✍️ डा. नारायणप्रसाद निरौला
शुक्र आकाशमण्डलको एक तेजश्वी ग्रह हो । सूर्यको नजिक रहने र गति पनि सूर्यकै हाराहारीमा हुने ग्रह भएकाले प्रायः शुक्र अस्त धेरै समय हुने गर्दछ । अस्तको अर्थ लोप हुनु अर्थात् हराउनु नै हो । आकाशमा शुक्र नदेखिनु नै शुक्र अस्त हुनु हो । शुक्र देखिएको अवस्थालाई उदय भनिन्छ भने आकाशमा नदेखिई कतै हराएको वा अस्ताएको अवस्थालाई शुक्र अस्त भनिन्छ । जुन बेला आकाश मण्डलमा शुक्र देखिँदैनन् । यस्तो स्थिति सबै ग्रहमा हुन्छ । विशेषगरी बृहस्पति र शुक्र अस्त भएको समयमा शास्त्रले काम्यकर्म निषेध गरेको छ । हाल पनि शुक्रास्त भएको समय हो । यसैले विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठानआदि काम्य कर्म गरिदैनन् ।
शुक्र सौर परिवारको सूर्यपछिको देदिप्यमान ग्रह हो । यो ग्रह पृथ्वीबाट ३४००००० मिल र सूर्यबाट ६७०००००० मिल दूरीमा अवस्थित छ । शुक्र वर्षमा एकपटक पृथ्वीको नजिक आउँछ जुनबेला शुक्र र पृथ्वीको अन्तर २०००००० मिल हुन्छ । स्वकक्षाको परिधिमा ३.४ अंशसम्म झुकाब लिएको शुक्रले लगभग २२४ दिनमा सूर्यलाई एक चक्कर लगाउँछ । यसको विषुवतीय व्यास ७७०० मिल छ । यसैगरी शुक्र २२७ वर्ष पछि ठिक उही तिथि मास दिन अंशमा त्यही स्थानमा आउने गर्दछ । शुक्र चन्द्रमाबाट तीनलाख उचाइको योजनमा अवस्थित छ भनी श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको छ ।
कसरी हुन्छ शुक्र अस्त ?
विशेषतः शुक्र सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हँुदा शुक्र अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य र शुक्र अत्यन्त नजिक हुनुपर्दछ । शुक्र र सूर्य एउटै राशिमा भएका बेला अस्तको सम्भावना अधिक हुने गर्दछ । शुक्र, बुध, सूर्य एक राशिमा एक महिना बस्छन् । सूर्य र शुक्रको हिँड्ने गति पनि उस्तै र नजिक भएकाले यस्तो अवस्था बेला बेलामा आइरहन्छ । शुक्र पूर्वमा अस्त भई पश्चिम दिशामा उदय हुने गर्दछन् । यस्तो हुनु भनेको शुक्र सूर्यको पूर्वी विम्बबाट प्रवेश गरी पश्चिमी भागबाट नउदाएसम्मको समय हो ।
विशेषतः शुक्र सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुँदा शुक्र अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य र शुक्र अत्यन्त नजिक हुनुपर्दछ । शुक्र र सूर्य एउटै राशिमा भएका बेला अस्तको सम्भावना अधिक हुने गर्दछ ।
विशेषतः सूर्य र शुक्रको १० कालांशको अन्तरसम्मको समयलाई शुक्र अस्त मानिएको छ (सिद्धान्तशिरोमणि, स्पष्टाधिकार श्लो ४३) । यसैगरी सूर्य सिद्धान्तका अनुसार भने सूर्य र शुक्रको ८ कालांश अन्तर भएममा शुक्रअस्त हुँने कुरा बताइएको छ :
‘पश्चादस्तमयोऽष्टाभिरुदयः प्राङ्महत्तया । प्रागस्त उदयः पश्चादल्पत्वाद्दशभिर्भृगोः ।।’ (सूर्यसिद्धान्त, ९।७) शुक्र बक्री हुँदा नीचासन्नमा ठूलो बिम्ब हुन्छ । उक्त बेला सूर्य र शुक्रको आठ कलांशान्तरमा नै शुक्र अस्त हुने गर्दछ । अन्य समयमा सानो बिम्ब हुने भएकाले सूर्य र शुक्रको दश कालांश अन्तर अघि र पछि भएको समयसम्म शुक्र सूर्यको बिम्बभित्र प्रवेश गरी हाम्रो दृष्टिपथबाट हराउने हुन्छ ।
उक्त हराएको अवस्थाको काल नै शुक्रास्त भएको समय हो । शुक्र अस्त भएको बेला सूर्य र शुक्र एउटै राशिमा रहेका हुन्छन् । रेवतीदेखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा रहेको बेला पनि अन्ध शुक्र हुने गर्दछ । यस्तो अन्ध शुक्रको भने कुनै दोष लाग्दैन भनी शास्त्रमा बताइएको पाइन्छ ।
शुक्र अस्तको प्रभाव के ?
शुक्र अस्त भएपछि शुक्र ग्रहबाट आउने तत्त्व हामीमा प्राप्त हुँदैन । शुक्र विशेषतः मज्जा तत्व प्रदान गर्ने ग्रह हो । कालो वर्णवाला, कालो केश, सुखी, सुन्दर, कफ, वायु प्रकृतिको, मृदुभाषी, अधिक वीर्यवाला शुक्र हुन्छ भनी वराहमिहिरले उल्लेख गरेका छन् : ‘ श्यामो विकृष्टपर्वा कुटिलासितमूद्र्धजः सुखी कान्तः । कफवातिको मधुरवाग्भृगुपुत्रः शुक्रसारश्च ।।’ (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.६) शुक्र अस्त भएको अवस्थामा वायुमा पनि विकार हुन सक्छ । किनकि शुक्रले वायुको पनि प्रतिनिधित्व गरेको हुन्छ अर्थात् भनौ यो वायुकारक ग्रह हो ।
कला साहित्यका साथै प्रेम तत्वको कमी पनि शुक्र अस्तमा हुने गर्दछ । शुक्रअस्तको प्रभाव जन्मकुण्डलीमा शुक्रको अवस्था अनुसार भिन्न भिन्न हुने गर्दछ । शुक्र दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नुपर्ने हो सो प्राप्त नहुन सक्ने स्थिति पनि रहन्छ । यसैगरी गोचरमा पनि शुक्रअस्त भएको समयमा शुक्रजन्य बलको कमी रहन्छ ।
शुक्रास्तमा कस्ता कार्य गर्नु हुँदैन ?
अस्त भएको बेलामा शुक्र निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ।
‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽरम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके । गोदानाग्रयण-प्रपा-प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।। दीक्षा-मौञ्जि-विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् । सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् । चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् । वृद्धत्वास्तशिशुत्व इजय-सितयोन्र्यूनाधिमासे तथा ।।’ (मुहूत्र्तचिन्तामणि, १।४६।४७) यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ : ‘न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ । अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः । तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।।’ (वायुपुराण) अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रावाहेक अन्य यात्रा नगर्नू भनिएको छ । प्रमादवश गरेमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूत्र्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।
कस्ता कार्य शुक्रास्तमा गर्नु हुन्छ ?
विशेषतः शुक्र अस्त प्रकृतिको एक नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ । शुक्र अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ : ‘शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।।’ यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ ।
शुक्र अस्त भएपछि शुक्र ग्रहबाट आउने तत्त्व हामीमा प्राप्त हुँदैन । शुक्र विशेषतः मज्जा तत्व प्रदान गर्ने ग्रह हो । कालो वर्णवाला, कालो केश, सुखी, सुन्दर, कफ, वायु प्रकृतिको, मृदुभाषी, अधिक वीर्यवाला शुक्र हुन्छ भनी वराहमिहिरले उल्लेख गरेका छन् ।
बृहस्पतिको वचनअनुसार ‘मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुक्रयोः । नदोषकृन्मलो मासो गुर्वादित्यादिकं तथा ।।’ (बृहस्पति) यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ : ‘सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै । न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।।’ (मुहूत्र्तचिन्तामणि पीयूषधाराटीका) नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य शुक्र अस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएका छन् ।
शुक्र अस्त एक प्राकृतिक चक्र हो । सूर्यको बिम्बमा परि शुक्र हाम्रो दृष्टिपथमा नआएको अवस्तथालाई शुक्र अस्त भनिन्छ । सूर्य र शुक्र एउटै राशिमा भएका बेला यस्तो अस्त हुने गर्दछ । शुक्र अस्त हुँदा शुक्रजन्य प्रभाव कम हुने भएकाले, विवाह, व्रतबन्ध आदि काम्य कर्म (कुनै फलको कामना राखी गरिने धार्मिक कार्य) गर्न निषेध गरिएको छ । यसैगरी नित्य गरिँदै आएका कार्य श्राद्ध, व्रत-उपवास, चाडपर्व रोकिदैनन् । यसैगरी निमित्तवशात् आएका कर्म नामकरण, अन्नप्राशन, मृत्युसंस्कारका कार्य आदि नैमित्तिक कार्य भने सम्पादन गर्नु हुने शास्त्रीय निर्णय पाइन्छ । शुक्रजन्य प्रभावको कमी रहने भएकाले गरिएका काम्यकर्म निष्फल हुन्छन् । यसैले काम्य कर्मका लागि भने शुक्रास्तमा शास्त्रले निषेध गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच