बाध्यताको भुँमरीमा नेपालीहरू

अहिले हामी निर्वाचनको महापर्वमा छौं । एक प्रकारले भन्ने हो भने यो रमाइलो पर्व पनि हो । हामीले वर्षै पिच्छे मनाउने चाड दशैँ तिहार त वर्ष वर्षमा आई नै रहन्छन् ती भन्दा पनि पाँच वर्षमा एक पटकमात्र आउने यस्ता आमनिर्वाचन भने झन् महापर्व नै हुन् । त्यस अर्थमा निर्वाचनमा सबै नेपाली मतदाता समावेश हुनुपर्ने थियो तर धेरै नेपाली विदेशमा भएका कारण तिनको नामको मत खस्दैन भन्ने पक्का छ । यदि खस्यो भने त्यो अर्कैका नाममा फर्जी मतदान हुन्छ । यसो नहुनुपथ्र्यो तर नेपालीहरूको नियति, उनीहरू बाध्यतावस विदेशी जानैपर्छ ।

यस पटकको परिदृश्य विगतभन्दा फरक छैन । देश निर्वाचनको महापर्वमा छ तर धेरै नेपालीहरू अहिले हृवारहृवार विदेशतिर लागिरहेका छन् । उनीहरूको यो बाध्यतालाई कसैले रोक्न सक्दैन । किनभने उनीहरूका लागि निर्वाचनभन्दा आफ्नो कार्यस्थल विदेशतिर लागेर केही कमाइ गरेर यता पठाउने सक्ने हो भने घरखर्च चल्छ, श्रीमती आवश्यकता र छोराछोरीहरूको पढाइ खर्चको बन्दोबस्त हुनेछ भन्ने तिनको सोचाइ रहने गर्छ । यसलाई नकार्न मिल्दैन । यथार्थ भने पनि यही हो र बाध्यता भने पनि यही हो । यहाँ बसेर राम्रो नेता छान्न सके त्यसले देश बनाउन नसके पनि बिगार्ने चाहिँ थिएन भन्ने तिनलाई लागेके होला तर आमनिर्वाचनको पर्वमा संलग्न हुँदा आफ्नो रोजीरोटी नै गुम्ने खतरा हुनसक्छ ।

त्यसो हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट दैनिक बाहिरिने हजारौं संख्यामा हुनेगरेका छन् । यो त एउटा परिदृश्यमात्रै हो । त्यहाँ विभिन्न ढंगले अभिलेख राख्नाले कति नेपाली दैनिक विदेशतिर लागे भनेर हेर्न र थाहा पाउन सकिन्छ । तर, त्यसभन्दा कैयौं गुणा बढी त छिमेकी राष्ट्र भारततर्फ लागिरहेका हुन्छन् । यसरी जानेहरूको अभिलेख राख्ता पनि राखिँदैन र राखे पनि त्यो चुस्त र दुरुस्त नहोला भन्ने कुरामा द्विविधा छैन । भारतीय भूमिमा बसेर केही पैसा कमाएर नेपालमा पठाई घरव्यवहार धान्नेहरूको संख्या निकै होला, त्यो भनिरहनु पर्दैन । तर, तिनलाई न राष्ट्रले नै रोक्न सकेको छ न हाल संघारमै आएको निर्वाचनको आकर्षणले नै रोक्नसक्यो ।

मतदान नागरिक हकको प्रयोग पनि हो । लोकतान्त्रिक मुलुकमा यो अपहिार्य छ तर त्यसले पनि ती नेपालीहरू बाहिर जानबाट रोकिएनन् । यतिमात्र होइन तिनको मत लिएर आपूm निर्वाचित हुन चाहने कुनै उम्मेदवारले पनि तिनलाई रोक्न सकेनन् । त्यसैले एकातिरको कुण्ठा र अर्कातिरका सुनौला सपना सँगाल्दै दैनिक हजारौंको संख्यामा नेपालीहरू आफ्नो माटाको माया लागेर पनि विदेशका लागि श्रम बेच्न त्यतातिर लागिरहेका छन् । यसरी विदेशिनेका लागि दशैँ तिहारलगायत पर्वसमेत नमनाई हिँड्नुपर्ने अवस्था आइपर्न सक्छ र यस्ता महापर्वका रूपमा आउने आमनिर्वाचनहरू समेत त्याग्नुपर्ने बाध्यता आउँछ । जुन कुरा वास्तविक र यथार्थ बनेर हालका दिनहरूमा देखिएकै छ ।

हाम्रा नेताहरूले स्वदेमै रोजगारी सिर्जना गर्ने भन्ने कुरा आफ्नो घोषणापत्रमा पनि लेखेका छन् । ती आश्वासनका पुलिन्दामात्र बन्नु हुँदैन । भोलिका दिनमा जो विजयी बनोस् जो संसद्मा पुगोस् र मन्त्री वा प्रधानमन्त्री बनोस् तिनले खोलो तरिसकेपछि लौरो बिर्सने काम भने गर्नु हुँदैन । युवाहरू राष्ट्रको माया नभएर त्यसरी विदेशिएका होइनन् त्यो तिनीहरूको विवशता हो । तिनको विवशतालाई राष्ट्रले बुझिदिनुपर्छ र ती उपहासका पात्र पनि बन्नु हुँदैन । बरू राष्ट्रले तिनलाई रोजगारी यहीँ दिएर युवाहरूको श्रमको सदुपयोग आफ्नै राष्ट्रले गर्ने प्रबन्ध मिलाउन सकेका खण्डमा उनीहरूको परिश्रमले आफ्ना देशको माटो सिञ्चन हुनेथियो । सर्वजन हिताय र सर्वजन सुखायको मन्त्रअनुसार सबैले काम गर्न सके युवाअवस्थाको उनीहरूको श्रम नेपाली माटोमै पोखिने थियो, राष्ट्र अलिक बढी समृद्ध बन्न सक्थ्यो भन्ने अपेक्षा गर्नु अन्यथा हुनेछैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?