मतदाता शिक्षाप्रति बेवास्ता

मतदाता शिक्षा मतदाताहरूका लागि अपरिहार्य नै छ । राष्ट्रिय जनमत संग्रहका बेला एकातिर निर्दल वा पञ्चायतको पहेंलो र अर्कातिर बहुदलको नीलो चिहृन भएको मतपत्रमात्र थियो, तैपनि त्यसबेलाका धेरै मतदाताले मत दिन नजानेर मतहरू बदर भएका थिए । विज्ञहरू बसेर तयार गरेका मतपत्र र त्यसमा रहेका उम्मेदवारका चिहृनका कारण शिक्षित मतदाता अल्मिलिनुपर्ने हुन्छ । त्यसमा पनि अहिले त संघीय संसद्, प्रदेश संसद् यी दुवैमा समानुपातिक मतदान गर्नुपर्ने भएकाले मतदाताहरू नअल्मलेलान् भन्ने छैन । त्यसका लागि मतदाता शिक्षा त अपरिहार्य नै हुन्छ । यो कार्य जति आवश्यक छ त्यस अनुपातमा मतदाता शिक्षा दिइएको पाइएको छैन ।

यही कारणले गत स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएका थिए । अर्कातिर दलहरूबीच चुनावी गठबन्धन भएकाले मत बदर हुने सम्भावना बढेर गएको छ । एउटा दलको एउटै चिहृनमा मत दिन त निकैबेर घोरिनुपर्ने हुन्छ, त्यसमा पनि फरक पार्टीका फरक-फरक चिहृनमा मतदान गर्न सामान्य मतदातालाई सजिलो छैन । चिहृन खोजीखोजी मतदान गर्नुपर्ने हुन्छ । अशिक्षित मतदाता र बुढाबुढीलाई यसका लागि अरूलाई भन्दा बढी कठिनाइ छ । अरू शिक्षित, पढेलेखेका मतदाताहरूकै लागि यो काम असजिलो छ । यसका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्नुपथ्र्यो ।

त्यस अपेक्षाअनुसार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनमा भएको बदर मतलाई हेरेर अहिले व्यवस्थित गर्नुपथ्र्यो । हुन त यो निर्वाचन आयोगको मात्र काम होइन । दलहरूले पनि आफ्ना मत संरक्षण गर्न आफ्ना मतदातालाई मतदाता शिक्षा दिनसक्थे, उम्मेदवारहरूले आफैँ पनि आफ्ना मतदाताका लागि आफ्ना निर्वाचन क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्न सक्थे । अहिले समय छँदा नगरेर पनि बदर भएका मत हेरेर ती मतहरू मेरै हुन्, जनताले सही किसिमले मतदान गर्न सकेका भए मैले जित्नेरहेछु भनेर पराजितहरूले पछुतो गर्नुपर्ने अवस्था आउन सक्छ । गत स्थानीय निर्वाचनमा यस्तो परिदृश्य देखिएकै हो । अहिले त्यस्तो अवस्था दोहोरिनु परेर पनि नचेत्नु त्यसैको पुनरावृत्ति हो । अझै सकेसम्म कम मत बदर हुने अवस्था सिर्जना गर्नु बुद्धिमत्ता हो ।

यसका लागि मतदाता आफैँ सचेत रहनुपर्छ तर समग्र निर्वाचनप्रति जनताको उत्सुकता कम भइरहेको वर्तमान अवस्थामा मतदाता शिक्षा लिने जस्ता कार्यमा तिनको त्यति रुचि पाइएको छैन । तर, तिनलाई रुचि जगाउन नसक्नुमा आयोग, दल तथा उम्मेदवारहरू सबैको कमजोरी हो भन्न हिच्किचाइरहनु पर्दैन । अझै दुई ध्रुवीय गठबन्धन भइरहेको वर्तमान निर्वाचनमा आफूले गरेको गठबन्धनका बारेमा दल र दलका उम्मेदवारले सम्पूर्ण मतदातालाई पर्याप्त रूपमा बुझाउन सकिरहेको अवस्था छैन । यस कुरामा आयोग अनभिज्ञ रहनु स्वाभाविक हो । आयोगले भनि पनि सकेको छ-आयोगले दललाई चिन्छ गठबन्धनलाई चिन्दैन भनेर ।

आयोगले त्यसो भन्नु स्वाभाविक हो तर आयोग पनि यसरी सम्पूर्ण रूपमा पन्सिनु चाहिँ हुँदैन । मतदाता शिक्षाकै लागि छुट्याइएको करोडौं रकम केही कर्मकाण्ड पूरा गरेर सक्ने कार्य उचित हो भन्न सकिँदैन । पैसा छैन भनेर जतिसुकै बाहिर भन्ने गरे पनि पार्टीहरूसँग पैसा नभएको चाहिँ होइन । त्यसको सदुपयोग यस्तै कामहरूमै हुनुपर्ने हो । अझै उम्मेदवारको त कुरै भएन । उनीहरूसँग जति पैसा छ, निर्वाचनमा तिनीहरूले जति पनि पैसा खर्च गर्न सक्छन् । त्यहीमध्येको केही रकम मात्र मतदाता शिक्षामा खर्च गर्ने हो भने त्यसबाट परिपक्क बनेका मतहरू के थाहा उनीहरूलाई नै आउनसक्ने थिए कि ? अझै बाँकी रहेका थोरै दिनमा यसतर्फ केही गर्न सकिन्छ कि त्यस प्रयासमा लाग्दा उचितै हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?