निर्माणाधीन अरुण ३ को उच्चस्तरीय अनुगमन

Read Time = 3 mins

काठमाडौं । निर्माणाधीन नौ सय मेगावाटको अरुण ३ जलविद्युत् परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिका सम्बन्धमा उच्चस्तरीय अनुगमन भएको छ । परियोजनाको बाँधस्थल, विद्युत्गृह, प्रसारण लाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको लगानी बोर्डले जनाएको छ ।

अन्तरक्रियामा अरुण ३ जलविद्युत् परियोजना र प्रसारण लाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयमा छलफल भएको थियो । सो अवसररमा मुख्यसचिव शंकरदास बैरागीले परियोजना कार्यान्वयनका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषयहरू समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो । उहाँले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजना तोकिएको समयमै कार्यान्वयन गर्नसमेत निर्देशन दिएको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले अरुण ३ जलविद्युत् परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेकाले बिनाअवरोध प्रभावकारीरूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने भएकाले छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आहृवानसमेत गर्नुभयो । भ्रमणमा मुख्यसचिव बैरागीका साथै सचिवहरू, परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?