन-चारपटक सांसद र पटक-पटक मन्त्री भएर पनि सेतो दौरामा सानो दाग लाग्न नदिएकाहरू पनि प्रतिस्पर्धामा छन् तर मासिक तलब बुझ्ने गरेकै कारण तपाईंलाई त्यो भ्रष्टाचारीभन्दा फरक खालको उम्मेदवार हो भन्न अहिले मैले नपाउने भएको छु । त्यसैले यसले किन मेरो बारेमा केही भनेन भनेर चित्त नदुखाई दिन तपाईं असल उम्मेदवारसँग माफी माग्दछु ।

अपहरणको दाग लागेका पनि उम्मेदवार भएका छन् । जागिर खाँदा पाएको जिम्मेवारी पूरा गर्नुको सट्टा उल्टो काम गरेकाहरू पनि नेता बन्ने प्रयासमा देखिएका छन् । हत्याको आरोप लागेका पनि चुनावी मैदानमा सांसद बन्ने उद्देश्यका साथ उत्रिएका छन् । भ्रष्टाचारको कुरा त सामान्य नै भइहाल्यो, समयमा ठेक्का पूरा नगरेका ठेकेदारहरू पनि हाम्रो प्रतिनिधि बन्ने मनसाय राखेर भोट माग्दैछन् । यस्ताका प्रतिस्पर्धीहरू स्वच्छ छवि भएकाहरू छन् तर कतै मतदाताको नजर गलत मान्छकातर्फ गएको त छैन भनी सचेत गराउने कर्तव्य मेरो पनि हो भन्ठान्थेँ तर यो पटक मैले त्यसो गर्न मिल्दैन । जित्नै पर्ने तपाईंहरू जस्ता लोकप्रिय र सच्चा नेताका बारेमा मैले केही भन्नै पर्ने थियो तर सकिनँ । त्यसैले विनम्रतापूर्वक माफी मागेको छु, अवश्यै दिनुहोला ।

राजनीतिक दलहरूका आआफ्नै सिद्धान्त र विचार छन् । कुनै सिद्धान्त राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमै विफल भइसकेका छन् । कुनै दलका विचार नेपाल र नेपालीका लागि अत्यन्त उपयोगी छन् भने कुनैका विचारले हाम्रा अधिकारको कटौती गर्दै लैजाने खालका छन् । कुनै दलका आदर्श देखाउनका लागि एउटा र व्यवहारतः अर्कै छ भने कुनै दल धेरै बोल्दैन तर काम भने देश र जनताका लागि खुरुखुरु गरिरहन्छ । यो अवस्थामा पनि यो दल हाम्रा लागि उपयुक्त छ र यो दललाई मत दियौँ भने हाम्रो भविष्य अन्धकारतर्फ धकेलिन्छ भनेर मैले खुलेयाम भन्न सक्नुपर्ने हो तर जागिर खाएका कारण मैले मुखमा पट्टी बाँधेर बसेको छु । त्यसैले देशको नेतृत्व गर्नै पर्ने तपाईं जस्ता गतिला उम्मेदवारसँग शीर झुकाएर माफी माग्दछु ।

नेपालका प्रायः सबै राजनीतिक दलहरूका विधान, घोषणापत्र र विचारपत्रहरूमा समाजवादको आदर्शलाई समाहित गरिएको छ । कतिपय राजनीतिक दलहरूको त नाममै समाजवादी शब्द रहेको छ । नेपालको संविधान २०७२ मा नै समाजवाद उन्मुख मुलुक लेखिएकाले कुनै न कुनै रूपमा सबै दलले आफ्ना घोषणापत्रहरूमा समाजवाद ल्याउने घोषणा गरेका छन् तर समाजवाद ल्याउने दुईवटा बाटामध्ये कुन दलले कुन बाटो समाउँछ भन्नेमा ख्याल गर्न सक्नुपर्दछ ।

एक तले र तीन तले घरसँगै जोडिएका छन् भने एउटा दलले एक तले घरलाई तीन तले बनाएर समाजवाद लागू गर्ने लक्ष्य राख्दछ भने अर्को दलले तीन तले घरका दुई तला भत्काएर समान बनाउने उद्देश्य राखेको हुन्छ । कुन दलको उद्देश्य के हो भन्ने कुरा मैले बताउनै पर्ने थियो तर विसं २०७९ मंसिर चारको चुनावअघि मैले त्यो बताउँन सक्दिन । त्यसैले सही बाटो समातेको दलको असल उम्मेदवार भए तापनि तपाईंको बारेमा म केही भन्न सक्दिन । क्षमा चाहन्छु ।

चामलमा बियाँ र ढुंगा भए जस्तै राम्रो दलबाट अनुचित उम्मेदवार उठाइएको पनि हुनसक्दछ । बियाँलाई त उधिनेर चामल निकाली पकाउन सकिन्छ तर ढुंगो रहेछ भने जति पकाए पनि पाक्दैन, त्यसलाई फाल्नैपर्दछ । यस्ता कुराहरूमा विवेक पु¥याउने जिम्मेवारी स्वयं मतदाताको नै हुन्छ । यदि मैले मौका पाएको भए यी-यी चामल हुन्, यी बियाँ हुन् र यी ढुंगा हुन् भनेर जाने बुझेसम्म बताउने थिएँ । देश र जनताका लागि आवश्यक दल र उम्मेदवारका बारेमा बोल्ने थिएँ तर यसपटकका लागि मैले त्यो अधिकार गुमाएको छु । त्यसैले यो चुनावमा तपाईँले बाजी मार्नै पर्दछ भनेर भन्न सक्ने अवस्थामा म छैन, क्षमाप्रार्थी छु ।

यति चाहिँ अवश्यै भन्छु- विगतमा कोही सांसद् थियो र ऊमाथि कुनै आरोप लागेको थिएन भने मतदाताले विचार पुर्‍याउनै पर्दछ । जागिरे थियो र जागिरे जीवनमा पटक-पटक विवादमा परेको थियो भने भोलि सांसद् भएर पनि विवादित काम गर्ने त होइन भनेर एकपटक सोच्नैपर्दछ । यो उम्मेदवारी थियो र व्यापारका नाममा देश र जनता लुट्नेमात्रै काम गरेको थियो, जनसेवामा माखो मारेको थिएन भने ध्यान दिनैपर्दछ । ठेकेदार थियो र जनतालाई दुःख दिनेमात्र काम गर्‍यो कि समयमै ठेक्का पूरा गरेर देश विकासमा सहयोग पुर्‍यायो भन्नेमा ख्याल गर्नैपर्दछ । यस्ता विषयमा मैले त यसपटक केही नबोल्ने भएँ तर राज्यकोषबाट तलब नबुझ्नेले त बोल्नैपर्दछ ।

चामलमा बियाँ र ढुंगा भए जस्तै राम्रो दलबाट अनुचित उम्मेदवार उठाइएको पनि हुनसक्दछ । बियाँलाई त उधिनेर चामल निकाली पकाउन सकिन्छ तर ढुंगो रहेछ भने जति पकाए पनि पाक्दैन, त्यसलाई फाल्नैपर्दछ । यस्ता कुराहरूमा विवेक पुर्‍याउने जिम्मेवारी स्वयं मतदाताको नै हुन्छ ।

शहीद भएकाले स्वर्गबाट हेरिरहेका हुन्छन् भन्ने हाम्रो मान्यता छ । यदि कोही नास्तिक छ भने पनि जिउँदा शहीदहरूको मन रोएको त सबैले देखेकै छन् । लोकतन्त्र मजबुत बनाउँदै देशको राष्ट्रियताको सबलीकरण र आर्थिक समृद्धि अनि जनताको समुन्नति सबैको चाहना थियो तर यहाँ संविधानको कार्यान्वयन नहुँदै कतै लोकतन्त्र नै गुम्ने त होइन भन्ने खतरा पनि देखियो । यो दलले चुनाव जिते शयौँ शहीदको बलिदानी, हजारौँ घाइतेका रगत र लाखौं आन्दोलनकारीको पसिनाबाट आर्जित लोकतन्त्रको संरक्षण हुन्छ र यो दलले जिते सधैँ लोकतन्त्र शंकाको घेरामा रहन्छ भन्नेतर्फ पनि मतदाताको ध्यान जानैपर्दछ । के गरे लोकतन्त्र गुम्दैनथ्यो भन्ने त मलाई थाहा थियो तर जागिरे भएका कारण यहाँ लेख्न सकिन ।

जनता गरिब रहिरहे आफ्नो दलको उन्नति र आफ्नो प्रगति देख्ने र यसैलाई नै मूल सिद्धान्त बनाएका व्यक्तिहरू पनि उम्मेदवार भएका छन् । जनतालाई समृद्ध बनाउन सके आफ्नो दल र आफ्नो सधैं जयजयकार हुने थियो भन्ने नेताहरू पनि चुनावमा कस्सिएका छन् । यी मध्येमा भेद छुट्याएर लेख्ने मन थियो तर मैले त्यो अवसर गुमाएको छु, कारण मेरो बैंक खातामा मासिक रूपमा सरकारले पैसा पठाउँछ तर लेख्न पाउनेले लेख्दिए हुन्थ्यो जस्तो लाग्दछ । मैले लेख्न नसकेकोमा भने सबै पाठकहरूले माफ गर्नुहोला भन्ने आशा गर्दछु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-10-20 12:36 pm

truth is bitter

रिलेटेड न्युज

छुटाउनुभयो कि ?