मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमति लिनु नपर्ने

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते मतदानको दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको जनाएको छ । आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको हो । यस्तै, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पास लिनु नपर्ने निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताको सवारी साधनका लागि पनि अनुमति आवश्यक नपर्ने दुवाडीले बताउनुभयो । सचिव दुवाडीका अनुसार फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटका सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कूटनीतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरूमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनलाई पनि अनुमति आवश्यक छैन ।

आयोगले अशक्त व्यक्तिहरूको हकमा समेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमतिपत्र दिने व्यवस्था गरेको जनाएको छ । त्यस्तै, पूर्ण अपांगता भएका वा ‘क’ वर्ग र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूको हकमा पनि परिचयपत्रको आधारमा सवारीसाधन प्रयोग गर्दा अनुमति नचाहिने बताइएको छ ।

‘कतिपय अत्यावश्यकीय सेवा प्रवाहका सन्दर्भमा सञ्चालित हुने सवारीका लागि अनुमति आवश्यक नपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवाको हकमा भन्ने हो भने बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन, त्यस्तै अन्य अत्यावश्यकीय सेवामा, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन र निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक पर्दैन,’ सचिव दुवाडीले भन्नुभयो । अन्यको हकमा भने सम्बन्धित निर्वाचन अधिकृतले आवश्यकताको आधारमा अनुमति दिने व्यवस्था गरेको आयोगले जनाएको छ । मानवीय उद्धार तथा सहायता एवं आपतकालीन अवस्थामा प्रयोग गर्ने सवारीसाधनको हकमा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीले व्यवस्थापन गर्न सकिने आयोगले जनाएको छ ।

निर्वाचन तयारीबारे आयोगले दियो कूटनीतिज्ञलाई जानकारी
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोग केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरूको बारेमा विस्तृत जानकारी गराउनुभयो । उहाँले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको तीन घेरा कायम हुने गरी व्यवस्था मिलाइएको बताउनुभयो । भट्टराईले तीनवटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा आठ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो । कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले संविधानमा उल्लेख भएअनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए ।

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?