राजनीति पदकै लागि मात्र हो !

राजनीति राष्ट्रको सबैभन्दा ठूलो नीति हो । नीतिहरूको पनि नीति भएकाले यो राजनीति भएको हो । तर, कालान्तरमा जे कुराको पनि परिभाषा र अर्थान्तरण हुने भएका कारण हालका दिनमा राजनीतिको समेत अर्थान्तरण भएको छ । जाल-झेल, षड्यन्त्र, झुट, घुरखोरी भ्रष्टाचार राजनीतिका पर्याय हुन् भनेर हालका दिनहरूमा अर्थबोध हुने गरेको छ । यो राजनीतिको खस्किँदो अवस्थाको प्रतिबिम्ब हो । सबैले राजनीति गर्दैनन्, कोही जागिर खान्छन, कोही व्यापार गर्छन्, कोही खेती-किसानी गर्छन् । केही सीमित मानिस राजनीति गर्छन् । तिनै सीमित राजनीतिक मानिसहरूको कार्यले देश सञ्चालित हुन्छ । राजनीति गरेर संसद्मा पुगेकाहरूले निर्माण गरेको कानुनले राष्ट्र चल्छ । सरकारमा पुगेकाहरूले देशको दैनिक कार्यपालिकीय काम गर्ने गर्छन् । तर, तिनीहरूमा नैतिक दायित्व र मर्यादा रहेन भने देश प्रगतितर्फ होइन अधोगतितिर जान्छ ।

हाम्रो देशमा राजनीति र राजनीतिज्ञहरूप्रति जनताको सम्मानभाव पैदा हुन सकेको छैन । राजनीतिज्ञलाई जनताले आदरणीय, स्तुत्य र पूज्य मान्न सकेका छैनन् । यो सबै तिनीहरूको प्रवृत्तिका कारण जनतामा सिर्जना हुन पुगेको भाव हो । राजनीति पेशा, व्यवसाय होइन । यो त समाजसेवी कार्य हो भन्ने गरिन्छ । यस विषयमा बहस हुँदै आएको छ तर हाम्रोमा भने राजनीतिलाई पेशा बनाइँदै आएको छ । राजनीति गरेर पदहरू प्राप्तिपछि सेवा कति गरियो भनेर लेखाजोखा हुने गरेको पाइँदैन । विकास निर्माणका कार्य ओझेलमा पर्छन् । देखावटी रूपमा केही विकास निर्माणका कार्य हुन्छन् तर ती जनतालाई देखाउनकै लागि मात्र गरिने भएकाले छिट्टै बिग्रिन्छन् । ठेकदारहरूसँगको मिलेमतामा राजनीतिज्ञहरूले नै तिनलाई त्यस्तो कच्चा कामका लागि प्रेरित गरेका हुन्छन् ।

यसले गर्दा परिणाम राम्रो निस्कँदैन, किनकि राजनीतिज्ञहरूले निर्वाचनमा धेरै पैसा खर्च गरेका हुन्छन् । निर्वाचनमा विजयी भएपछि आफूले गरेको खर्च उठाउने र त्यसभन्दा पनि अझै धेरै गुणा कमाउने सोच तिनको रहेको हुन्छ । त्यसले गर्दा भ्रष्टाचारको बाटो तिनले खोज्ने गर्छन् । हाम्रो देशको राजनीति सङ्लो, स्वच्छ र निर्मल बाटोबाट अगाडि बढ्न सकेको छैन, तैपनि राजनीति गर्ने चाहना धेरैको हुन्छ । राजनीति गर्नेहरू सबैको चाहना विजयी बन्ने नै रहेको हुन्छ । विजयी बन्नेमात्र होइन सांसद भइसकेपछि मन्त्री बन्ने रहेको हुन्छ । अझै केही अग्रपंक्तिका व्यक्तिहरूले त प्रधानमन्त्री बन्ने चाहना राखेका हुन्छन् ।

आफू सकेसम्म माथि पुग्ने चाहना सबैको हुन्छ, त्यो स्वाभाविकै हो । नेपालको सबैभन्दा उच्च कार्यकारी पद भनेको प्रधानमन्त्री हो । त्यसभन्दा माथि आलंकारिक रूपमा राष्ट्र पनि पद रहेको छ । अहिले पनि राष्ट्रका रूपमा आलंकारिक पद ओगटेर बस्नुभन्दा कार्यकारी प्रधानमन्त्रीमा धेरै व्यक्तिहरूले इच्छा राखेका छन् । पूर्वप्रधानमन्त्रीहरूमध्ये धेरैजसो चुनावी मैदानमै रहनुभएको छ । उहाँहरू प्रधानमन्त्री भइसकेको मानिस भएकाले अब निर्वाचित भएर आएपछि उहाँहरूको दाबी प्रधानमन्त्री नै हो । यसभन्दा पहिले मन्त्री प्रधानमनत्री भएका र हालको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका केही व्यक्ति पनि आफू प्रधानमन्त्रीको दावेदार हुँ भनिरहनु भएको छ ।

उहाँहरूको यस्तो दबी हालका लागि जनतालाई प्रभाव पारी मत हात पार्नु रहेको हुनसक्छ । प्रधामन्त्री एकजना हुने हो, यसमा दबी दशौं जनाको छ । ती दावेदारहरू सबै विजयी नबन्लान्, विजयी बनेर आए पनि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्नैपर्छ । यसका लागि पनि आफ्ना पक्षका व्यक्तिहरू बहुमत संख्यामा सांसद पदमा विजयी हुनु जरुरी छ । यस्ता कुरा भन्ने र सुन्ने दुवै पक्षले राम्ररी बुझ्नुपर्छ । त्यसलाई मनन् गर्ने, निष्कर्ष निकाल्ने र त्यसलाई विश्वसनीय बनाउन सक्नुपर्छ । प्रधानमन्त्रीका रूपमा नेपाली जनताले कुनै व्यक्तिलाई होइन प्रवृत्ति र भरपर्दो नेता चाहेका छन् । त्यसका लागि योग्य, उपयुक्त नेताले मात्र प्रधानमन्त्रीको पदमा दाबी गर्नु उचित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?