चुनावी एजेण्डामा सीमित लोकमार्ग : २५ वर्षमा पनि भएन कालोपत्रे

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोडाबाँधे सडकको ट्र्याक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । सडक निर्माण भएपछि धेरैपटक निर्वाचन भए । अहिलेसम्म भएका निर्वाचनहरूमा उम्मेदवारहरूले यो सडक कालोपत्रे गर्ने विषयलाई मुख्य एजेण्डा बनाउँदै आए । तर, काम भने भएन ।

आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरूले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्रे गर्ने लेखेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्रे नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरूले भोट फुत्काउन आफूहरूको आँखामा छारो बर्साएको मतदाता बताउँछन् ।

काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ, ‘सडक कालोपत्रे गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्रे गर्छौँ भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्रे गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।’

कँडेलले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधिहरू गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुन सक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्रे नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको उहाँले बताउनुभयो । वर्षातमा हिलो र हिउँदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको कँडेलको भनाइ छ ।

‘हामीहरूले यो सडकको हिलो र धुलो खाएर बसेको २२/२५ वर्ष भयो, हिउँदमा धुलोले घरनै देखिँदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने विस्तरासम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ,’ कँडेलले भन्नुभयो, ‘सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौँ भयो, नेताहरूले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।’

स्थानीय सुरेश पुनले अघिल्लोपटक भोट माग्न आएका उम्मेदवारले ६ महिनाभित्रै कालोपत्रे गर्छु भनेर आश्वासन देखाएको भन्दै जितेर एकपटक आफूहरूलाई भेट्नसमेत नआएको बताउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरूले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । ‘अघिल्लो निर्वाचनमा एकजना नेताले मैले जितेँ भने सबैभन्दा पहिलो यो सडक बनाउनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीहरूलाई धन्यवादसमेत भन्न आउनुभएन’ पुनले भन्नुभयो ।

उहाँले यो सडकको कारण वर्षौँदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरूले सडक कालोपत्रेका लागि बारम्बार निर्माण कम्पनी र नेताहरूलाई भने पनि कुनै सुनुवाई नभएको गुनासो पोख्नुभयो । उहाँले आफूहरू भोट माग्नका लागि उम्मेदवारहरूले अनेक आश्वासन दिएको भन्दै यसपटक सोचेर भोट हाल्ने मनाशय बनाएको बताउनुभयो ।

यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्नु पर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नु परेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीहरूले समय–समयमा दुःख पाइराखेको बताउनुभयो ।

‘यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कैयौँपटक चालकहरू मिलेर बाटो बनाउँदै यात्रा ग¥यौँ, त्यो सम्भव नहुँदो रैछ,’ उहाँले भन्नुभयो, ‘सडकको दुरावस्थाका कारण कयौँ पटक गाडीको टायर पड्किएर, पट्टा भाँचिएर सडकमै बास बस्नु परेको छ, यहाँका नेताहरू के भएका हुन्, चुनावका बेला छिट्टै कालोपत्रे गर्छौँ भन्छन्, अरू बेला वास्तै गर्दैनन् ।’

उपल्लाचौरदेखि अक्षेते-बिहुँ खण्ड कालोपत्रेका लागि २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्रे हुन सकेको छैन ।

कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी छ । बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्रे भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?