किन यस्तो सन्देह ?

आजको एक हप्तापछि नेपालमा निर्वाचन हुँदैछ । त्यस अर्थमा अब निर्वाचनले छोपिसक्योभन्दा फरक पर्दैन । राजनीतिक पार्टीहरू र निर्वाचनमा उम्मेदवार बनेका नेताहरूका लागि दिन र रातमा कुनै भेद नै छैन र दिउँसोमात्र होइन रातको समयमा समेत उनीहरू निर्वाचनको प्रचारप्रसारमै तत्लीन छन् । गाउँघरकालाई भन्दा शहरी क्षेत्रका उम्मेदवारलाई निकै नै सजिलो छ । गाउँमा उकाली ओराली र सबैतिर बिजुली नभएका कारणले पनि त्यहाँ टाढा टाढासम्म हिँडेरै जानुपर्ने हुन्छ । गाउँका मानिसमा बेफुर्सदी पनि बढी नै हुने गरेकाले गाउँबस्ती र कृषकहरूका खेतखलियानमै पुगेर पनि नेताहरूले मत मागिरहेको अवस्था छ । हालको बालीनाली भित्र्याउने बेला पनि हो ।

त्यसैले यस्तो परिस्थिति बन्न पुगेको हो तर यत्रो आमनिर्वाचनमा देश होमिरहेको हुँदा त्यसमा भाग लिने नेताहरूले जे जस्तो परिस्थिति आइपरे पनि त्यसको सामना गर्नै पर्नेहुन्छ । उनीहरूले त्यस्तो परिस्थितिको सामना गरिरहेकै पनि छन् । निर्वाचनमा केही अस्थीरता हुन सक्छ । केही पार्टीहरूले निर्वाचन बहिष्कारै पनि गरेका छन् । तिनले केही अराजक कार्य गर्लान् कि भन्ने सन्देह निश्चय पनि पैदा भएकै छ तर एउटा सिंगो राज्यप्रणाली केही सामान्य अवस्थाबाट भयभीत बन्नु हुँदैन । त्यसका लागि बरू के कस्ता तयारी गर्नुपर्छ त्यसका लागि अहिलेदेखि नै तयारीका कार्यहरू गर्नुपर्ने हुन्छ । राजनीतिक पार्टीहरूमा पनि केही सन्देह छ तर यस्ता सन्देहलाई चिर्दै र त्यसको सामनाका लागि तयार भएर नै उनीहरू यस्ता चुनावी अभ्यासमा छन् ।

हालै प्रमुख निर्वाचन आयुक्तले नै फर्जी मतदानकको खतरा देखाएर चनाखो रहन सबैलाई सचेत गराउनुभएको छ । यो उहाँको सबैलाई सचेत गरउने अभिव्यक्तिमात्र हुनसक्छ । भयको मानसिकताको अभिव्यक्ति होइन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष नबनाई धाँधलीको सहाराले आफू विजयी बन्ने प्रयासमा रहेका केही पार्टी र व्यक्तिहरूबाट हुनसक्ने खतराप्रतिको उहाँको सचेततापूर्ण निर्देशन हुनसक्छ यो । तर, यसबाट पनि केही सन्देहहरू भने जन्मिएका छन् । फर्जी मतदान हुनसक्ने सम्भावना यसबाट देखिन आएको छ । केही राजनीतिक पार्टीहरूले त्यस्तो फर्जी मतदातालाई निर्वाचनमा संलग्न गराउने कार्यको पूर्वअभ्यास गत स्थानीय तहको निर्वाचनकै बोलादेखि नै गर्दै आएका हुन् ।

मतदाता नामावलीमा नाम थप गर्ने बेलामै अर्को राजनीतिक विचार राख्नेहरूलाई थप गर्न दिइएको थिएन । जहाँ-जहाँ तिनीहरूको वर्चश्व थियो त्यहाँ-त्यहाँ निर्वाचन आयोगबाट नामावलीमा नयाँ मतदाताहरूको नाम थप गर्न पठाइएका कर्मचारीलाई समेत आफ्नो प्रभावमा पारेर कुनै पदाधिकारीको घरैमा लगेर दुईतीन दिनसम्म आफ्ना पक्षका नयाँ नाम थपेका थिए । निर्वाचन आयोगमा यसको उजुरी परेको थियो, त्यस्ता ठाउँँका मानिस डेलिगेसन पनि गएका थिए तर आयोगले त्यसको सुनुवाइ गरेन र तिनका कामलाई स्वीकृति दियो । निकैपछि केही नामहरू नामावलीबाट हटायो र दोहोरो नामावली भएकालाई एकातिर मात्र कायम गरायो ।

तर, यो प्रयासमात्र पर्याप्त होइन, अझै धेरै फर्जी मतदाता त नामावलीमै नाम लेखाएर वैध बन्न पुगेका छन् । यस्ता कुरामा आयोग जानकार छ । त्यसकारण आयोगले संकेत गरेको कुरामा मात्र होइन संकेत नगरेका कुरातर्फ व्यापक अनियमितता छ । तर, अब त्यसको शुद्धीकरण हालका लागि सम्भव छैन जे जति सकिन्छ त्यसको मात्र निराकरण गर्दै जाने हो । त्यसकारण राजनीतिक पार्टी, नेताहरू, सरकार तथा निर्वाचन आयोग सबै मिलेर यस्ता समस्या जहाँ-जहाँ फेला पर्छन् तिनलाई त्यही-त्यही ठाउँबाट हटाउँदै जानु तत्कालको समाधान हुनसक्छ । आयोगले अवाञ्छित तत्वहरूलाई कारबाही गर्ने जुन प्रतिबद्धता जाहेर गरेको छ त्यो आवश्यक छ र त्यो प्रसंशनीय अभिव्यक्तिसमेत हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?