संसद्‌मा निरन्तर अवरोध

प्रतिनिधिसभा एक सातालाई स्थगित, सत्ता र प्रतिपक्षी आरोप-प्रत्यारोपमा

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राखेको छ । एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका हुन् । सुन तस्करीका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू सिटबाट उठेर नारावाजी सुरु गरेका थिए ।

त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइराख्न समय दिनुभएको थियो । शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराउनुका साथै आफूलाई पक्राउ पुर्जीसमेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गर्नुभएको थियो । एमालेका सांसद मानवीर राईले सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानविन समिति नबनाएको भन्दै सरकारको विरोध गर्नुभयो । एमाले सांसदहरूले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको भए पनि अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धानमा आफूहरूलाई विश्वास नभएको भन्दै एमालेले सुन तस्करी छानविनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । एमालेको अवरोधले साउन १० गतेपछि संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । संसद् अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक-पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।

गृहमन्त्रीको राजीनामा माग
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिँदै भन्नुभयो, ‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारीजस्तो बनाएर पक्राउ गर्नुभयो । उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ । सभामुखमार्फत म दोहोर्‍याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने म आमरण अनशन बस्छु । आफूलाई पक्राउ गरेको विषयमा प्रधानमन्त्रीले पनि माफी माग्नुपर्छ ।’ सांसद शर्माले यसअघि पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभएको थियो । सांसद शर्मालाई शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा सिआइबीले पक्राउ गरी अदालतको आदेशपछि रिहा गरेको थियो ।

सांसद शर्माको अभिव्यक्तिप्रति माओवादीको आपत्ति
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसद् बैठकमा बोलेको शब्दप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सोमबार बसेको संसद् बैठकमा बोल्दै सांसद शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिनुभएको थियो । उक्त शब्दप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाउँदै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो । प्रमुख सचेतक पाण्डेले शर्मालाई कारबाही गर्न पनि माग गर्नुभयो ।

सदन हाइज्याक भयो : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको टिप्पणी गर्दै लामिछानेले भन्नुभयो, ‘संसद् हाइज्याक भयो । हामी घोर भत्र्सना गर्न चाहन्छौँ । यसरी मिलीजुली संसद्लाई बन्दी बनाएजसरी बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि अनि जबरजस्त अब बन्द गर । सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरियो । संसद् हाइज्याक गर्न पाइँदैन ।’ एमालेले संसद्मा नाराबाजी गरेपछि लामिछानेले आक्रोश व्यक्त गर्नुभएको हो ।

एमालेले संसद्माथि खेलवाड गर्‍यो ः यादव
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमाथि खेलवाड गरेको टिप्पणी गर्नुभएको छ । यतिखेर संसद् अवरोध गर्नु जायज नभएको तर्क गर्दै यादवले भन्नुभयो, ‘संसद्लाई खेलवाडका रूपमा प्रमुख प्रतिपक्षले हेरेको छ । संसद् जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहसको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद् चलाउनुको साटो संसद् अवरुद्ध गर्नु जायज कुरा होइन । प्रमुख प्रतिपक्षले नाटक रचेको छ ।’

सरकारको कारण संसद् चल्न सकेन : एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको अनुचित अडानका कारण संसद् बैठक चल्न नसकेको आरोप लगाएको छ । एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसद्मा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको आरोप लगाउँदै भन्नुभयो, ‘हामी यो संसद् चलाउन चाहन्छौँ । तर, सरकार यो संसद् अवरोध गर्न चाहन्छ । संसद्को भूमिकालाई निस्तेज पार्न चाहन्छ । संसद्लाई प्यारालाइज्ड गर्न चाहन्छ । त्यसकारण प्रतिपक्षले संसद्मा उठाएको मागलाई नजरअन्दाज गर्ने, अन्देखा गर्ने, माग पूरा गर्दिनँ भनेर अनुचित अडान एक प्रकारले भन्ने हो भने सरकार चाहिँ जबरजस्तीमा उभिएको अवस्था छ ।’

सिनामंगलबाट बरामद सुनको परिमाण करिब ६१ केजी
चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक सु’ बाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन साउन २ गते सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १६० वटा ‘ब्रेक सु’ बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ । सिआइबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक सुबाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आउनुभएको थियो । तर, उहाँको दाबीविपरीत सुनको तौल झण्डै आधा भएको पाइएको छ । सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित तीन कर्मचारी, तीन विदेशी नागरिक र चारजना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एकजनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीबाहक अर्का एकजनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानविनको जिम्मा सिआइबीलाई लगाएको थियो । सिआइबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

सात महिनामा १२औँ पटक मन्त्रिपरिषद् हेरफेर
गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनामा १२औँ पटक मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । जनमत पार्टीकी सांसद अनितादेवी साहले मन्त्री पदको शपथग्रहण गर्नुभएको छ । साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा साहलाई शपथग्रहण गराउनुभएको हो । मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै करिब चार महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टी पुनः सरकारमा सहभागी भएको हो । पार्टीले समानुपातिक सांसद अनितादेवी साहलाई संघीय मामिलामन्त्री बनाएको छ । आइतबार प्रचण्डले आफ्नो दलबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउनुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा एमाले, रास्वपा, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई साथ लिएर प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । पुस ११ गते तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल विस्तार भयो । माघ ३ गते चार उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाउनुभयो । माघ १३ मा रास्वपा सभापति रवि लामिछाने पदमुक्त भएसँगै रास्वपा माघ २२ गते सरकारबाट बाहिरियो । फागुन १३ गते राप्रपा र १५ गते एमाले सरकारबाट बाहिरिएपछि कांग्रेससहितको नयाँ गठनन्धनबाट चैत १७ पुनः मन्त्रिपरिषद् विस्तार भयो । कांग्रेसका कारण ३ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका प्रधानमन्त्री प्रचण्डले जेठ ९ गते जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र प्रमिलाकुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभयो । साउन २८ गते जनमत पार्टीकी अनितादेवी साह मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म १२ पटक मन्त्रिपरिषद् हेरफेर गरिसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?