ऋग्वेदमा वायु तथा सूर्यको स्थान

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 18 mins

यसभन्दा पहिले मैले ऋग्वेदको पहिलो मन्त्रलाई विभिन्न ब्राहृमण र आरण्यक अनि उपनिषत्का आधारमा अग्निको महत्वमाथि प्रकाश पार्ने प्रयत्न गरेको थिएँ । आज म यजुर्वेदको पहिलो मन्त्रलाई अहिलेभन्दा पहिले विभिन्न भाष्यमा गरेभन्दा भिन्न अर्थमा शतपथ ब्राहृमणका आधारलाई टेकेर वायुविज्ञान र सूर्यविज्ञानका सम्बन्धमा केही छलफल गर्न चाहँदै छु–

इषे त्वोर्जे त्वा वायवः स्थ देवो वः सविता ।
प्रार्पयतु श्रेष्ठतमाय कर्मण आप्याययध्वम् ।।

यो यजुर्वेदको पहिलो मन्त्र हो । सायण आदिले यसको अर्थ गर्दै यज्ञका कर्तव्यसम्बन्धी कुरामा नै सीमित राखेको भेटेँ । मैले खोज्दै जाँदा शतपथ ब्राहृमणमा यसै मन्त्रको भिन्न अर्थ लाएको देखेँ र केही अन्य भाष्यलाई पनि हेर्दा यो वायुविज्ञानसँग सम्बद्ध मन्त्र हो भन्ने निष्कर्षमा पुगेँ र यसलाई मैले तलका अनुसार व्यख्या प्रस्तुत गरेको छु । इष भनेको अन्न हो । अर्क भनेको बल हो । वर्षाका माध्यमबाट वायु अन्नको कारण हुन्छ । पृथ्वीमा रहने सारा प्राणीलाई वायुले नै बल प्रदान गर्दछन् । वायुबेगर एकक्षण पनि जीव जीवित रहन सक्दैनन् ।

यता वायुमा जुन कार्य (क्रिया) हुन्छ त्यसको कारण सूर्य हो । सूर्यका किरणबाट प्रेरित भएका वायुमा गति आउँछ । यस कुरालाई दिवो वः सविता प्रार्पयतु (हे वायु सूर्यदेवले तिमीलाई गतिशील गराऊन्) भन्ने पदबाट स्पष्ट गरेको देखिन्छ । वेदको भाषा सङ्केतमय र बिम्बात्मक पनि रहेको देखिन्छ । जसरी कविताका बिम्बलाई व्यापक सन्दर्भसँग जोडेर अर्थबोध गरेपछि मात्रै कविता बुझिन्छ र राम्रो या नराम्रो लाग्न थाल्छ । वेदका ऋचा पनि त्यस्तै हुन्छन् । मैले विज्ञान जानेको छैन । वेद विज्ञानमय रहेको हुनाले नै हामी बुझ्दारहेनछौँ । यस मन्त्रको व्याख्यामा शतपथब्राहृमण लेख्छ–(सविता वै देवानां प्रसविता,) सूर्य नै सबै देवतालाई प्रेरणा दिन्छन् ।

र, ऐत्तरेयब्राहृमणमा त झनै स्पष्ट गरी भनिएको भेटिन्छ सवितृ प्रसूतोहृयेष एतत्यवते अर्थात् सूर्यद्वारा परिचालित यो वायु सलल बगेर सारा जगत्लाई नै पवित्र गरिरहेको छ । श्रेष्ठतमाय कर्मणे का व्याख्यामा शतपथ भन्छ यज्ञो वै श्रेष्ठतमं कर्म अर्थात् यज्ञका लागि वायु परिपुष्ट बनेर चल्नुपर्दछ । पहिले अग्नि र सूर्य अनि वायवाग्निबाट सम्पन्न हुने यज्ञका निमित्त वायु परिपुष्ट (बलियो) बनेर चल्नुपर्दछ । वेदमा यज्ञ भनेको कर्म, कर्तव्य, प्रक्रिया र पद्धतिका या विधिका अर्थमा पनि आएको देखिन्छ । आज हामीले बुझ्ने गरेको यज्ञ मात्रै वेदका यज्ञको अर्थ होइन । जगत्लाई आप्यायन गर्ने वायुको नै काम हो । यसरी वायु, वृष्टि, बल, आप्यायन (पोषण) को मूल कारक र कर्ता पनि हो । यसलाई सूर्यका किरणबाट गति आउँछ ।

यसै वायुबाट जगत्मा आदानप्रदानरूप यज्ञ सम्पन्न हुन्छ । यो वायुसम्बन्धी मन्त्रमा धेरै विज्ञानका संकेत रहेका होलान् जसलाई हामीले खोज्ने, बुझ्ने प्रयत्नका बदला घोक्ने र पूजा गर्नेमात्र कुरो सिक्यौँ । वेद सूर्यका काम कुराले भरिएको रहेछ । वेदले सूर्यलाई नै चराचर जगततोत्पादक मान्दै भन्छ–(नूनं जनाः सुर्येण प्रसूतः), यही सूर्यलाई नै प्राणः प्रजानाम् पनि भन्छ र सूर्यलाई नै इन्द्र शब्दबाट पनि सूर्यको स्तुति भएका मन्त्र भेटिन्छनत्–

इन्द्राय गिरोअनिशितसर्गा अपः प्रेरणं सगरस्य बुध्न्यात् ।

यसमा इन्द्र शब्द सूर्यबोधक बनाएर प्रयोग भएको देखिन्छ । यो शब्द अन्तरिक्षको देवता, विद्युत्का लागि द्युलोकको देवता सूर्यका लागि पनि प्रयोग भएको देखिन्छ । वेदमा १४ प्रकारका अर्थमा इन्द्र शब्दको प्रयोग भएको देखिन्छ जस्तै -

इन्द्राहि वाक्प्रणधियोबलंगति–
र्विद्युत्प्रकाशेश्वरता पराक्रमाः
शुक्लादिवर्णा रविचन्द्रपूरूषा–
वुत्साह आत्मेति मताश्चतुर्दश ।।

अर्थात् इन्द्र शब्द नै वाक्, प्राण, धिय, बल, गति, विद्युत्, प्रकाश, ऐश्वर्य, पराक्रम, शुक्लादि रङ (रूप) का लागि र रवि, चन्द्र पुरुष, उत्साह, आत्मा, समेत चौध प्रकारका अर्थमा प्रयोग गरेको भेटिन्छ । यसरी इन्द्रका सम्बन्धमा वेद निकै गम्भीर बनेको भेटिन्छ । सहस्वान्, मरुत्वान् जस्ता नामका साथै इन्द्रलाई अन्तरिक्षस्थ वायु या विद्युत्स्वरूप पनि मानिएको छ । सूर्य मण्डललाई द्युलोक पनि भनिन्छ र त्यसमा प्रतिष्ठित प्राणशक्तिलाई इन्द्र भनिन्छ । वेदमा (यथाग्निगर्भा पृथ्वी तथा द्यौरिन्द्रेण अस्तु गर्भिणी) भनिएको छ । जस्तो कि पृथ्वीका गर्भमा अग्नि छ त्यस्तै द्युलोक (सूर्यमण्डल) का गर्भमा इन्द्र छन् ।

यसरी इन्द्रपदले सूर्यलाई देखाएको भेटिन्छ । अब इन्द्राय गिरो । यो महान् स्तुतिरूप वाणी इन्द्रका लागि प्रयोग गरिएको हो । इन्द्र अन्तरिक्षका मध्यभागमा बसेर जललाई प्रेरित गर्दछन् । आफ्ना शक्तिले पृथ्वीलोक र द्युलोक दुवैलाई थेगेका पनि छन् । जसरी अक्षले रथका चक्रलाई अड्याएर राख्छ । यसभन्दा अधिक पारस्परिक आकर्षणको उल्लेख के हुन सक्छ ? हो, गुरुत्वाकर्षण पत्ता लगाउनेले रिसर्च नै गरेछन् । सर्च त वेदले पहिले गरेको रहेछ नि । यहाँको इन्द्र शब्दमा इन्द्र शब्दले सूर्यलाई भनेको हो कि वायुलाई भन्ने शंका हुन्छ भने पनि तलको मन्त्र हेरौँ त्यसले के भन्दोरहेछ -

स सूर्य पर्युरू वरांसीन्द्रो ववृत्याद्रथ्येव चक्रा ।
अतिष्ठन्तमपश्यं न सर्गं कृष्णा तमांसि त्विष्या जघान । (ऋक, १०।८९।२) ।

त्यो सूर्य रूप इन्द्रले धेरै उत्कृष्ट तेजलाई यसरी घुमाउँछ कि जसरी सारथीले रथका चक्रलाई घुमाउँछ भन्ने अर्थ माधवाचार्यले गरेका छन् तर वरांसिको अर्थ सत्यव्रत सामश्रमीले गरे झैं गर्दा चाहिँ यसको अर्थ सूर्यरूप इन्द्र सबै महान् मण्डललाई सारथीले रथको चक्र घुमाए झैँ घुमाएको हुन्छ र त पारस्परिक आकर्षण सिद्धान्त स्पष्टन्छ । यसरी नै सूर्य सबैका मध्यभागमा रहेर सबैलाई आफ्ना तेज (गुरुत्वाकर्षण) ले तान्दछन् भनिएको छ– ‘वैश्वानर नाभिरसिक्षितिनां विश्वस्य नाभिं चरतो ध्रुवस्य’ (ऋक्,१०,५,३) ।
विश्वको नाभि भनेको द्युलोकीय मध्यभागमा रहेर सूर्यले किरणरूपका हातले यो विश्वलाई थेगेको छ भन्नु र पृथ्वीभन्दा सूर्य ठूलो ग्रह भएको हुनाले त्यसका गुरुत्वाकर्षणले यसलाई अड्याएको छ भन्नु एकै होइन भन्ने तागत् आउला र ? यसैगरी ‘दिवो धर्ता भुवनस्य प्रजापति’ (ऋक्, ४, ५३, २) । र ‘यत्रेमा विश्वा भुवनानि तस्थु’ (ऐ, १, १६४, २) । जस्ता अनेकौं मन्त्रमा सूर्य नाभिस्थानमा रहेर विश्वलाई थेग्छन् भन्ने अर्थ निकाल्न सकिन्छ । शब्दकै कुरो गर्दा चाहिँ धारण गरेको थेगेको झुण्ड्याएको जस्ता शब्द आउँदारहेछन् । यसै सन्दर्भमा अर्को पनि ऋग्वेदीय मन्त्रलाई अघिसार्न सकिन्छ-

तिस्रो मातृस्त्रीन् पितृन् विभ्रदेकऊध्र्वस्तस्थौ नेममवग्लापयन्ति ।
मन्त्रयन्ते दिवो अमुष्य पृष्ठे विश्वविदं वाचमयिश्वमिन्वाम् (ऋक्, १६४। १०) ।

यहाँ मातृशब्द पृथ्वीका लागि र पितृ शब्द द्युलोकका लागि आएको देखिन्छ । ऋग्वेदमा यसको प्रचलन ज्यादा देखिन्छ । यस मन्त्रले एउटै सूर्यले तीनवटा पृथ्वी र तीनवटा द्युलोकलाई धारण गरेर माथि बसेका छन् भनेको छ । सूर्यलाई कसैले पनि दबाउन सक्दैनन् । त्यो द्युलोकका पिठ्युँमा सबै संसारलाई जान्ने देवताहरू सबैतिर नबुझिने वाक् बोल्छन् । यस्तै अर्को पनि श्लोक हेरौँ–

तिस्रो भूमिर्धारयन् त्रींरूत द्यून् त्रीणि व्रता विदथे अन्तरेषाम् ।
ऋतेनादित्या महि वो महित्वं तदर्यमन् वरुण मित्र चारू ।। (ऋक्, १, २७, ८) ।

आदित्यले तीनभूमि, तीन द्युलोक, धारण गरेका छन् । आदित्यका अन्तज्र्ञानमा या यज्ञमा तीन प्रकारका व्रत अर्थात् कर्म मानिएका हुन्छन् । अर्यमा, वरण र मित्र नामक हे आदित्य देवताहरू हो ¤ तिमीहरूको ऋतुसँग राम्रो सम्बन्ध होस् । यसै प्रकारले अनेकौं मन्त्रमा तीन भूमि, तीन द्युलोकलाई सूर्यले धारण गरेका छन् भनेर ऋचामा स्तवन गरिएको भेटिन्छ । वेद अध्येताका बीचमा कतै मतैक्य भेटिँदैन । सत्यव्रतसामश्रयी नामका विद्वान्ले यी छवटै ग्रह सूर्याकर्षणमा स्थित रहेका हुन्छन् भन्ने बताउँदै पृथ्वी र सूर्यका माझमा रहनेवाला चन्द्रमा, बुध र शुक्रलाई तीनभूमिका नामले सम्बोधन गरिएको हो त्यस्तै सूर्यभन्दा माथिका मंगल, बृहस्पति र शनिलाई द्युका नामबाट वेदले सम्बोधन गरेको हो भनेर बताएको देखिन्छ ।

यस भनाइबाट यिनलाई धारण गर्ने या गुरुत्वाकर्षणमा राख्ने सूर्य हुन् भन्ने कुरो सिद्ध भएको मान्न सकिन्छ । अझै गम्भीर किसिमले विचार गर्दा भूमिका नामबाट सम्बोध्य ग्रह धेरै हुनसक्छन् । यो तीन तीनको व्यवच्छेद ठीक होइन कि भनेर अर्को अभिप्राय बताउने विद्वान्का मतलाई पनि हेर्नु उपयुक्त होला–

छान्दोग्योपनिषत्मा बताइएको तेज, अप र अन्न अन्नका त्रिवृत्करण (तीनवटा वृत्तको समूह) मानिन्छन् र प्रत्येक मण्डलमा यिनै त्रिवृत्करणको स्थिति रहेको हुन्छ । यसैगरी प्रत्येक मण्डलमा पृथ्वी, चन्द्र र सूर्य यी त्रिलोकी रहेकै हुन्छन् । यस त्रिलोकको पनि प्रत्येकमा तेज, अप र अन्न तीनैवटाका भागमा पर्छ नै । त्यसमध्यमा पनि अन्नको भाग पृथ्वी, अपको भाग अन्तरिक्ष र तेजको भाग द्यु भनिन्छ । यिनलाई तीनै मण्डलमा मिलाउँदा तीन भूमि र तीन द्युलोक हुन्छन् । यी तिनै भूत तथा रवि हुन् भने यिनलाई धारण गर्ने चाहिँ प्राणरूप आदित्य देवता हुन् जसलाई ‘तथा द्यौ रिन्द्रेण गर्भिणी’ मा बताएको देखिन्छ ।

अर्को दृष्टिबाट छान्दोग्योपनिषत्मा सत्बाट जुन तेज, अन्न र अपको आविर्भाव हुन्छ तिनमा प्रत्येकका फेरि तीनतीन प्रकारका हुन्छन् । तेजका पनि तीन भेद हुन्छन् तेज, अप, अन्न । अपका पनि तीन भेद मानिन्छन् तेज, अप र अन्न । अन्नका पनि तीन भेद हुन्छन् तेज, अप र अन्न । यिनीहरूमा पनि प्रथमावस्थाको अन्नावस्था, द्वितीय वर्गको तेजावस्था मिलेर एक रूप बन्छ । तेजवर्गको अन्न र अपवर्गको अन्न एकै हुन्छ । यसैगरी अपवर्गको अन्न र अन्नका वर्गको तेज एकै मानिन्छ र नौबाट दुई घटेपछि बाँकी सात नै सात व्याहृति या सातलोक प्रसिद्ध नै छन् –

भूः, भुवः, स्वः, महः, जनः, तपः, सत्यम् । यहाँको भूः भनेको पृथ्वी हो । भुवः भनेको जल हो या जलप्रधान अन्तरिक्ष हो । स्वः तेज या तेजप्रधान द्युलोक हो भने महः वायु या केबल वायुप्रधान लोक भनेर पनि बुझ्न सकिन्छ । जनः भन्नाले आकाश या वायुमण्डलबहिर्भूत शुद्ध आकाशलोक पनि हो । तपः भनेको क्रिया वा सकल क्रियाको मूल कारणभूत प्राण प्रजापतिको लोक हो । सत्यम् सत्को पहिलो व्याकृत् अवस्था मन या मनोमय परमेष्ठीलोक । यति व्यवच्छिन्न गरिसकेपछि भने भूः भुवः स्वः यी तीनैवटा पृथ्वी कहलिन्छन् । स्वः, महः र जनः यी तीनवटा अन्तरिक्ष कहलिन्छन् ।

जनः, तपः र सत्यम् यी तीनवटा चाहिँ द्यु हुन् र यिनलाई उपर्युद्धृत मन्त्रमा सूर्यबाट धारण गरिएको भनेर बताइएकै छ । यसरी संसारमा सयकडौं हज्जारौं मण्डल वा गोल बनून् या अनन्त पृथ्वी तरकादि आदि बनेका छन् भनेर डिङ हाँकियोस् तात्विक दृष्टिले विचार गर्दा यिनै सात् व्यहृतिभन्दा बाहिर हुनसक्ने सम्भावना देखिँदैन । माधवाचार्यले पनि ‘तिस्रो भूमिः’ लाई सप्त व्याहृयति नै मानेका छन् । यसरी सात लोक र सूर्यको आकषर्चणीय धारणशििक्तलाई खण्डन गर्नै नसकिने गरी वेदले बताएको देखिन्छ ।

यतिमात्रै होइन अब यी सातैलोकमा कसरी सूर्य परिभ्रमण गर्दछन् त्यो पनि वेदले बताएको छ –‘यज्ञइन्द्रमवद्र्धयद् । यद् भूमिंव्यवत्र्त यत् । कुर्वाण ओपशं दिवि’ । यज्ञले इन्द्रलाई बढाउँछ । इन्द्रले ओपश अर्थात् इन्द्र द्युलोकमा स्थान बनाउँदाबनाउँदै पृथ्वीलाई विवर्तित गर्दछन् अर्थात् घुमाउँछन् भन्ने अर्थ हो माथिका मन्त्रको । सूर्यका किरण जुन समयमा कुनै मूर्त पदार्थमा आघात गरेर प्रत्यावर्तित हुन्छन् त्यो बेला सूर्यको गमन मार्ग र आगमन मार्गका बीचमा केही फरक पर्दछ ।

हो त्यही अन्तरलाई वैज्ञानिक भाषामा ओपश भनिन्छ । सूर्यका किरणका आघातबाट नै पृथ्वी घुम्छ भन्ने संकेत यस मन्त्रले गरेको छ । यो आनुमानिक प्रलाप हो भनेर कसरी भन्ने ? उनताक वेदले बताएका कुरा आजको भौतिक विज्ञानले पनि पुष्टि गरेको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?