किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?

हिमालय टाइम्स
Read Time = 22 mins
A A- A+

बसन्त महर्जन

काठमाडौं । वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उनीसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्। बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उनी र उनका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध धर्म–दर्शनबाट विश्व लाभान्वित भइरहेको अवस्थामा आफू त्यसबारे अनभिज्ञ हुनु कतिपय नेपालीलाई निको लाग्दैन र अध्ययन तथा अभ्यास गर्नतिर लागेको पाइन्छ।

बौद्ध अध्ययन क्षेत्रमा भर्खरभर्खर मात्र प्रवेश गरेका होऊन् वा उचित मार्गदर्शन बिना नै लामो समयदेखि लागेका, धेरैले सामना गर्ने एउटा साझा समस्या हो, बौद्ध धर्म–दर्शन भनेर मात्रै नहुने, यसमा अनेकौं सम्प्रदाय तथा उपसम्प्रदायहरू हुनु। एकको कुरा अर्कोसँग मिल्दैन। कतै सम्प्रदायहरू एकआपासमा टिकाटिप्पणी गरिरहेका हुन्छन् त कतै भिन्नाभिन्नै सम्प्रदाय भएपनि खासै समस्या हुँदैन। यस्तो अवस्थामा जो कोही रनभूल्लमा पर्नु स्वाभाविक हो। यी विभिन्न सम्प्रदायहरू के हुन् रु किन र कसरी यी सम्प्रदायहरूको विकास भयो भन्ने कुराको जानकारी भएपछि धेरै बौद्ध धर्म–दर्शनको अध्ययनमा सहज हुनसक्छ।

गौतम बुद्धले ध्यान साधनाको माध्यमबाट इ.पू. ५२८ मा बोधिलाभ गरेका थिए। यो घटना भारतको बोधगयामा वैशाख पूर्णिमाको रात अन्तिम प्रहरमा भएको हो। बोधिलाभ गर्ने जो कोहीलाई ‘सम्यकसम्बुद्ध’ भनिन्छ। जन्मौंजन्मको कठोर साधनापछि बल्ल सम्यकसम्बोधि लाभ हुने हो। गौतम बुद्ध सम्यकसम्बुद्ध हुन्। आफूले लाभ गरेको ज्ञान सर्वप्रथम असार पूर्णिमाका दिन ऋषिपतनमृगदावन (सारनाथ) मा पाँच श्रमणसमक्ष सर्वप्रथाम धर्मोपदेश दिए। यस पहिलो धर्मोपदेशलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ। पहिलो पल्ट दिएको उपदेश ‘धर्मचक्र प्रवत्र्तन सूत्र’ नामबाट प्रख्यात छ। यो उपदेश सुनेर पाँचै श्रमण श्रोतापन्न (धर्मको श्रोतमा आरुद्ध भएको) भएभने त्यसपछि ‘अनात्मलक्षण सूत्र’ को देशनापछि अर्हत् भए। धर्मबोध गरी जन्म र मृत्युको चक्रबाट मुक्त भई भवचक्रमा रुमल्लिरहनु नपर्ने गरी मुक्त भएको अर्थात् अब आइन्दा फेरि जन्मनु नपर्ने गरी मुक्त भएको अवस्थालाई अर्हत् भनिन्छ। अविद्याका कारण मनुष्यलगायतका सम्पूर्ण प्राणीले बारम्वार जन्म लिइराख्नु पर्ने अवस्थालाई नै बुद्धले दुःख भनेका हुन्। र, दुःखबाट मुक्ति नै बौद्ध धर्मदर्शनको सर्वोच्च लक्ष हो।

बौद्ध धर्म–दर्शनको क्षेत्रमा मुख्यतः दुई यान छन्, हिनयान र महायान। बोधि तीन प्रकारको हुन्छ, श्रावक बोधि, प्रत्येकबुद्ध बोधि र सम्यकसम्बोधि। बुद्धको शिक्षालाई अनुशरण गरेर साधना गरी अर्हत् हुनु ‘श्रावक बोधि’ प्राप्त गर्नु हो। यसरी नै पूर्वजन्मको पुण्यको बलमा बुद्धत्व प्राप्त ‘गर्नु प्रत्येकबुद्ध बोधि’ हो। यी दुबैलाई क्रमशस् श्रावकयान र प्रत्येकबुद्धयान भनिन्छ। तुलनात्मक रूपमा धेरै साधना गर्नु नपर्ने तथा आफूमात्रै मुक्त हुने यी दुई यानको काइदा हो। लक्ष पनि व्यक्तिगत स्तरमा मात्रै हुन्छ। यही भएर यी दुबै यानलाई ‘हिनयान’ भनिएको छ। आफू मात्रै मुक्त हुनु सजिलो काम हो, अरूप्रति अपार करुणा राखी अरुको मुक्तिमा आफू सरिक हुनुपर्छ भन्ने आदर्श बोकी बोधिचर्या ९साधना० गर्दै गर्ने र यस क्रममा अनेकौं जन्म लिई जस्तोसुकै दुस्खकष्ट भोग्नु परेपनि खुसीका साथ भोगेर अन्ततस् स्वयम् सम्यकसम्बुद्ध हुने लक्ष्य राख्ने यानलाई ‘बोधिसत्वयान’ भनिन्छ। ठुलै साधना, ठुलै लक्ष्य र लामो यात्रा भएका कारण यसलाई ‘महायान’ पनि भनिन्छ।

बौद्ध धर्म–दर्शनमा हिनयान र महायान गरी दुई यानमात्रै रहेछ भने यी अनेक नामका विभिन्न सम्प्रदायहरू के हुन् र कसरी यी सम्प्रदाय वा निकायहरूको विकास भएको हो भन्ने प्रश्न उठ्न स्वाभाविक हो। यही प्रश्नको जवाफबाट बौद्ध धर्म–दर्शनको विकासलाई बुझ्न सकिने हुन्छ।

गौतम बुद्धको उपदेश दिने तरिका सँधै एउटै तरिका थिएन। सबै मानिसको स्तर वा क्षमता एउटै नहुने भएका कारण उसको विभिन्न उपाय अपनाएर सम्बन्धित व्यक्ति वा समूहलाई सुहाउँदो तरिकाले उपदेश दिन्थे। र सुन्नेहरू लाभान्वित हुन्थे। यस क्रममा के कुरा देख्न पाइन्छ भने एउटै कुरालाई अनेकौं तरिकाले व्यक्त गरेका रहेछन्। बुझ्नेले बुझेपछि सकिहाल्यो, जटिलता भन्ने कुरा नै रहेन। तत्कालीन समयमा मात्रै नभएर उनको महापरिनिर्वाण भएको करीब सय वर्षसम्म पनि कुनै सम्प्रदायको भेद थिएन।

तर सय वर्षपछि भिक्षुहरू बीच नियमका सम्बन्धमा केही मतभेद देखापर्‍यो। यो मतभेदलाई आपसी छलफलद्वारा सुल्झाउन सबै भिक्षुहरूको भेला आयोजना गरियो। यस्तो भेलालाई बौद्ध समाजमा संगायन भन्ने गरिन्छ। यो दोस्रो पटकको संगायन हो। भेलाले समस्या समाधान गर्नुको साटो संघभेद नै गरिदियो। बुद्धले जस्तो उपदेश दिएका हुन् त्यस्तै पालना गर्नु पर्दछ, आफूखुसी फेरबदल गर्नु हुँदैन भन्ने समूहमा भिक्षुहरूको संख्या थोरै तथा पाको उमेरका थिए। त्यसैले यसलाई स्थविरवाद भनियो। समय र परिस्थितिअनुसार बुद्धद्वारा निर्दिष्ट नियममा केही फेरबदल गर्न सकिन्छ भन्ने समूह मूलधारबाट अलग्ग भए। मूलधारबाट अलग भएको यो समूहमा बहुमत थियो र यही कारणले उनीहरूले आफूलाई ‘महासांघिक’ नाम दिए। यस प्रकार ‘स्थविरवाद’ र ‘महासांघिक’ गरी पहिलो पल्ट दुई सम्प्रदाय विभक्त भयो।

समय क्रममा स्थविरवादबाट १२ र महासांघिकबाट ६ गरी जम्मा १८ निकायको उदय भयो। यी जम्मैलाई ‘अष्टादश निकाय’ पनि भनिन्छ। इस्वीपूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकको बेलासम्ममा अष्टादश निकाय अस्तित्वमा आइसकेको थियो। विभिन्न निकायको झमेलालाई साम्य पार्न सम्राट अशोकले पनि संगायनको आयोजना गरेका थिए। यही अवसरमा यी निकायहरूको खण्डन गर्ने काम पनि भयो। यो खण्डनको ग्रन्थलाई ‘कथावत्थु’ भनिन्छ जुन ‘त्रिपिटक’अन्तर्गत अध्ययन गर्न सकिन्छ। सम्राट अशोकको राज्यसत्ता ‘विभज्झवाद’को पक्षपाती थियो। सम्राट अशोकद्वारा आयोजित संगायनले अन्य सम्प्रदायलाई समेट्नुभन्दा उपेक्षा गरेको देखिन्छ। तर ती सम्प्रदायहरू आआफ्नै तरिकाले आआफ्नै ठाउँमा आआफ्नै प्रकारले अभ्यास गरेर बसेका थिए। यसै क्रममा ‘सर्वास्तीवाद’ नामको सम्प्रदाय पश्चिमतिर लागेर कश्मीर, गान्धार तथा अन्य क्षेत्रमा केन्द्रित हुन पुग्यो। यतातिर पुगेको सर्वास्तीवाद पनि गान्धार र कश्मीर गरी दुई समूहमा विभक्त भयो तर कुषाण सम्राट कनिष्कद्वारा आयोजित संगायनपछि उक्त भेदको अन्त्य भयो। साथै, यिनै सम्राटको संरक्षणमा सर्वास्तीवादी बौद्ध धर्मको प्रचारप्रसारले अझ व्यापकता पायो।

बौद्ध धर्मको अष्टादश निकायमा विभज्झबादको नाम आउँदैन। विभज्झवादका सम्बन्धमा धेरै प्रश्नहरू छन्। आजभोलि नेपाल, भारत, श्रीलंका, म्यानमार, थाइलाइन्ड लगायतका देशहरूमा प्रचलित थेरवाद पनि अष्टादश निकायको सूचीमा पाइँदैन। सुरुको ‘स्थविरवाद’ नै कालान्तरमा थेरवाद नामबाट जानिएको दावी गर्दछन्। तर थेरवादीहरू विभज्झवादबाट फाटेर आएको अर्कै नयाँ सम्प्रदाय भन्ने कथन पनि पाइन्छ।

सम्राट अशोक पछि पनि बौद्ध धर्म–दर्शनमा अनेक सम्प्रदायहरू फाट्ने क्रम रोकिएन। कतिपय सम्प्रदायहरू फाटिदै गयो भने कतिपय एक अर्कामा विलय पनि भयो। साथै त्यही बेला कतिपय सम्प्रदाय हराएको पनि पाइन्छ। यी सम्प्रदायहरूको आआफ्नै साहित्य पनि थियो।

बौद्ध धर्म–दर्शनमा एउटा उल्लेखनीय र महत्वपूर्व पक्ष स्वतन्त्र चिन्तन पद्दति हो। स्वतन्त्र चिन्तनमा स्वयं गौतम बुद्ध सबैलाई प्रोत्साहित गर्दथे। श्रद्धा र विश्वासमा अन्धभक्त भएर कुनै पनि कुरालाई त्यत्तिकै स्वीकार नगर्न भन्ने बुद्ध बचन नै रहेको पाइन्छ। स्वयं बुद्धले भनेको भन्दै कसैले कसैलाई केही कुरा भन्यो भनेपनि त्यसलाई हठात् स्वीकारी हाल्नुभन्दा ती कुराहरू अनित्य, दुस्ख, अनात्म, प्रतीत्यसमुत्पाद दर्शनअनुसार मिल्छ वा मिल्दैन, मिल्यो भने हो मिलेन भने होइन भनेर आफै निर्णयमा पुग्ने भनेको पाइन्छ। यसरी नै कुनै पनि कुरालाई सुनारले सुन जाँचेजस्तै जाँचेर मात्रै सही लाग्यो भने ग्रहण गर्न पनि सुझाएबाट वैचारिक स्वतन्त्रता प्रचुर मात्रामा प्रत्याभूत गरेको पाइन्छ। बुद्धसँग जो कोही व्यक्ति प्रश्न गर्न सक्थे। यही स्वतन्त्रताको फाइदा उठाउने क्रममा विभिन्न सम्प्रदायको उदय भएको मान्न सकिन्छ।

बुद्धद्वारा देशित बौद्ध धर्म–दर्शनका उपदेशहरूमाथि गहन चिन्तन मनन गर्ने क्रममा अनेक आचार्य तथा चिन्तकहरूले अनेक पक्ष वा कुरामा जोड दिन थाले। यी विविध पक्षहरू कालान्तरमा परम्परा नै भएर गयो र स्वतस् विभिन्न निकायहरूको जन्म भयो। यस क्रममा लेखिएका अनेक ग्रन्थहरूमा ‘प्रज्ञापारमिता’ ग्रन्थ पनि हो।  तर यसका पक्षपातीहरू यो कुनै व्यक्तिले लेखेको ग्र्रन्थ नभएर पालि त्रिपिटकजस्तै स्वयं गौतम बुद्धद्वारा देशित उपदेशहरूको संकलन मान्दछन्। यस ग्रन्थको व्याख्या गर्ने क्रममा आचार्य नागार्जुनले ‘माध्यमिकशास्त्र’ लगायतका ग्रन्थहरूको रचना गरे। प्रज्ञापारमिता ग्रन्थमा रहेको शून्यतासम्बन्धी दर्शनलाई थप व्याख्या नै आचार्य नागार्जुनको योगदान रह्यो। त्यसैले उनको दर्शन ‘शून्यवाद’को नामबाट पनि चर्चित छ। यसलाई माध्यमिक सम्प्रदाय पनि भनिन्छ। यो दर्शनले महायान सम्प्रदायलाई उजिल्याउने काम गर्‍यो। स्वयं बुद्धद्वारा महायानी दर्शनको उपदेश दिएको मान्यता यस सम्प्रदायको छ भने यसलाई थेरवादीहरू स्वीकार गर्दैनन्। महायानमा नै पनि मन्त्रयान र तन्त्रयानको प्रादुर्भाव भयो। महायानमा तन्त्रयानको विकाससँगै बज्रयान बौद्ध धर्म देखा पर्‍यो।

बौद्ध धर्म–दर्शनको विकास क्रममा बज्रयानमा पनि अनेक भेदहरू छन्। छोटकरीमा भन्नुपर्दा नेपाल तथा भारतबाट तिब्बतमा पुगेको विशुद्ध बज्रयानी बौद्ध धर्म हो। तर तिब्बतमा पुगेर निङमा र सारमा गरी दुई सम्प्रदाय फाटियो। तिब्बतमा बौद्ध धर्म सातौ शताब्दीभन्दा अघिदेखि नै पुगेको थियो। एघारौं शताब्दीमा भारतबाट आचार्य अतीसा दीपंकर श्रीज्ञान तिब्बतमा पुगेका थिए र त्यति बेला उनले तिब्बतमा एक प्रकारको धार्मिक क्रान्ति नै ल्याए। अतीसाभन्दा अघि र पछि भनेर विभाजनको रेखा नै कोरियो। उनीभन्दा अघिको बौद्ध धर्मलाई निङमा (पुरानो) भनियो भने पछिको धर्मलाई सारमा (नयाँ) भनियो। सारमा अन्तर्गत कदम सम्प्रदाय जन्मियो। त्यसपछि क्रमश काग्र्यूद र साक्य दुई सम्प्रदायको उदय भयो। पहिले विकास भएपनि पछि सेलाएको कदम सम्प्रदायलाई सुधार गरेर चोङखापाले जुन सम्प्रदायको  विकास गर्यो, त्यसलाई आजभोलि गेलूग सम्प्रदायको नामबाट जानिन्छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामा गेलूग सम्प्रदायसँग सम्बन्धित हुन्।

बौद्ध धर्म चीनबाट सुरुमा कोरिया र त्यसपछि जापानमा प्रवेश गरेको हो। चीन, कोरिया र जापानमा भिन्नाभिन्नै अनेकौं सम्प्रदायहरूको विकास भयो। चीन र जापानमा रहेको जेन बौद्ध धर्म मूलतः महायान अन्तर्गतको सम्प्रदाय हो। जापानमा रहेको बज्रयानी बौद्ध धर्मभित्र पनि शिङगोनलगायत अनेकौं उपसम्प्रदायहरूको विकास भयो। विभिन्न भूगोलमा विकास भएका विभिन्न सम्प्रदायहरूको लेखाजोखा आफैमा रोचक र दार्शनिक छलफल हो। यी सम्प्रदायहरूको छलफल एउटा सानो लेखमा संभव छैन।

बौद्ध धर्म–दर्शनका सम्प्रदायहरूको संख्या जति बढेपनि उनीहरूमा बुद्ध र बुद्धको शिक्षामा कसैको दुई मत पाइँदैन। स्वतन्त्र चिन्तनका क्रममा व्याख्या प्रणालीमा भने फरकपना आयो। कुनै सम्प्रदायले गौण ठानेको पक्षलाई नै प्रधानता दिई त्यसमाथि व्यापक चिन्तन गरी अर्को सम्प्रदायको विकास गरेको हुन्छ। यसरी नै कुनै एक ग्रन्थलाई महत्व दिई त्यसैमा मात्र केन्द्रित हुँदा पनि नयाँ सम्प्रदायको उदय हुनपुग्छ। उदाहरणका लागि काठमाडौं उपत्यकाका महायानी बौद्धहरूले ‘नवव्याकरणसूत्र’ महायानका विभिन्न नौ वटा ठुला ग्रन्थहरूको अनुशरण गर्दछन् भने जापानमा त्यही नवव्याकरणसूत्र भित्रको ‘सद्धर्मपुण्डरिकसूत्र’लाई मात्र अनुशरण गर्ने गरी ‘निचिरेन’ सम्प्रदाय बन्यो। निचिरेन सम्प्रदायमा पनि करीब दुई दर्जनभन्दा बढी उपसम्प्रदायहरू क्रियाशील छन्। जापानमा नै एउटा यस्तो सम्प्रदाय पनि छ जसले बौद्ध वाङमयमा भएका थुप्रै सूत्रमध्ये ‘महापरिनिर्वाणसूत्र’ एउटालाई मात्र अनुशरण गर्छ। अरु सूत्रहरूमा खासै चासो राखिँदैन। उनीहरू गौतम बुद्धको ‘महापरिनिर्वाण मुद्रा’ को मूर्ति मात्रै प्रयोग गर्दछन्।

कतिपय प्राचीन बौद्ध ग्रन्थहरूको अध्ययनबाट के बुझियो भने, बौद्ध धर्म–दर्शनमा यी विभिन्न सम्प्रदायहरूको उदयलाई सुरुदेखि नै नकारात्मक रूपमा लिएको पाइन्छ। अन्य सम्प्रदायका प्रणेताहरूलाई अनेक आरोप लगाउँदै ठुलै लान्छना गर्ने गरेको पनि पाइन्छ। यो प्रवृत्ति आजभोलि पनि विद्यमान छ। उदाहरणका लागि नेपाल, भारत र श्रीलंकाका थेरवादीहरू महायानी तथा बज्रयानीलाई विकृति मान्दछन् भने महायानी तथा बज्रयानीहरू यी थेरवादीलाई संकुचित र संकीर्ण ठान्दछन्। यसरी नै बज्रयानी बौद्ध सम्प्रदायमा प्रचलित कर्मकाण्ड तथा पूजाविधिलाई हिन्दू धर्मबाट प्रभावित तथा हिन्दू धर्मको कर्मकाण्ड तथा पुरोहित्याईलाई बौद्ध समाजमा हुल्याएको मान्छन्। तर बज्रयानी कर्मकाण्ड तथा पूजापद्दति झट्ट हेर्दा हिन्दू धर्मअनुसार देखिएपनि वास्तवमा  पढिने मन्त्र तथा सूत्रहरू विशुद्ध रूपमा बौद्ध धर्म–दर्शनका हुन्छन्। यज्ञ तथा होम आदि गर्दा बाह्य रूपमा हिन्दू ब्राह्मणको पद्दतिअनुसार देखिएपनि त्यहाँ वेदोक्ति हुँदैन। यही कुरा बुझ्न नसक्दा उन्नाइसौं शताब्दीमा नेपालको बौद्ध धर्म अध्ययन गर्न आएका युरोपेली बौद्ध विद्वानहरू ‘विकृत बौद्ध धर्म’ भनेर टिप्पणी गरेका थिए।

बौद्ध धर्म–दर्शनको अध्ययन गर्ने मनसाय राखी यस क्षेत्रमा प्रवेश गर्नेले सर्वप्रथम यी विभिन्न सम्प्रदायको रूपरेखाबारे सामान्य जानकारी लिनुपर्दछ। आफ्नो रुची र लक्ष निधारण गरेपछि मात्र गहिरिएर अगाडि बढ्नु अझ राम्रो हुन्छ। यदि यसो नहुने हो भने, विभिन्न पक्षमा जोड दिने सम्प्रदायहरूको कुरा सुन्ने, सबैलाई एकै ठाउँमा राखेर बुझ्दा विरोधाभास देखिने तथा अलिमलिने स्वाभाविक हो। एक सम्प्रदायको कुरा अर्को सम्प्रदायले उपेक्षा गर्ने वा विकृतिको रूपमा लिई नकारात्मक टिप्पणी पनि गरेको हुनसक्छ। सबै सम्प्रदायले सबै सम्प्रदायको कुरा बुझेकै हुन्छ भन्ने छैन। त्यसैले सर्वसाधारणलाई कुइरोमा हराएको कागको दशा भोग्नुअघि यी सम्प्रदायका बारेमा सामान्य जानकारी लिनु अत्यन्तै जरुरी छ। र, सदैव ध्यानमा राख्नु पर्ने कुरा हो, बौद्ध धर्ममा भएका यी विविध सम्प्रदाय तथा विचारको मतभेदलाई नकारात्मक रूपमा झगडा वा वैमनष्यताको रूपमा लिनु हुँदैन बरु बौद्ध धर्म–दर्शनको विकास र विस्तारका रूपमा लिनु पर्दछ। अनेकौं वादविवादको संस्कृति सकारात्मक कुरा नै हो। जुन कुरा गलत छ, समय सापेक्ष छैन, त्यो हराउँदै जान्छ।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?