आ-आफ्नै दाबी र निर्वाचन परिदृश्य

चुनावले छोपिसकेको छ । आजको नौ दिनमा हाम्रो देशमा पाँच वर्षे कार्यकालका लागि संघीय संसद्को सदस्य तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ । गरेको सबै मैले हो र गर्न बाँकी मैलेमात्र गर्न सक्छु, यसका लागि आफ्नो प्रतिधित्व त्यहाँ अनिवार्य छ, भन्ने आसयका अभिव्यक्ति नेताहरूबाट आइरहेका छन् । निर्वाचन हो कसको विजय हुन्छ र को पराजित हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । पञ्चायत कालमा अनेक थरी बहुरूपीसमेत जितेर राष्ट्रिय पञ्चायतका पुगेका थिए । ती पात्रहरू सर्कसका जोकर जस्ता थिए । यसरी हेर्दा जनताले निर्वाचित गर्ने हो । भोलि कसलाई जनताले मत देलान् भन्ने निर्णय अहिले कसैले गर्न सक्दैन ।

भोलि अन्तिम क्षणमा र मतदानका समयमा समेत कुनै उम्मेदवारको पक्षमा आएको लहर फेरिन सक्छ । निर्वाचनको प्रचारका लागि पाएको लामो समयभन्दा केही दिनको मौन अवधि जो प्रचारका लागि निषेध हुन्छ, त्यही समय चाहिँ प्रभावकारी मानिन्छ भन्ने हो । अरूलाई तुच्छ देखाएर राष्ट्रका लागि आफ्नो आवश्यकता छ भन्ने देखाउने होडबाजी अहिले चलिरहेको छ । हिजो हातेमालो गरेर हिँडेका सहकर्मीहरू आज तिनलाई सबैभन्दा खराब चरित्रको राजनीतिक पात्रका रूपमा प्रमाणित गर्न दिलोज्यानले लागिरहेको पाइएको छ । हिजो सँगसँगै हिँडेका एउटै कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू आज सबैभन्दा ठूला शत्रु मानिएका छन् । राजनीतिक निष्ठा, आचरण र सिद्धान्त नै नमिल्ने पार्टीका शीर्ष नेताहरू एक ठाउँमा उभिएर एउटै बोली बोलिरहेका छन् । जनतालाई त्यो अनौठो जस्तो लागिरहेको छ ।

नेकपा एमालेका नेता केपी शर्मा ओली गठबन्धनका नेताहरूप्रति कटाक्ष गरिरहनु भएको छ तर उहाँको गठबन्धनमा प्रधानमन्त्रीको एक्लो दावेदार हुँ भन्दै आउनुभएको छ । उता सत्तरुढ गठबन्धनका पक्षमा पाँचजना पूर्वप्रधानमन्त्रीहरू रहनुभएका कारणले पनि सत्तरुढ गठबन्धन निकै शक्तिशाली देखिन्छ । नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आपसी एकै धारणाका साथ आफ्ना साझा एजेण्डा अघि सारिरहेका छन् र नेपालको चुच्चे नक्सा बनाउने कार्यमा एमाले नेता ओलीले एकल जस लिन खोजेको आरोप लगाएका छन् । उक्त नक्सा बनाउने काम सबै मिलेर गरेको हुँदा त्यसमा ओलीभन्दा पनि सबैको भूमिका रहेको, यसका लागि आफ्नो हात अझै महत्वपूर्ण रहेको धारणा सत्तगठबन्धनका शीर्ष नेताहरूले अघि सार्दै आएका छन् ।

उता जनताले भोलि ककसलाई निर्वाचित गर्ने हुन्, को विजयी बन्लान् र को पराजित होलान् भन्ने अनुमान गर्ने मात्र हो किटानी गर्न सकिँदैन । आजको अनुमान र अड्कलबाजी भोलिसम्म कायम नरहन सक्छ । केही नेताहरूले आफूले आफैँलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आएका छन् । आफूलाई निर्वाचनमा विजय गर्न सजिलो होला भन्ने उद्देश्यले उहाँहरूले त्यस्तो अभिव्यक्ति दिनुभएको हो भन्न कुनै गाह्रो छैन तर त्यस अभिव्यक्तिले उहाँहरूलाई निर्वाचनमा विजयी बन्न सजिलोभन्दा पनि अझै असजिलो भइरहेको होला भन्ने जनताले ठानिरहेका छन् । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गरिरहनु भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अवस्था यस्तै छ । आफ्नै भनाइले उहाँ अप्ठ्यारोमा परिरहनुभएको छ ।

२०४८ सालमा कृष्णप्रसाद भट्टराईले जस्तो नियति भोग्नुपरेको थियो भोलि थापाले पनि सोही नियति भोग्नु प¥यो भने त्यसलाई कुनै नौलो मान्नुपर्ने छैन । किनभने विपक्षी त विपक्ष नै भइहाले पार्टीभित्रैबाट अन्तरघातको व्यापक सम्भावना देखिएको छ । नेपाली कांग्रेसमा यस्तो परम्पराको बिउ २०४८ सालमै रोपिएकै हो । त्यो अहिले त अझै झांगिएर गएको छ । थापाका विरुद्धमा केही स्वतन्त्र उम्मेदवार पनि उठाइएका छन् र नेपाली कांग्रेसको सिद्धान्तमा आबद्धहरूको मत नै अन्यत्र पनि छरिएर जाने एकीकृत हुन नसक्ने अवस्था छ । त्यस अर्थमा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धी बन्दै गएको छ तर जे-जति प्रतिस्पर्धी बने पनि निर्वाचन मर्यादित बन्नुपर्छ, धाँधली हुनुहुँदैन र हिंसात्मक बन्नु हुँदैन । जनताको मताधिकार प्रयोग हुनुपर्छ र आफ्नो मताधिकार प्रयोग गर्न जान जनताले निर्वाध रूपमा पाउनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?