कर्णालीमा माओवादीलाई विरासत गुम्ने डर

हिमालय टाइम्स
Read Time = 8 mins

मानबहादुर वली/हिटा
सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको थियो । नेकपा एमालेसँगको गठबन्धन गरेर जाँदा प्रतिनिधिसभाका १२ सिटमध्ये आधा–आधा बाँडेका थिए भने प्रदेशसभाका २४ सिटमध्ये एमालेले १३ र माओवादी केन्द्रले ११ सिट बाँडेका थिए । तर, आगामी निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनमार्फत नेकपा माओवादी केन्द्रले अघिल्ला निर्वाचनको तुलनामा कम उम्मेदवारी दिएको छ । जसले गर्दा आगामी निर्वाचनमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको विरासत गुम्ने डर माओवादी पार्टीभित्र देखिएको छ ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरी दोस्रो दल बनेको नेकपा माओवादीलाई अहिलेको निर्वाचनमा भने कर्णालीमा आफ्नो शाख जोगाउन चुनौती थपिएको छ । जनमतसहित निर्वाचित सांसदले पार्टी परित्याग गर्नु, माओवादीको बलियो शक्ति केन्द्रमा माओवादीकै बागी उम्मेदवार हुनु, गठबन्धन दलबाटै बागी उम्मेदवार पर्नु जस्ता कारणले कर्णाली प्रदेशमा माओवादीलाई ०७४ को निर्वाचनको शाख जोगाउन मुस्किल देखिएको छ ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक समानुपातिकसहित ६ सिट र प्रदेशसभातर्फ चार समानुपातिकसहित १३ सिट माओवादीले जितेको थियो । आगामी निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको छ ।

माओवादीबाट प्रतिनिधिसभातर्फ हुम्लाबाट छिरिङ डम्डोल लामा (कार्चेन), कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा गौतम कुँवर, जाजरकोटमा शक्तिबहादुर बस्नेत र रुकुुम पश्चिममा जनार्दन शर्मा चुनावी मैदानमा हुनुहुन्छ । त्यसैगरी, प्रदेशसभातर्फ भने पश्चिम रुकुममा (क) मा महेन्द्र केसी र (ख) मा राजकुुमार शर्मा, सुर्खेत-१, (ख) मा कृष्णबहादुर जिसी र सुर्खेत २ को (ख) मा बिन्दमान विष्ट, दैलेख-२, (ख) मा योगेन्द्र शाही, कालिकोटको (क) मा दुर्गबहादुर रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (क) मा भीमप्रकाश शर्मा र मुगुमा (ख) मा मंगल शाही चुनाावी मैदानमा हुनुहुन्छ ।

कर्णाली प्रदेशका २४ सिट र प्रतिनिधिसभाका १२ सिटमध्ये गठबन्धनमा भागबण्डामा परेका क्षेत्रमा जित सुनिश्चित भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीको दाबी छ । ‘भागबण्डामा ०७४ सालको निर्वाचनको परिणामलाई आधार बनाउँदा हामीले संघमा पाँच सिट पाएका छौँ,’ अध्यक्ष केसीले भन्नुभयो, ‘हाम्रो भागमा परेका पाँचवटै निर्वाचन क्षेत्रबाट जित सुनिश्चित छ ।’ तर, कर्णालीका कतिपय प्रभावशाली नेताकै विरुद्ध पार्टीभित्र र गठबन्धनबाट विद्रोही उम्मेदवारी परेको छ । कर्णाली प्रदेशका पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार रहेको कालिकोटमा पार्टीका प्रदेश कमिटी सदस्य काशीचन्द्र बराल विद्रोही हुनुहुन्छ  । रास्कोट नगरपालिकाका निवर्तमान प्रमुख बरालले २०५४ मा एमालेबाट तत्कालीन फुकोट गाविसको अध्यक्ष जित्नुभएको थियो । अध्यक्षको कार्यकाल सकिएपछि केही समय पत्रकारिता गरेर उहाँ भूमिगत हुनुभएको थियो । रास्कोट क्षेत्रमा राम्रो प्रभाव जमाउनुभएका बरालको उम्मेदवारीले शाहीका लागि चुनौती थपेको छ । यस्तै, जुम्लामा माओवादीकी आधिकारिक उम्मेदवार गोमा कुँवरविरुद्ध माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समिति सदस्य कलबहादुर रोकायाले उम्मेदवारी दिनुभएको थियो । उम्मेदवारी फिर्ताको समय घर्केपछि रोकायाले कुँवरलाई समर्थन गर्नुभयो ।

यस्तै, रुकुम पश्चिमबाट अर्थमन्त्रीसमेत रहनुभएका उपमहासचिव जनार्दन शर्माविरुद्ध कांग्रेस युवा नेता तारक केसी बागी उम्मेदवार बन्नुभएको छ । उक्त क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई टिकट दिएको भए पनि पछि फिर्ता लिन लगाएको थियो ।

कर्णाली प्रदेशसभामा समेत गठबन्धन दलभित्रैबाट माओवादीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । सुर्खेत क्षेत्र नं. २ (ख) का उम्मेदवार विन्दमान विष्टका विरुद्ध गठबन्धन दल समाजवादीका मोहनसिंह बडुवालले उम्मेदवारी दिनुभएको छ । एमालेबाट समाजवादी रोज्नुभएका बुडवाल ०७४ सालको निर्वाचनमा विन्दमान विष्टका लागि चुनावी अभियानमा सहभागी हुनुभएको थियो । सुर्खेत क्षेत्र नं. १ (क) का उम्मेदवार कृष्ण जिसीका विरुद्ध नेपाली कांग्रेसका देवबहादुर चन्दले विद्रोही उम्मेदवारी दिनुभएको थियो । उहाँले पछि प्रेस विज्ञप्तिमार्फत माओवादीका जिसीलाई समर्थन गरेको घोषणा गर्नुभयो । यस्तै, सल्यान क्षेत्र नं.१ मा माओवादीका भीमप्रसाद शर्माका विरुद्ध तुले सुनारले बागी उम्मेदवारी दिनुभएको छ । मुगुको प्रदेशसभा (ख) का उम्मेदवार मंगल शाहीका विरुद्ध जगत धामीले समेत उम्मेदवारी दिनुभएको थियो ।

२०७४ सालको निर्वाचनमा आठ लाख ४६ हजार ९४१ मतदाता रहेकोमा करिब ६१ हजार मतदाता बढेर नौ लाख आठ हजार ४३३ पुगेको छ । आगामी निर्वाचनमा नयाँ थपिएका मतदाताको निर्णायक मतले समेत वाम लोकतान्त्रिक गठबन्धनको प्रमुख साझेदार माओवादीको जित हारलाई सुनिश्चित गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?