स्थिर समय र निर्वाचनका दिन नियोकले २ हजार पर्यवेक्षक परिचालन गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लाहरुमा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ ।

नियोकले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बौल्दै नियोकमा महासचिव देविकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलहरुबीच झडप, दलका नेता र उम्मेदवारहरुबाट निर्वाचन आचारसंहीताको उल्लंघन र प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताउनु भयो ।

उहाँले नियोकले असोज महिनाको अन्तिम साताबाट नै निर्वाचन पूर्वअवधिको प्रर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिमप्राप्त दीर्घकालीन पर्यवेक्षकहरु खटाएको बताउनु भयो ।

महासचिव तिमिल्सिनाले पर्यवेक्षकहरुले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरी आफ्नो आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताउनु भयो । उहाँले नियोकले निर्वाचनको दिन र स्थिर समयको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा करिव २ हजार छोटो अवधिका पर्यवेक्षकहरु परिचालन गर्ने बताउनु भयो ।

उहाँले छोटो अवधिका पर्यवेक्षकअन्तर्गत १५० जना राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्र लक्षित स्थिर र घुम्ती पर्यवेक्षकहरु रहेको पनि स्पष्ट पार्नुभयो । नियोकले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्रको व्यवस्था लगायत कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । त्यस्तै निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रिय स्तरमा डाटा सेन्टर को स्थापना गर्ने भएको छ । मतदानको दिन मतदान केन्द्रहरुमा खटिएका नियोकका पर्यवेक्षकसँग एसएमएस प्रविधिमार्फत नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र संप्रेषण गर्ने उद्देश्य रहेको महासचिव तिमिल्सिनाले बताउनु भयो ।

उहाँले डाटा सेन्टरमा मतदानको दिन मतदान स्थलमा कुनैपनि अप्रिय घटना भए त्यसमको विववरण डाटा सेन्टरमा राखिएका (९८००८३४१४७ र ९८४१४५५५०४) नम्बरमा सम्पर्क गर्नसक्ने बताउनु भयो ।

नियोकले आस्न्न निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?