बागलुङका व्यवसायीको गुनासो : ‘बढ्दो व्याजदरका कारण चाबी बुझाउने अवस्थामा पुगियो’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङका व्यवसायीहरुले बढ्दो व्याजदर र कर्जा मापदण्डका कारण आफ्नो व्यवसायको चाँबी बुझाउनुपर्ने अवस्थामा पुगेको बताएका छन् । राष्ट्र बैंकले हालै जारी गरेको चालु पँुजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यवसायीलाई परेको प्रभाव र बैंकहरूले व्याजदर वृद्धि गरेको भन्दै बागलुङका व्यवसायीले व्यवसायबाट हात धुने अवस्थामा आएको गुनासो गरेका छन् ।

बागलुङका व्यवसायी दयाराम पौडेलले राष्ट्रबैंकले जारी गरेको कर्जा नीति र बढ्दो व्याजदरले मझौला र साना व्यवसायलाई प्रत्यक्ष नोक्सानी पु¥याउने बताउनुभयो । उहाँले ठूला व्यवसायीहरुका कारण साना व्यवसायीहरु जहिलै मिचाहामा परेको भन्दै यही अवस्थामा व्यवसाय चल्न नसक्ने बताउनुभयो ।

बढ्दो व्याज दर र कर्जा नीतिको विरुद्धमा बागलुङका व्यवसायीहरुले बिरोध जनाउदै आएका छन् । बागलुङ उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङले बैंकहरूको अनियन्त्रित व्याजदर वृद्धि नरोके आफूहरुले चाँबी बुझानुको विकल्प नरहेको प्रेस विज्ञप्ती जारी गरेका छन् ।

पटक–पटक व्याजदर वृद्धि गर्ने, किस्ताबन्दीका रूपमा सेवा शुल्क लिई कर्जा नवीकरण गर्ने, नवीकरणको अवधिलाई त्रैमासिक बनाएर विभिन्न शीर्षकहरूमा शुल्क लिने गरेर निजी क्षेत्रका व्यवसायीहरू धारासायी हुने अवस्थामा पुगेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले बताउनुभयो । कंडेलले व्यवसायीहरुलाई मर्कामा पार्नेगरी कर्जा नविकरण र व्याजदर वृद्धिको नीतिलाई समायोजन गर्नुपर्ने बताउनुभयो ।

बैंकहरूले आकर्षणहरू योजना ल्याएर निक्षेप संकलन गर्ने तर कर्जा लगानी नै नगर्ने, ऋणीको जग्गा वा सम्पती बैंकले धितो सुरक्षण गर्दा पूर्वमूल्यांकन रकमलाई एक्कासी अवमूल्यांकन गर्दै न्यून अंकको मूल्यांकन बनाएर बाँकी रकम भुक्तानीका लागि दबाब सिर्जना गराउने अवस्थाले साना व्यवसाय डुब्ने अवस्थामा आएको बताउनुभयो । “ऋण लगानी गर्न नसक्ने तर निक्षेपमा आकर्षक व्याज दिने कारणले यहाँका व्यवसायीहरु चल्नै नसक्ने अवस्थामा आएका छन्” कंडेलले भन्नुभयो “ऋणि उद्यमी व्यवसायीहरूलाई आक्रान्त हुने गरी तर्साउने र मनोमानि रूपमा जरिवाना शुल्क लिने, वर्तमान कठिन परिस्थितिमा सहकार्य गर्नुपर्नेमा उल्टै लिलामी प्रक्रिया अगाडि बढाएको कारण निजी क्षेत्र धरासायी हुने अवस्थामा पुगेकाले उद्योग वाणिज्य संघको गम्भिर आपत्ती छ ।”

गहिरिदो आर्थिक संकट, अत्याधिक महंगी, अनियन्त्रित व्याजदरको वृद्धि र बेलाबेला व्यवसायीको ढाड सेक्ने गरी आउने वित्तीय संस्थाहरूको नियमका कारण व्यवसायीहरु हात धोएर हिड्नुपर्ने अवस्थामा आएको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङका अध्यक्ष भवराज बरालले विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।

कोरोनाले थला परेको व्यवसाय उठ्नै लाग्नेसमयमा मौर्दिक नीति र व्याजदर वृद्धिका कारण पुन संकट पैदा भएको भन्दै व्याजदर घटाउन बैंकहरुलाई आग्रह गरेको बताउनुभयो ।

बरालले राष्ट्र बैंकले ल्याउने झन्झटिलो नयाँ प्रावधानले व्यवसायीक क्षेत्र आक्रान्त बन्दै गएको बताउनुभयो । राष्ट्र बैंकको नियम विपरित बैंकहरूले ३÷३ महिनामा व्याजदर बढाएर व्यवसायीहरूलाई सडकमा ल्याउने काम गरेको भन्दै अब व्यवसाय बन्द गरेर तालाचाँबी बैंकलाई बुझाउनुपर्ने अवस्था आएको बागलुङका व्यवसायीहरुको गुनासो छ ।

बागलुङका व्यवसायीहरूले राष्ट्रिय अर्थतन्त्र संकटान्मुख भई रहेको अवस्थामा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकायले तत्कालै नीतिमा परिमार्जन गरी उद्यमी व्यवसायी मैत्री राहतमुखी कार्यक्रम ल्याउन सामुहिकरुपमा माग गरेका छन् । व्यवसायीहरुलाई बैंकहरुले अनावश्यक दबाव दिएको बागलुङ उद्योग बाणिज्य संघमा गुनासो आउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?