एकपछि अर्को विपत्तिमा देश

देश अहिले निर्वाचनको संघारमा छ । राजनीतिज्ञहरूको ध्यान निर्वाचनमै केन्द्रित छ । यसो हुनु स्वाभाविक हो तर यही बेलामा देशमा फेरि अर्को विपत्ति आइपरेको छ । मंगलबार राति पश्चिम नेपालको डोटीलगायत ठाउँमा शक्तिशाली भूकम्प गएको छ । यो निकै शक्तिशाली भूकम्प हो । यसको तरंग पश्चिम नेपालका प्रायः सबै ठाउँमा थाहा भएको छ भने राजधानी काठमाडौंमा समेत महसुस भएको थियो । यस भूकम्पबाट केही मानिसहरूको दुःखद् निधन भएको छ भने धेरै मानिस घाइते भएका छन् । अहिलेसम्म पनि यसका पराकम्प गइरहेका छन् । यस्ता घटना जहिले भए पनि पीडादायी त हुने नै भए, अझै निर्वाचनको मुखमै भएका कारण यसतर्फ सरकार तथा रानजीतिज्ञहरूको ध्यान नपुग्ने हो कि भन्ने चिन्ता बढ्न पुगेको छ ।

यही सात आठ वर्षको अन्तरालमा नेपालले यस्ता धेरै विपत्तिको सामना गर्नु परेको छ । एकपछि अर्को यस्ता विपत्ति भोग्ने क्रममा हालको यो भूकम्प पछिल्लो विपत्ति हो । २०७२ सालको महाभूकम्पमा भएको धनजनको क्षति उल्लेख गर्नै नसकिने खालको छ । त्यो महाभूकम्पपछि महसुस गर्न सकिने गरी पाँच हजारभन्दा बढी र तीन रेक्टरस्केलभन्दा मुनिका हजारौंको संख्यामा ठूला-साना पराकम्प गएका थिए । त्यसबाट धेरैको विचल्नी भएको थियो । दश हजारभन्दा बढीको मृत्यु र हजारौंका संख्यामा विकलांग भएका थिए । त्यो महाभूकम्पको घाउ पुरिन पाउँदानपाउँदै संसार व्यापी बनेर कोरोना महामारी फैलिन पुगेको थियो जसको चपेटामा नेपाल पनि पर्‍यो । लामो समयसम्म व्यापार व्यवसाय बन्द रहे, मानिस घरघरमा बन्दी बन्नुपर्‍यो ।

पटक–पटक अनेकौं भ्यारियन्टको रूप धारण गर्दै एकपछि अर्को लहरका रूपमा फैलिएको कोरोनाका कारण नेपालमा धेरै मानिसले ज्यान गुमाउनु प¥यो । अहिले वातावरण सहज बनेको भए पनि कोरोनाको प्रभाव हाल पनि निमिट्यान्न भइसको छैन । कोरोनाको कहर बाँकी छँदै पुनः डेंगुको संक्रमण फैलियो । डेंगुबाट पनि हजारौंको संख्यामा मानिसहरू प्रभावित भइरहेका छन् । पहिले सामान्य मानिएको डेंगुले विस्तारै महामारीको रूप धारण ग¥यो । गत विगत वर्षमा पनि फैलिने गरेको डेंगुलाई सामान्य मानियो तर यस वर्ष यसले निकै भयावह रूप लियो र धेरै संख्यामा मानिसहरू प्रभावित भए । धेरै मानिसको ज्यान पनि गयो । कोरोना संक्रमणसमेत भएर निको भएका र पुनः डेंगु संक्रमित भएका मानिसको अनुभवमा कोरोनाभन्दा डेंगु खतरनाक रहेछ भन्ने छ ।

डेंगुको महामारी अझै समाप्त भइसकेको छैन । चिसो सुरु भइसकेपछि यसको प्रभाव समाप्त हुन्छ भनिएकोमा यो अझै पनि सक्रिय नै छ । यसरी विगत सात आठ वर्षको अन्तरालमा नेपालले अनेक थरी विपत्तिको सामना गर्नु परिरहेको छ । हालैको यो भूकम्पको प्रभाव भने ताजै छ । राजनीतिज्ञको ध्यान पनि निर्वाचनतिरै छ । त्यसैले भूकम्प प्रभावितको उद्धार र राहततर्फ ध्यान नपुग्ने हो कि भन्ने चिन्ता छ । सरकारमा बसेका मानिस पनि निर्वाचनमा उम्मेदवार बनेका छन्, त्यो तिनको अधिकारको कुरा हो तर तिनको ध्यान निर्वाचनमा मात्र केन्द्रित हुनुहुँदैन । विपत्तिमा परेकातर्फ कुनै हालतमा बेवास्ता गरिनु हुँदैन । सरकार भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हो ।

पहिलेको कुरा त उनीहरूको उद्दार यथाशीघ्र गर्नुपर्छ भने त्यसपछि घाइतेहरूको उपचारको व्यवस्था गरिनुपर्दछ । तिनीहरूको चहर्‍याइरहेको घाउमा मलम नलगाइकन त आसन्न निर्वाचनमा त्यस्ता पीडामा परेका परिवार संलग्न हुन सक्दैनन् । मृतकहरूको सद्गतका लागि र घाइतेहरूको उपचारका लागि सरकारले सहयोग गर्नुपर्छ र त्यस्तो व्यवस्था तुरुन्तै मिलाउनुपर्दछ । त्यसपछि तिनीहरूको बस्ने खाने प्रबन्ध मिलाउनुपर्ने हुन्छ । घरहरू भत्केका कारण तिनको पुनर्निर्माण गर्नु उत्तिकै आवश्यक छ । यी सबै कार्य उत्तिकै आवश्यक छन् तैपनि एकै पटक त्यसको सम्भावना छैन ।

त्यसैले क्रमिक रूपमा तिनको प्राथमिकता मिलाएर सम्पन्न गरिनुपर्ने हुन्छ । जनता विपत्तिमा पररहेको बेला राजनीति गर्नेहरू रमिते बन्नु हुँदैन । त्यसैले जहाँ विपत्ति आइपर्‍यो त्यहाँका स्थानीय राजनीतिज्ञले त त्यसको जिम्मेवारी लिएर समाधानतर्फ लाग्नैपर्छ साथै केन्द्रबाट समेत यथाशीघ्र पीडितको उद्दार, उपचार र राहतका लागि दत्तचित्त भएर लाग्नुपर्छ । यस्ता कार्यका लागि कुन पार्टीको र कसका पक्षको मानिस भनेर सोच्नु हुँदैन । जनता सबैका साझा हुन्छन्, सबै पार्टी र सबै पक्षका हुन्छन्, कसैका निजी हुँदैनन् । यसतर्फ सबैको सोचाइ पुग्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?