मतदान अधिकृतहरूलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन

‘कसैको आस वा त्रासमा नपरी निर्वाचन सम्पन्न गराउनु’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनमा कसैको आस वा त्रासमा परेर नभई त्यसभन्दा माथि उठेर निर्वाचन सम्पन्न गर्ने भूमिका रहेको बताउनुभएको छ । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने भन्दै तटस्थताको वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहन रूपमा महसुस गरेर काम गर्न निर्देशन दिनुभयो । मतदाताको सार्वभौम मतको उपयोगलाई सहज रूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खटिन आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई आग्रह गर्नुभएको छ ।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सत्य सेवा सुरक्षणमको संकल्पसहित प्रहरीले स्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर काम गर्न निर्देशन दिनुभयो ।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिइएको स्पष्ट गर्दै उहाँले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सहभागी कार्यक्रममा शिक्षालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक सन्दीप भण्डारीले आयोगको निर्देशनबमोजिम निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गर्नुभएको थियो ।

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन
निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो । आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन शुक्रबार निर्देशन दिइएको छ । संविधानको धारा २४७ मा आयोगलाई आफ्नोे काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था भएको आयोगको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?