काठमाडौं क्षेत्र नम्बर ४ मा विरासत जोगाउन थापालाई चुनौती

कडा टक्कर दिँदै भट्टराई, स्वतन्त्र उम्मेदवार प्रसाईं दुवैलाई भारी बन्न सक्ने

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन १० दिन मात्र बाँकी रहँदा देशभर चुनावी गर्मागर्मी थप बढ्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो कार्यक्रम, आमसभा, कोणसभा र अन्तरक्रिया जस्ता कार्यक्रममार्फत मतदाता रिझाउन व्यस्त देखिन्छन् । मुलुकका अन्य निर्वाचन क्षेत्रहरू मध्ये काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पनि आसन्न निर्वाचन केन्द्रित चुनावी गतिविधि तीव्र बनेको छ । काठमाडौं ४ मा यसपटक पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालको विदेश विभाग प्रमुख राजन भट्टराईबीच दोस्रोपटक चुनावी प्रतिस्पर्धी हुँदै छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्यतया थापा र भट्टराईप्रति आमचासो देखिन्छ । आसन्न निर्वाचनमा गठबन्धनको समर्थन पाउनुभएका महामन्त्री थापा र एमालेका विदेश विभाग प्रमुख भट्टराईले दोस्रोपटक पनि यही क्षेत्रबाट आपसमा प्रतिस्पर्धा गरिरहेका कारण पनि यो क्षेत्रको निर्वाचनप्रति बढी नै चासो देखिन्छ । अर्कोतर्फ महामन्त्री थापा मुलुकको भावी प्रधानमन्त्रीमा दाबी गरिरहेको कारण पनि यो क्षेत्रको निर्वाचन परिणामप्रति विभिन्न विश्लेषण भइरहेको छ । ठूला राजनीतिक दलका यी दुई चिरपरिचित उम्मेदवारको लागि यस क्षेत्रका स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईं टाउको दुःखाइको विषय बन्नुभएको छ ।

के छ चुनावी एजेण्डा ?
महामन्त्री थापा काठमाडौं ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा हुनुहुन्छ । भट्टराई भने पहिलोपटक संसद् पुग्ने अभिलाषा राखेर थापालाई रोक्ने रणनीतिमा हुनुहुन्छ । थापासँग दुईपटक संविधानसभासहित तीनपटक सांसद बनेको अनुभव छ । संसदीय समितिको सभापति र मन्त्री बनिसक्नु भएका थापाले पार्टीमा समेत भूमिका बढाउनुभएको छ । पार्टीको कार्यकारी पद महामन्त्री रहनुभएका थापा तेस्रोपटक निर्वाचित हुने दाउमा रहनुभएको छ । थापाका प्रमुख प्रतिस्पर्धी भट्टराईसँग सांसद, मन्त्री बनेको अनुभव छैन । तर, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सत्ता सञ्चालनमा भूमिका निर्वाह गरेको अनुभव भने छ । भट्टराईले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

मुलुकका दुई ठूला र स्थापित राजनीतिक दलका दुई प्रतिस्पर्धी मतदातामाझ आफ्नो भूमिका र चुनावी एजेण्डा प्रस्तुत गरिरहनु भएको छ । थापाले भावी प्रधानमन्त्री तथा पार्टीको मूल नेतृत्वको दौडमा रहेको पटक पटक सार्वजनिक गरिरहनु भएको छ । उम्मेदवारी दर्ताको दिन नै महामन्त्री थापाले भन्नुभएको थियो, ‘ड्राइभिङ सिटमा अब आफैँ बस्ने हो । अब आउने पाँच वर्ष आफैँ ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो ।’ थापाको स्पष्ट संकेत निर्वाचनपछि मुलुकको प्रधानमन्त्री दाबी गर्नेमा छ । क्षेत्र नम्बर ४ को विकाससहित यस क्षेत्रमा कांग्रेसका नेता तथा कार्यकर्ताले प्रचारका लागि मूल मुद्दा पनि यसैलाई बनाइरहेका छन् ।

सडक निर्माण, ढलको व्यवस्थापन, पार्क, प्राकृतिक सम्पदाको संरक्षण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, हेरिटेज वाक लगायतका काममा थापाकै सक्रियतामा सम्भव भएको कांग्रेस पक्ष दाबी गर्छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा विकासका कार्यमा अनेकौँ कार्य गरेको एमाले पक्षको दाबी छ । चुनाव प्रचारका क्रममा दुवैले स्थानीय समस्याहरूलाई अघि सारेर मत मागिरहेका छन् । सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा नै उनीहरूका प्राथमिकतामा छन् ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका बाबजुद तीन हजारभन्दा बढी मतान्तरले जितेका थापा अहिले माओवादी केन्द्रको साथ आफूले पाएको र एमालेसमेत विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको समेत समर्थनमा आफू थप मजबुत भएको तर्क कांग्रेसको तर्क छ । उता, एमालले भने अघिल्लो कार्यकालमा जनताका आकांक्षा पूरा नभएको भन्दै जनताले परिवर्तन खोजेका कारण आफ्नो जित निश्चित रहेको दाबी गरिरहेको छ ।

यस्तो छ गत स्थानीय तहको निर्वाचन परिणाम
क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ । यस क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकाका वडातर्फ भने एमाले बलियो छ । काठमाडौं महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाडौंको ७, ८ र ३० मा मात्रै गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने नौ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारको अवस्था केही बलियो देखिन्छ । काठमाडौं-४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ । एकीकृत समाजवादीलाई यस प्रदेशको एउटा क्षेत्र छुट्याइएकोले उक्त दलको मत पनि थापालाई थपिने अवस्था बन्न सक्छ । स्थानीय तहमा एकीकृत समाजवादीले पाएको मत २ हजार ६८८ छ । माओवादी केन्द्रले छैटौं स्थानको मत ८७३ पाएको थियो । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ । एमालेले राप्रपासँग चुनावी तालमेल गरे पनि यो क्षेत्रमा छुट्टै उम्मेदवार मैदानमा छ । एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलोपटक प्रत्यक्ष उम्मेदवार बन्नुभएको थियो । तर, कांग्रेसका उम्मेदवार थापा २१ हजार ५५८ मत प्राप्त गरी विजयी हुनुभयो । तत्कालीन वाम गठबन्धनका उम्मेदवार भट्टराईले १८ हजार १४० मत पाउनुभयो ।

प्रधानमन्त्रीको उम्मेदवार हुन सांसद जित्नुछ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न निर्वाचनबाट सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताउनुभएको छ । चुनावी घरदैलोका क्रममा प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने भन्दै महामन्त्री थापाले भन्नुभयो, ‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन । यसको एउटा बाटो छ । हामी निर्वाचित भएर सांसद बन्छौँ । सांसद बनेपछि तीमध्येबाट संसदीय दलको चुनाव हुन्छ । त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो । जो कांग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो ।’ चुनावी घरदैलोमा जाँदा आफ्नो पक्षमा राम्रो माहोल देखिएको महामन्त्री थापाको दाबी छ ।

मेरो जित सुनिश्चित छ : भट्टराई
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वारका प्रतिस्पर्धी रहनुभएका नेकपा एमालेका उम्मेद्वार राजन भट्टराईले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । आफूले यस क्षेत्रको लागि गरेको काम नेकपा एमालेको एजेण्डा र मतदाताको परिवर्तनको चाहना आफ्नो जितको आधार भएको जिकिर गर्दै भट्टराईले भन्नुभयो, ‘हामी मतदाता कहाँ विभिन्न ढंगबाट गइरहेका छौँ ।

व्यक्तिगत र सामूहिक हिसाबले पनि काम भइरहेका छन् । जनप्रतिनिधि भएर जनताको सेवा गर्ने काम प्रमुख हुन्छ । संगठनात्मक र मत परिणामका हिसाबमा पनि हामी सुदृढ छौँ । स्थानीय तहको निर्वाचन, हामीले गरेका काम र हिजो हामीलाई मत नदिएका साथीहरू भेट्दा पनि सकारात्मक सन्देश पाएका छौँ । एमालेले १५ वर्षसम्म नजित्दा यो क्षेत्रको हविगत जनताले देखेका छन् ।’

विकासका एजेण्डा नै मेरो जितको आधार : प्रसाईं
काठमाडौं निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका अर्जुन प्रसाईंले आसन्न निर्वाचन केन्द्रित चुनावी प्रचारप्रसार तीव्र बनाउनुभएको छ । आक्रामक चुनावी अभियानसहित आफ्ना एजेण्डा मतदातामाझ राखिरहनु भएका प्रसाईंले राष्ट्रियता र विकास निर्माण राष्ट्रिय तथा स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका स्थानीय एजेण्डालाई अघि सार्नुभएको छ । गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी जस्ता महत्वपूर्ण स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले शानदार जित हासिल गरेपछि त्यसको साइड इफेक्ट क्षेत्र नम्बर ४ मा पर्ने संकेत देखा पर्न थालेका छन् ।

नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धीको रूपमा चर्चा गरिए पनि परिणाम फरक आउन सक्ने चर्चा सुरु भएको छ । क्रस खुकुरी चिन्ह लिएर उठ्नुभएका स्वतन्त्र उम्मेदवार प्रसाईंले एजेण्डाका कारण आफूले चुनाव जित्ने ठोकुवा गर्नुभएको छ । एमसिसी, नागरिकता विधेयक लगायतका विषयमा खरो आलोचना गर्नुभएका प्रसाईंले अहिले आफ्नो जित हुनेमा नपत्याउनेहरूले मतगणना सुरु भएपछि जिब्रो टोक्ने दाबी गर्नुभयो । प्रसाईंले जनतामा आफ्नो एजेण्डा राम्रोसँग पुगिरहेको र पुराना दलप्रति जनतामा दिक्दारी रहेको बताउनुभयो । आफूले राष्ट्रिय स्वाभिमानको पक्षमा बोलेको कुरा नै आफ्नो जितको आधार रहेको प्रसाईंको भनाइ छ । पटक पटक चुनाव जितेर सांसद भएका गगन थापाले अहिलेसम्म के गरे ? भन्दै प्रसाईंले प्रश्न गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?