स्याङ्जामा मासिँदै कोदो खेती

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

युवराज पौडेल/हिटा
स्याङ्जा । स्याङ्जाको पुतलीबजार-८ कोल्माका भीमबहादुर गुरुङ ७१ वर्ष पुग्नुभयो । उहाँ भारतीय सेनाबाट निवृत्त भएर गाउँमा बस्नुहुन्छ । उहाँले कोदो लगाउन थालेको धेरै भयो । उहाँको घरवरिपरिका बारीमा कोदो रोपिएको छ । उहाँले आफूले पहिले यही बारीमा धेरै कोदो फलाएको तर अहिले कोदो मासिँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै मान्छे शहरबजार गए । गाउँमा काम गर्ने मान्छे पाइँदैन । कोदो रोप्न दुःख हुन्छ भनेर आजकलका मानिसले कोदो रोप्नै छाडे ।’ उहाँले बारीको उर्वरा शक्ति घटेको, काम गर्ने मानिसको अभाव, पुरानै जातको कोदोको उत्पादन हुने कारणले कोदो संकटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी गुरुङको संस्कारमा रक्सी चाहिन्छ । त्यसैले अलि-अलि कोदो खेती गर्नै पर्ने भएरमात्र हो । परम्परा धानेको मात्रै हो । अब त्यही पनि गाह्रो हुन थाल्यो ।’

भिरालो पाखो बारीमा पनि राम्रो फल्ने कोदो बाँदरको समस्याका कारण खेती गर्न समस्या हुने गरेको बताउनुहुन्छ कालीगण्डकी गाउँपालिका-४ का कृषक लक्ष्मीप्रसाद पाण्डे । उहाँले भन्नुभयो, ‘कोदो पनि बाँदरले खान थालेपछि मान्छेले कोदो लगाउनै छाडिसके ।’ दुःख बढी र मिहिनेतअनुसारको कोदो नफल्ने भएकाले कोदो खेती विस्तारै मासिँदै गएको उहाँले बताउनुभयो ।

आँधीखोला गाउँपालिका-५ की बेलकुमारी पौडेलले भन्नुभयो, ‘पहिले यही बारीमा धेरै कोदो फल्थ्यो । कोदोको भकारी बनाइन्थ्यो । अहिले कोदो देख्न मुस्किल भइसक्यो । अलि-अलि वस्तुभाउलाई भनेर थोरै लगाएका छौँ ।’

यसरी कुनै समय मुख्य अन्नबालीका रूपमा परिचित कोदो खेती स्याङ्जामा लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिकरूपमा खेती गर्ने किसानको संख्यामा कमी र युवा जनशक्ति विदेश पलायन हुँदा परम्परागत मुख्य अन्नबालीका रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।

स्याङ्जा कोदो खेती हुने जिल्ला हो । यहाँका अधिकांश पहाडी भिराला जमिनमा समेत कोदो उत्पादन हुने गरेको छ । आँधीखोला गाउँपालिका, हरिनाश गाउँपालिका, पुतलीबजार नगरपालिकाका ८, ९, ७, ४, ६, १२, १४ नं. वडा कोदोका पकेट क्षेत्रका मानिन्छन् । त्यस्तै, वालिङका ३ र ४, भिरकोटका ८ र ९, गल्याङ्का ५ र ७, बिरुवाका ३, ५, ७, ८, अर्जुन चौपारीको ६, फेदीखोला २, ४, ५ र चापाकोटका ५ र ७ लाई कोदोका पकेट क्षेत्रका रूपमा घोषणा गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाकी अधिकृत सोनी रानाले बताउनुभएको छ ।

कोदो खेती विस्तार र रैथाने बाली संरक्षणका लागि कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय कृषकहरूलाई सामूहिक खेतीमा प्रोत्साहन, बिउबिजन वितरणदेखि कृषि सामग्रीमा पनि आवश्यक सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्रका अधिकृत सोनी रानाले बताउनुभएको छ ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको उत्पादन अहिले स्याङ्जाको सीमित गाउँमा मात्र हुँदै आएको छ । रोटी र ढिँडोका लागि उत्तम मानिने कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै जादा स्याङ्जाका बजारमा कोदोको माग भने बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?