चुनाव जित्न पुरानाका काम देखाउँदै भोजपुरका उम्मेदवारहरू

हिमालय टाइम्स
Read Time = 4 mins

निरोज कोइराला/हिटा
भोजपुर । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा क्रियाशील राजनीतिक दलहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । कसरी आफ्नो पक्षमा मतदातालाई पार्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिले पार्टीका उम्मेवार तथा नेता कार्यकर्ताहरू मतदाता भेटघाटसँगै आफूले विगतमा गरेका कामहरू सार्वजनिक गर्दै हिँड्न थालेका छन् ।

विगतका कामहरू सार्वजनिक गरेका दलहरूले आगामी एजेण्डाहरू सार्वजनिक गरेका छैनन् । मतदाताहरूले भने पुरानो काम नेताहरूले सार्वजनिक गरे पनि अबका दिनमा गर्ने एजेण्डा पनि आउनुपर्ने बताएका छन् ।

पहिलाको कामले मात्र अब कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने हुँदैन आगामी विकासका एजेण्डासमेत हेर्न आवश्यक हुने युवा कृष्णराज प्रधानको भनाइ छ । ‘अहिले आफ्ना एजेण्डाभन्दा पनि नेताहरूमा आरोप प्रत्यारोप मात्र देखिँदै आएकाले नेताहरू त्यसलाई छाडेर आफ्ना एजेण्डासहित मतदाताको घर दैलोमा पुग्नुपर्छ’ प्रधानले भन्नुभयो ।

आफू मुख्यमन्त्री हुँदा भोजपुरमा गरेको कामलाई समेटेर प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी शेरधन राईले श्वेतपत्र सार्वजनिक गरिसक्नु भएको छ । प्रतिनिधिसभाका लागि एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका राईले श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिँचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत कार्यक्रमहरू र बजेट समावेश गरेर सार्वजनिक गर्नुभएको छ ।

२०७४ फागुन २ गते प्रदेश नं १ को पहिलो मुख्यमन्त्री नियुक्त हुनुभएका राईले २०७८ भदौ १० गते राजीनामा दिँदै एमालेकै नेता भीमप्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो । प्रतिस्पर्धामा रहेका अन्य दलहरू पनि घोषणापत्र तयारीमा जुटेका छन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रतिनिधिसभाका लागि १२ र प्रदेशसभा (क) तर्फ सात र (ख) मा ६ जना गरी २५ जना दल र स्वतन्त्र गरी प्रतिस्पर्धामा छन् । भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन किराँती र एमालेका शेरधन राई प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेशसभा (क) तर्फ गठबन्धन अहिलेका प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र एमालेका हरिबहादुर राई चुनावी मैदानमा हुनुहुन्छ । प्रदेश (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति विनोद राई र एमालेका खडगबहादुर कार्की प्रतिस्पर्धी हुनुहुन्छ ।

यसपटकको निर्वाचनमा यिनै उम्मेदवारहरूका बीचमा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । भोजपुरमा एक लाख २३ हजार ३७९ जना मतदाता मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?