कैलाली-३ मा पुराना दलहरूलाई नागरिक उन्मुक्तिको डर

हिमालय टाइम्स
Read Time = 6 mins

-विराज रोस्यारा

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि आठजना उम्मेदवार चुनावी मैदानमा छन् । मंसिर ४ गतेको चुनावमा जित हात पार्न सबै उम्मेदवार मतदातासँग भेट गर्न व्यस्त छन् । सबै उम्मेदवारले पहिलो चरणमा गाउँ–टोल र बस्तीमा पुगेर आफ्ना समर्थकको संख्याबारे आकलन गरिरहेका छन्् ।

कैलाली क्षेत्र नम्बर ३ मा मुख्य रूपले चार दलको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, पुराना दलहरूलाई नागिरक उन्मुक्ति पार्टी भारी पर्ने संकेत उक्त निर्वाचन क्षेत्रमा देखिएको छ ।

आठजना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी दौडमा रहे पनि चार जनाले आफूले नै जित्ने दाबी गरेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी (कुन्दन), नेकपा एमालेबाट पूर्व मन्त्री गौरीशंकर चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीबाट गंगादेवी पौडेल, नेकपा (माले) बाट परेकबहादुर रावल, रमेश आचार्य र नवीनकुमार बोहराले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

तर यो पटक कैलाली–३ का मतदाताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउने सल्लाह गरिसकेको राप्रपाका उम्मेदवार वीरेन्द्रबहादुर बमको दाबी छ । ‘यो पटक यहाँका मतदाताले पूराना दल र उम्मेदवारलाई भोट नदिने भनेका छन्,’ उहाँले भन्नुभयो, ‘मतदाताले चुनावमा राप्रपाको चुनाव चिन्ह हलोमा भोट दिएर वीरेन्द्रबहादुर बमलाई जिताउने सल्लाह भैसकेको छ ।’

वैशाखमा भएको स्थानीय तहको चुनावमा कैलालीमा पहिलो बनेको नयाँ दल नागरिक उन्मुक्ति पार्टी अन्य राजनीतिक दलहरूका लागि भारी पर्ने संकेत देखिएको छ । स्थानीय तहको निर्वाचनमा पूर्वी कैलालीमा आफ्नो प्रभाव देखाएको नागिरक उन्मुक्तिले प्रतिनिधिसभा सदस्यको चुनाव पनि जित्ने दाबी गरेको हो । नागरिक उन्मुक्तिसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने प्रतिनिधिसभा सदस्यका उम्मेदवार गंगाराम चौधरीले बताउनुभयो । ‘हामीसँग चुनाव जित्न मुद्दा छन्, हामी नयाँ पनि छौँ, पुराना दलसँग हाम्रो प्रतिस्पर्धा नै हुँदैन,’ उहाँले भन्नुभयो, ‘कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को संघ र प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको शानदार जित हुन्छ ।’

संविधानसभा सदस्य कृष्णकुमार चौधरी कुन्दन पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । उहाँले कैलाली–३ मा गठबन्धन दलको सबैभन्दा बढी मत रहेकाले दुई तिहाइले विजयी हुने दाबी गर्नुहुन्छ । ‘यो क्षेत्रमा सबैभन्दा बलियो गठबन्धन हो, हामीसँग अरूको तुलना नै हुन्न, उहाँले भन्नुभयो, यो क्षेत्रमा हामी दुई तिहाइ मतले जित्छौँ ।’

कैलाली–३ मा २०७० र २०७४ मा पूर्वमन्त्री गौरीशंकर चौधरीले माओवादी केन्द्रबाट चुनाव जित्नुभएको थियो । नेकपा माओवादी केन्द्रबाट दुईपटक जित्नुभएका चौधरी अहिले भने नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । उहाँ तेस्रोपटक चुनाव जित्ने दाउमा हुनुहुन्छ । निर्वाचन क्षेत्रमा आफूले सुरु गरेका विकास निर्माणका काम पूरा गर्न जनताले फेरि मत दिने विश्वास नेकपा एमालेका उम्मेदवार चौधरीको छ । ‘यो क्षेत्रबाट अहिले पनि मैले नै चुनाव जित्छु, उन्मुक्तिले जित्ने आधार नै छैन भने गठबन्धनका उम्मेदवार पाहुना हुन्, ‘उहाँले भन्नुभयो, ‘यो क्षेत्रको स्थानीय त म हुँ, मैले नै चुनाव जित्छु ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका आठजना उम्मेदवारमध्ये चारजना उम्मेदवारले आफूले नै जित्ने दाबी गरेका हुन्् । अहिले मतदातालाई रिझाउन व्यस्त उम्मेदवारमध्ये संगठन र जनाधारका हिसाबले गठबन्धन, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित चार दलको प्रतिस्पर्धा हुने अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?