एकताका स्याङ्जाको पाखोबारीमा फल्ने कोदोखेती, विस्तारै मासिँदै

Read Time = 5 mins

-युवराज पौडेल
स्याङ्जा । पुतलीबजार ८ कोल्माका भीमबहादुर गुरुङ ७१ वर्ष पुग्नुभयो । उहाँ भारतीय सेनाबाट निवृत्त भएर गाउँमा बस्नुहुन्छ । उहाँले कोदो लगाउन थालेको धेरै भयो । उहाँको घर वरिपरिका बारीमा कोदो रोपिएको छ । उहाँले आफूले पहिले यही बारीमा धेरै कोदो फलाएको तर अहिले कोदो मासिँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै मान्छे सहरबजार गए । गाउँमा काम गर्ने मान्छे पाइँदैन । कोदो रोप्न दुःख हुन्छ भनेर आजकलका मानिसले कोदो रोप्नै छाडे ।‘ उहाँले बारीको उर्वरा शक्ति घटेको, काम गर्ने मानिसको अभाव, पुरानै जातको कोदोको उत्पादन हुने कारणले कोदो सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी गुरुङको संस्कारमा रक्सी चाहिन्छ । त्यसैले अलिअलि कोदो खेती गर्नै पर्ने भएर मात्र हो । परम्परा धानेको मात्रै हो । अब त्यही पनि गाह्रो हुन थाल्यो ।’

भिरालो पाखो बारीमा पनि राम्रो फल्ने कोदो बाँदर समस्याका कारण खेती गर्न समस्या हुने गरेको बताउनुहुन्छ– कालीगण्डकी गाउँपालिका ४ का कृषक लक्ष्मीप्रसाद पाण्डे । उहाँले भन्नुभयो, ‘कोदो पनि बाँदरले खान थालेपछि मान्छेले कोदो लगाउनै छाडिसके ।‘ दुःख बढी र मिहिनेत अनुसारको कोदो नफल्ने भएकाले कोदो खेती विस्तारै मासिँदै गएको उहाँले बताउनुभयो ।

आँधीखोला गाउँपालिका वडा नं ५ की बेलकुमारी पौडेलले भन्नुभयो ‘पहिले यही बारीमा धेरै कोदो फल्थ्यो । कोदोको भकारी बनाइन्थ्यो । अहिले कोदो देख्न मुस्किल भइसक्यो । अलिअलि वस्तुभाउलाई भनेर थोरै लगाएका छौं ।’

यसरी कुनै समय मुख्य अन्नबालीका रूपमा परिचित कोदो खेती स्याङजामा लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रूपमा खेती गर्ने किसानको संख्यामा कमी र युवा जनशक्ति विदेश पलायन हुदाँ परम्परागत मुख्य अन्नबालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।

स्याङ्जा कोदो खेती हुने जिल्ला हो । यहाँका अधिकांश पहाडी भिराला जमिनमा समेत कोदो उत्पादन हुने गरेको छ । आँधीखोला गाउँपालिका, हरिनाश गाउँपालिका, पुतलीबजार नगरपालिकाका ८, ९, ७, ४, ६, १२, १४ नं वडा कोदोका पकेट क्षेत्रका मानिन्छन् । त्यस्तै वालिङका ३ र ४, भीरकोटका ८ र ९, गल्याङ्का ५ र ७, विरुवाका ३, ५, ७ ८ अर्जुन चौपारीको ६, फेदीखोला २, ४, ५, चापाकोटका ५ र ७ लाई कोदोका पकेट क्षेत्रका रुपमा घोषणा गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाकी अधिकृत सोनी रानाले बताउनुभएको छ ।

कोदो खेती विस्तार र रैथाने बाली संरक्षणका लागि कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय कृषकहरुलाई सामूहिक खेतीमा प्रोत्साहन, बिउ बिजन वितरणदेखि कृषि सामग्रीमा पनि आवश्यक सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्रका अधिकृत सोनी रानाले बताउनुभएको छ ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको उत्पादन अहिले स्याङ्जाको सीमित गाउँमा मात्र हुदै आएको छ । रोटी र ढिँडोका लागि उत्तम मानिने कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै जादा स्याङ्जाका बजारमा कोदोको माग भने बढेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?