ओझेलमा विकास र सुशासनका मुद्दा

आरोप-प्रत्यारोपमा शीर्ष नेता, सिको गर्दै नेता-कार्यकर्ता

डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै दलका नेताहरू आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने दिन नजिकिएसँगै नेताहरू एक-अर्काविरुद्ध खनिन थालेका हुन् । एजेण्डाभन्दा आरोप-प्रत्यारोपमा उत्रिनेमा दलका शीर्ष नेताहरू नै अग्र पंक्तिमा छन् । त्यसमा पार्टी अध्यक्षदेखि प्रधानमन्त्री भइसकेका नेताहरू छन् । शीर्ष नेताहरू नै आरोप-प्रत्यारोपमा उत्रिएपछि उनीहरूकै सिको गर्दै दोस्रो तथा तेस्रो तहका नेता पनि चुनावी एजेण्डाभन्दा गालीगलौजमा उत्रिन थालेका हुन् । दोस्रो र तेस्रो तहका नेताहरू मात्रै होइन कार्यकर्तासमेत आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन् । चुनाव केन्द्रित सभा, सम्मेलन, भेला, प्रशिक्षण लगायतका कार्यक्रममा नेताहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाभन्दा अर्को दल र तिनका नेतालाई गाली गलौज गर्नमै धेरै समय खर्चिरहेका छन् । दलहरूका यस्ता गतिविधिले नीति, निर्माण, विकास र सुशासनका मुद्दा भने ओझेलमा पर्ने देखिएको छ । जुन मुद्दा उठाउनुपर्ने हो त्यसतर्फ नेताहरूको ध्यान पुगेको छैन । निर्वाचन केन्द्रित कार्यक्रम लिएर गएका नेताहरूको आरोप-प्रत्यारोप र भाषणबाजीबाट नागरिक भने आजित छन् ।

दार्चुला गएर लिम्पियाधुरा फिर्ता हुने होइन : देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्ने बताउनुभएको छ । गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दार्चुलामा भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौतीसमेत दिनुभयो । ओलीप्रति लक्षित गर्दै देउवाले ‘भाषण गरेर फिर्ता हुने भए काठमाडौंमै भाषण गरे भइहाल्थ्यो’ भन्दै कटाक्ष गर्नुभयो । ‘केपी शर्मा ओलीज्यूले दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउने होइन । अतिक्रमित भूमि फिर्ता ल्याउन कि लड्न सक्नुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘होइन भने कूटनीति पहलबाट फिर्ता ल्याउनुपर्‍यो । हामी कूटनीतिक पहल गर्दै वार्तामार्फत अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्छौँ ।’ प्रधानमन्त्रीले ‘संवेदनशील विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित’ भएको समेत बताउनुभयो । शुक्रबार प्रतिपक्षी दलका नेता ओलीले दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्दै गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताउनुभएको थियो । ओलीले आफ्नो पहिलो चुनावीसभामा लिपुलेकको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताउनुभएको थियो ।

दाहाल-नेपालमाथि ओलीको कटाक्ष : कांग्रेसको झिँगा धपाएर वामपन्थी हुँ भन्ने ?
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको आरोप लगाउनुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थहरूको गठजोडबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको आरोप लगाउनुभयो । ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसको पुच्छर भएर झिँगा धपाएको आरोप लगाउनुभयो । कांग्रेसको पुच्छर हुँदै झिँगा धपाएर पनि उनीहरूले आफूलाई अझै कम्युनिष्ट भन्ने गरेको भन्दै ओलीले व्यंग्यसमेत गर्नुभयो । ‘१५ वर्ष पार्टीको नेतृत्व गर्ने अनि पार्टी फुटाउने । माथि नेतृत्वमा बसेर रोजी-रोजी कलिलो-कलिलो, नरम-नरम खाने,’ नेकपा एसका अध्यक्ष माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भन्नुभयो, ‘ठूला ठूला पद र रोमान्स उनीहरूलाई चाहिने । प्रधानमन्त्री पनि उनीहरूलाई नै चाहिने, जे पनि उनीहरू नै हुनुपर्ने । हुँदा हुँदा एकछिन् नपाउँदा कांग्रेसको पुच्छर भएर, चौँरीका जस्तै झम्के पुच्छर भएर कांग्रेसको झिँगा धपाएर वामपन्थी हुँ भन्ने ?’ ओलीले चितवनमा टिक्न नसक्ने भएपछि प्रचण्ड निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभयो ।

ओलीमा देश र जनताप्रति घात गर्ने प्रवृत्ति रहेछ : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ओलीमा देश र जनताप्रति घात गर्ने प्रवृत्ति रहेको बताउनुभएको छ । गोरखाको आहालेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली प्रवृत्ति सच्चिने खालको प्रवृत्ति नभएको बताउनुभयो ।
‘हामीले जसलाई प्रधानमन्त्रीको रूपमा अघि सार्‍यौँ । जसलाई एक नम्बर अध्यक्ष भनियो । ती मान्छेले संविधान स्वीकार गरेका रहेनछन् । संविधान स्वीकार गरे भनेर संविधानमा हस्ताक्षर गरे । त्यो हस्ताक्षर नक्कली गरेका रहेछन्’ प्रचण्डले भन्नुभयो, ‘(केपी ओली)को मनमा तपाईंले सुन्नुभएको होला गोरु गाडाको सिद्धान्त रहेछ । हामीले देशमा संविधानसभा हुनुपर्‍यो देशमा सामन्ती राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भन्दा देशमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडा लिएर अमेरिकाको वासिङ्गटन पुगिन्छ भन्नु उस्तै हो भन्थे ।’

संविधानमा हस्ताक्षर गरेपछि गणतन्त्र मान्छु भनेपछि उनी बदलिए भन्ठानेको तर तीन वर्ष पुग्दा नपुग्दै मौका कुरेर बसेको थाहा पाइएको प्रचण्डले बताउनुभयो । केपी ओली अहिले पनि गोरु गाडावाला सिद्धान्तबाट दायाँ बायाँ नभएको उहाँले आरोप लगाउनुभयो । ‘केपी ओलीले गणतन्त्र संघीयता समावेशिता स्वीकार गरेका रहेनछन् । आफू बलियो भएपछि यो संविधान च्यात्दिन्छु । यो गणतन्त्र उल्ट्याइदिन्छु । महिलाले पाएको ३३ प्रतिशत उल्ट्याइदिन्छु यो देशका दलित, मधेसी, थारू, मुस्लिम, जनजातिले पाएको अधिकार उल्ट्याउने ताकमा रहेछन्’ प्रचण्डले भन्नुभयो, ‘त्यसका विरुद्ध संघर्ष गरेर यो गठबन्धन बनाएका हौँ । ओली प्रवृत्ति देश जनताप्रति घात गर्ने प्रवृत्ति रहेछ भनेपछि परास्त नगरेपछि देश दुर्घटनामा पर्ने जनता फेरि निरंकुशताको जाँतोमा पिसिने खतरा छ भन्ने भएपछि आन्दोलित हुँदै यो गठबन्धन बनाएका हौँ ।’

म ६७ वर्ष लागेकालाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी : रावल
अरू पार्टीका नेताहरू विपक्षी पार्टीका नेतामाथि खनिए पनि एमाले नेता भीम रावल भने आफ्नै अध्यक्षमाथि खनिनुभएको छ । अध्यक्ष ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाउँदै ओलीमाथि पाँच प्रश्न गर्नुभएको छ । रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको टिप्पणी गर्नुभएको छ । ‘अध्यक्ष ओली ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेको कहिल्यै मुख खाली छैन र फेरि पनि खानको लागि मुख किन बाउनुभएको त ?’ प्रश्न गर्दै रावलले भन्नुभएको छ, ‘म ६७ वर्ष लागेकालाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ?’ उहाँको प्रश्न छ ।’

देउवालाई जतिपटक प्रधानमन्त्री बनाए पनि देशमा केही हुँदैन : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई जतिपटक प्रधानमन्त्री बनाए पनि देशलाई कुनै फाइदा नहुने टिप्पणी गर्नुभएको छ । शनिबार कावासोतीको डण्डामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको परीक्षणमा देउवा असफल भइसकेको बताउनुभयो । ‘पाँचपटक प्रधानमन्त्री हुँदा देशलाई केही गर्न नसकेको भन्दै देउवालाई छैटौँपटक प्रधानमन्त्री बनाएर के हुन्छ ?’ भन्दै प्रश्न गर्नुभयो । ‘पाँचपटक प्रधानमन्त्री भइसक्दा पनि देउवाका कारण देश र जनताले के पाए र उनलाई फेरि मत हाल्ने हो ?’ उहाँले भन्नुभयो । कांग्रेस र कम्युनिष्टले विगत ३० वर्षको अवधिमा देशलाई बेरोजगार उत्पादन गर्ने थलो बनाएको उहाँको आरोप छ ।

कम्युनिष्ट ‘कमाउनिष्ट’, इतिहासको ब्याजमा धानिएको कांग्रेस र तेस्रो धारका पार्टीहरू धार्मिक कट्टरपन्थी र राजावादी : जसपा
जनता समाजवादी पार्टी (जसपा)ले जसपाले नेपालका राजनीतिक दलहरू मूलतः तीनथरीको विचार धारामा बाँधिएको दाबी गरेको छ । जसपाले कम्युनिष्ट पार्टीहरू ‘कमाउनिष्ट’मा रूपान्तरण भएको, पुँजीवादी कांग्रेस इतिहासको ब्याजमा धानिएको र केही पार्टीहरू धार्मिक कट्टरपन्थ र राजतन्त्रवादी रहेको जनाएको छ । शनिबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा यी तीनथरी पार्टीहरूको बीचमा आफूलाई भने विकल्पका रूपमा अघि सारेको छ । ‘नेपालमा धेरैथरी कम्युनिष्ट पार्टीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याए पनि व्यवहारतः ती अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन्, जसपाले घोषणापत्रमा भनेको छ, ‘कांग्रेस पुँजीवादी उदारवादी विचार धाराको छ । कांग्रेसले अहिलेको वर्तमानको अर्थ राजनीतिक जटिलतालाई निकास दिनसक्ने ल्याकत राख्दैन । केवल इतिहासकै ब्याजमा धानिएको पार्टीको रूपमा नेपाली कांग्रेसले पारम्परिक राजनीति गरिरहेको छ ।’ तेस्रो धारका पार्टीहरूबारे जसपाले धार्मिक कट्टरपन्थी र कुनै न कुनै रूपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रूपमा ग्रहण गर्ने विचारधारा बोकेका पार्टी भनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?