निहारिका राजपुतका छोराको डिएनए शिवराज श्रेष्ठसँग मिल्यो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउँदै आउनुभएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डिएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उहाँको छोरा र श्रेष्ठको डिएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको हो । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डिएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डिएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । निहारिकाले बलात्कार भनी आरोप लगाएका शिवराज श्रेष्ठले निहारिकाको कोखबाट जन्मेको बच्चा आफ्नो होइन भनी इन्कार गरेपछि निहारिकाले श्रेष्ठको डिएनए परीक्षणको माग गर्नुभएको थियो । उहाँले श्रेष्ठले आफूलाई सहमतिबिना यौन सम्पर्क राखेपछि बच्चा जन्मिएको बताउँदै आउनुभएको थियो । डिएनए परीक्षण मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बस्दै आउनुभएकी निहारिकाकै मागअनुसार उहाँका छोरा र श्रेष्ठको डिएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो । शुक्रबार डिएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको हो ।

लामो समयदेखि आफूले न्याय पाउने विश्वासमा काठमाडौंमा धर्ना बस्दै आउनुभएकी निहारिकाको मागअनुसार प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, निहारिकाले बलात्कार नगरेको शिवराजको दाबी छ । उक्त बच्चासँग डिएनए मिले आफूले बच्चालाई स्वीकार्न तयार भएको श्रेष्ठले बताउँदै आउनुभएको थियो । प्रहरी हिरासतमा २४ दिन बसेपछि उहाँ पुर्पक्षमा हुनुहुन्छ । शिवराजले बारम्बार आफूले निहारिकालाई बलात्कार नगरेको र आपसी सहमतिमै सम्बन्ध रहन गएको दाबी गर्दै आउनुभएको छ ।

२४ दिन प्रहरी हिरासतमा रहेपछि थुनछेक बहसमा श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनुषाले एक हजार धरौटीमा छाडेको थियो । त्यसलगत्तै उहाँ डिएनए परीक्षणका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित हुनुभएको थियो । उहाँको डिएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाट अघि बढाइएको थियो ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उहाँ अनशन बस्नुभएको थियो । पछि ५ भदौमा तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभएको थियो । सहमतिमा उहाँको मागबमोजिम आरोपी श्रेष्ठसँग उहाँको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उहाँको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?