जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

जिल्लाभर १०६ मतदान केन्द्र र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी कर्मचारी रहनेछन् । त्यसैगरी चारजना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार ६३८ मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८७८, महिला १७ हजार ९०५ गरी जम्मा ३६ हजार ७८३ जना र क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८२२ महिला, १५ हजार ३३ गरी जम्मा ३१ हजार ८५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिनेछ ।

मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय समिति अधिकारी, सदरमुकाममा रहेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नेपाल पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य–सचिव रहने गरी समिति गठन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा आठ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?