गणेशमान सिंह टेनिस शनिबारबाट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली राजनीतिका युगपुरुष तथा प्रजातान्त्रिक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोस्रो संस्करणको टेनिस प्रतियोगिता यही कात्तिक १९ गते (शनिबार) बाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिताअन्तर्गत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा २६ गतेसम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ वर्षमाथि एकल तथा युगल, ४५ वर्षमाथि एकल तथा युगल, ५५ वर्षमाथि एकल तथा युगल र ६५ वर्षमाथिको एकल रहेको छ ।

यस्तै, जुनियरतर्फ यू-८ छात्र तथा छात्रा एकल, यू-९ छात्र तथा छात्रा एकल, यू-१० छात्र तथा छात्रा एकल, यू-१२ छात्र तथा छात्रा एकल, यू-१४ छात्र तथा छात्रा एकल र खुला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो संस्करणको टेनिस प्रतियोगितामा पुरुषतर्फ आरभ सम्राट हाडा र महिलातर्फ सलोनी तामाङ विजयी हुनुभएको थियो । पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधि उचालेको थियो । ३५ वर्षमाथिको पुरुष युगलतर्फ कमलबहादुर भण्डारी र सिमान्त गुरुङको जोडी, ४५ वर्षमाथिको पुरुष एकलमा विमलकुमार गुरुङ, युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएको थियो । ५५ वर्षमाथि कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएको थियो ।

३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीहरूले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरुष तथा महिला युगल र पुरुष ३५ वर्षमाथिका शीर्ष तीन विजयी खेलाडीहरूले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको युगलमा शीर्ष तीन विजेताले २५ हजार, १५ हजार पाँच हजार, ४५ वर्षमाथि एकलका शीर्ष तीन विजेताले ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

यस्तै, ४५ वर्षमाथिको युगल र ५५ वर्षमाथिको एकलतर्फ २० हजार, १० हजार र पाँच हजार, ५५ वर्षमाथिको युगलतर्फका खेलाडीहरूले १५ हजार, आठ हजार र ६५ वर्षमाथिको एकलका खेलाडीहरूले १५ हजार, सात हजार ५०० र पाँच हजार प्राप्त गर्ने विज्ञप्तिमा जनाइएको छ । यसका साथै विजयी खेलाडीहरूले पदक, प्रमाणपत्र र ट्रफीसमेत प्राप्त गर्नेछन् ।

टेनिस प्रतियोगिताको संयोजकमा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंह र प्राविधिक संयोजकमा टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?