गत निर्वाचनका सारथि यसपालिका प्रतिस्पर्धी

दर्जन बढी निर्वाचन क्षेत्रमा एमाले र पूर्व-एमालेबीच रोचक प्रतिस्पर्धा

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं । भनिन्छ, ‘राजनीतिमा कोही पनि स्थायी शत्रु हुँदैन ।’ स्थायी शत्रु नभएझैँ मित्र पनि स्थायी हुने कुरा भएन । राजनीतिमा समय र परिस्थितिअनुसार शत्रु र मित्र फेरिरहन्छन् । अझै चुनावका बेला हुने दलबदलका कारण को कहाँ पुग्छ अत्तोपत्तो हुँदैन । गाउँदेखि सहरसम्म चुनावी माहोलले तताएको छ । उम्मेदवारहरू आ-आफ्नो एजेण्डा बोकेर मतदाता रिझाउन पुगिरहेका छन् । उम्मेदवारसँगै समर्थक र नेता कार्यकर्ताको ताँती मतदाताको घरघर पुगिरहेको छ । तिहारको झिलिमिलीसँगै चुनावी माहोल पनि रोचक छ ।

२०७४ सालको चुनावमा वाम गठबन्धनका नाममा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । गठबन्धनको राजनीति यसपालि झनै मौलाएको छ । तर, धार भने फेरिएका छन् । कित्ता परिवर्तन भएका छन् । यसपालि माओवादी र एमाले विपरीत धारमा छन् । कांग्रेस, माओवादी र नवगठित नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । यसमा राष्ट्रिय जनमोर्चाले पनि केही क्षेत्रमा साथ दिएको छ । उसो त एमाले पनि एकल रूपमा चुनावी मैदानमा गएको छैन । यसले पनि सक्ने जतिसँग तालमेल गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालदेखि उपेन्द्र यादव नेतृत्वको जसपासम्म एमाले तालमेलमा छ ।

यति मात्रै होइन गत चुनावमा एउटै पार्टीमा रहेकाहरू समेत यसपालि फरक-फरक कित्तामा उभिएका छन् । कतिसम्म भने गत चुनावमा एक–अर्कालाई जिताउन सारथि बनेकाहरू यसपालि प्रतिस्पर्धा गरिरहेका छन् । दलबदल गरेका एक-दुई जनाबाहेक अधिकांश गत चुनावका सारथि अहिले प्रतिस्पर्धी बन्नेमा एमालेका नेताहरू बढी छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुईपटक संसद् विघटन गरेपछि दुई कित्तामा बाँडिएका एमालेजनहरू अन्ततः विभाजित भए । अहिले उनीहरू नै प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका दर्जन बढी निर्वाचन क्षेत्रमा एमाले र पूर्व एमालेबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

यस्ता छन्- गत निर्वाचनका सारथि, अहिलेका प्रतिस्पर्धी
एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल यसपालि पनि चुनावी मैदानमा हुनुहुन्छ । तर, प्रतिस्पर्धी भने फेरिएका छन् । विगतमा खनाललाई जिताउन होमिएका नै पूर्व-सारथि अहिले प्रतिस्पर्धी हुनुहुन्छ । अहिले समाजवादीका सम्मानित नेता रहनुभएका खनालले एमालेका महेश बस्नेतसँग कडा प्रतिस्पर्धा गर्दै हुनुुहुन्छ । पूर्व-सारथिसँगै प्रतिस्पर्धा गर्ने खनाल एक्लो भने होइन । नेकपा एसका दर्जन बढी नेताले पूर्व- सारथिसँग प्रतिस्पर्धा गर्दै छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट-१ बाट उम्मेदवार हुनुहुन्छ । रौतहट-१ मा एमालेले गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्तालाई उम्मेदवार बनाएको छ । गुप्ता लोसपा छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गर्नुभएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गुप्ता एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहसँग मेयरमा पराजित हुनुभएको थियो ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा र एमालेका अम्बरबहादुर रायमाझीबीच उदयपुर–२ मा प्रतिस्पर्धा हुँदै छ । उहाँहरू गत चुनावमा एउटै मोर्चामा हुनुहुन्थ्यो । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका सहयात्री पनि पूर्व-सारथि हुनुहुन्छ । धादिङ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका पाण्डेले एमालेका भूमिप्रसाद त्रिपाठीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । एमाले धादिङका अध्यक्षसमेत रहनुभएका त्रिपाठी गत चुनावमा पाण्डेलाई जिताउन लाग्नुभएको थियो ।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीका सहयात्री पनि चिरपरिचित एमाले नेता हुनुहुन्छ । एमाले सचिव गोकर्ण विष्टसँग झाँक्रीले यसपालि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । गत निर्वाचनमा झाँक्रीले नै विष्टलार्ई जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । २०७४ मा झाँक्री समानुपातिकतर्फ सांसद बन्नुभएको थियो भने विष्ट यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यस्तै, नेकपा एसका सोमप्रसाद पाण्डेले पनि यसपालि एमालेका युवा नेतासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेसँग उहाँको प्रतिस्पर्धा रहेको छ । गत चुनावमा उहाँहरू एउटै मोर्चामा हुनुहुन्थ्यो ।

एकीकृत समाजवादी नेता मेटमणि चौधरीका सहयात्री पनि पूर्व-सारथि नै हुनुहुन्छ । सहरी विकासमन्त्रीसमेत रहनुभएका चौधरीले एमालेकै शान्ता चौधरी दाङ-१ मा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७४ को निर्वाचनमा शान्ता मेटमणिलाई जिताउने अभियानमा खटिनुभएको थियो । काठमाडौं-८ मा पनि एमाले र पूर्व एमालेबीच प्रतिस्पर्धा रहेको छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ र एमालेका शिव राजवैद्यबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठले गत निर्वाचनमा पनि काठमाडौं-८ बाट चुनाव जित्नुभएको थियो । यसपालि चुनाव जित्न पूर्व–सहकर्मीलाई नै हराउनुपर्ने भएको छ । नेकपा एसका नेता प्रेम आलेका प्रतिस्पर्धी पनि पूर्व-सहकर्मी नै हुनुहुन्छ । डोटीको एक मात्रै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका आलेले एमालेकी गौरी वलीसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

त्यस्तै, बझाङमा एकीकृत समाजवादीका स्थायी समिति सदस्य भानुभक्त जोशी र एमालेका युवा नेता ऐन महरबीच प्रतिस्पर्धा हुँदैछ । कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेका विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदै छ ।

त्यसैगरी, अछाम–१ मा पनि एकीकृत समाजवादी र एमाले नै चुनावी मैदानमा छन् । तर, उनीहरू पूर्व-सारथि भने होइनन् । एकीकृत समाजवादीका शेरबहादुर कुँवर र एमालेका झपट बोहरा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । बोहरा गत निर्वाचनमा माओवादीबाट निर्वाचित हुनुभएको थियो । दैलेख-१ मा पनि एकीकृत समाजवादी र एमालेबीच नै प्रतिस्पर्धा हुँदै छ । एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मा यसपालि चुनावी मैदानमा उत्रिनुभएको हो ।

डोल्पामा पनि वर्तमान एमाले र पूर्व-एमालेबीच चुनावी प्रतिस्पर्धा छ । एकीकृत समाजवादीका नेता धनबहादुर बुढा पूर्व-सारथि एमालेका गणेशबहादुर शाहीसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रतिनिधिसभामा मात्रै होइन प्रदेशसभाका कतिपय क्षेत्रमा समेत पूर्व-सारथिहरू चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा एक-अर्कालाई जिताउन खटिएकाहरू यसपालि एकले अर्कोलाई हराउन लागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनमा रहेको एकीकृत समाजवादीले प्रतिनिधिसभाको १६५ सिटमा पाएको २० सिटमध्ये १९ ठाउँमा एमालेसँगै प्रतिस्पर्धा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?