सरोज खनाल निर्देशित ‘बगान’ फागुनमा आउने, ‘उडी छुनु छ आकाश’ सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । अभिनेता सरोज खनालको डेब्यु निर्देशित चलचित्र ‘बगान’ आगामी फागुन १२ गतेबाट सिनेमाघरमा आउने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी फागुन १२ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । यस्तै, चलचित्रमा समावेश गीत ‘उडी छुनु छ आकाश’को मर्मस्पर्शी लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनलाई प्रस्तुत गरिएको छ ।

सुरेश वाग्लेको शब्द रचना र हरि लम्सालको संगीत रहेको गीतमा बानिका प्रधानको स्वर छ । गीतमा समावेश फिल्मका चल÷अचल दृश्यहरूमा अभिनेत्री करिश्मा मानन्धर र नवकलाकार प्रमिल कार्की आमा-छोरीको रूपमा प्रस्तुत हुनुहुन्छ ।

निर्देशक खनालले चलचित्रको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरूलाई हुँदैन ? अब विधुर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । चलचित्रले उठाएको सवाल यही हो ।’

आफूलाई आमा त के हजुरआमाको रोल गर्न पनि कुनै समस्या छैन भन्दै ‘बगान’मा मैले खोजेको जस्तो भूमिका थियो र गरेँ । मलाई जस्तोसुकै रोल गर्न आपत्ति छैन’, नायिका करिश्माले भन्नुभयो । ‘बगान’मा आफूले खोजेको जस्तो भूमिकामा काम गर्न पाएको र योङ युवतीको आमा भएर काम गर्दा गर्व महसुस भएको उहाँको भनाइ थियो । चलचित्रमा आफ्नो उमेरअनुसारको भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो ।

दर्शक र मिडियाले आफूलाई ग्ल्यामरस हिरोइनको रूपमा चिनेकोप्रति असन्तुष्टि नरहेको बताउँदै उहाँले भन्नुभयो ‘जति बेला मैले चलचित्रमा काम गरिरहेको थिएँ, त्यसबेला मलाई राम्री देखिनुपर्छ भन्ने दबाब रहन्थ्यो । त्यसैले मैले फरक भूमिका गर्न सक्दैन होला भनेर त्यसप्रकारको भूमिका अफर नै आएन । ‘बगान’मा भने मैले करिअरभर गर्न खोजेको भूमिका पाएको छु ।’

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा करिश्मा र प्रमिलका साथै नीर शाह, सरोज खनाल, मिथिला शर्मा, बसुन्धरा भुसाललगायतको मुख्य भूमिका छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा हुनुहुन्छ । चलचित्रमा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?