भारतबाट मतहाल्न घर फर्किंदै नेपाली

रासस
Read Time = 6 mins

महेन्द्रनगर । कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह बिहीबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किंदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदुरीका लागि भारतको सिमला पहाड पुग्नुभएका सिंहले परिवारका सदस्यसहित यही मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न आएको बताउनुभयो । ‘गाउँघरबाट भोट हाल्न सबले आउनुपर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ,’ वृद्ध सिंहले भन्नुभयो, ‘जीवनभर मतदात गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदुरी गर्नुको विकल्प भएन ।’ उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिनुभयो । ‘चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियति छ,’ उहाँले भन्नुभयो, ‘देशको व्यवस्था फेरिए पनि मजदुरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन ।’ उहाँले आफू लामो समयदेखि भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएको बताउनुभयो ।

त्यसैगरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाउनुभयो । ‘यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त हो नि,’ उहाँले भन्नुभयो, ‘हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।’ उहाँले निर्वाचनका बेलामात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडेअनुसारको काम नभएको बताउनुभयो । ‘हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘यो हाम्रो रहर नभई बाध्यता हो ।’

उहाँसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आउनुभएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न सुझाव दिनुभयो । ‘चुनाव जित्ने अनि लाभका पदका लागि आफन्तलाई मात्रै हेर्नाले देशको विकास भएन,’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रदेखि गणतन्त्र आइसक्दासम्म मुलुकभित्र रोजगारीको सम्भावना खोजी नहुनु दुखद विषय हो ।’ उहाँले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताउनुभयो ।

‘ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ नेताहरूले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिकरूपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिरमर्का नबुझ्नेलाई यसपटक प्रतिनिधि चुन्दैनौँ,’ रानाले भन्नुभयो, ‘गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौँ ।’

त्यसैगरी भारतको नयाँदिल्लीबाट स्वदेश फर्किनुभएका मदनराज पन्तले पनि नेताप्रति आक्रोश व्यक्त गर्नुभयो । ‘जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘भारतमा मजदुरी गरेर घरखर्चका लागि मजदुरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।’

त्यस्तै, नारायणगढको देवघाटका मनिराम भुजेलले गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाउनुभयो । सात महिनामा सिमलाबाट फर्किनुभएका भुजेलले निर्वाचनपछि पुनः मजदुरीका लागि भारत फर्किने बताउनुभयो । इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ ।

इप्रका गड्डाचौकीका प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले बिहीबार साँझसम्म चार सयसम्म नेपाली घर फर्किएको बताउनुभयो । उहाँले निर्वाचन सुरक्षाका लागि सीमानाकामा कडाइ गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको कार्यान्वयन पनि प्रहरी प्रशासनबाट भइरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?