नागरिकता विधेयकबारे सभामुख घिमिरेद्वारा पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्तासँग छलफल

तटस्थ भूमिका निर्वाह गर्न सुझाव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा पूर्वसभामुख र पूर्वमहान्यायाधिवक्ताहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी हुनुभएको थियो । उहाँहरूले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिनुभएको थियो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार घिमिरेले नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा छलफल गर्नुभएको थियो । ‘सभामुखको कार्यकक्षमा भएको छलफलमा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटा सहभागी हुनुभएको थियो । उहाँहरूले विधेयकको प्रमाणीकरण भएपछि ऐन बनिसकेको भन्दै सभामुखलाई तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिनुभएको छ,’ अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सभामुखलाई पक्ष वा विपक्षमा नलाग्न सुझाव दिएको बताइएको छ । ‘पक्ष-विपक्षमा राजनीतिक दलहरूले नै बहस गर्ने बताउँदै उहाँहरूले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यासअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो,’ अधिकारीले जानकारी दिनुभयो । पक्ष/विपक्षमा राजनीतिक दलहरूले नै बहस गर्ने बताउँदै उनीहरूले सभामुखले संविधान, नियमावली र प्रचलित अभ्यासअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सभामुखले पूर्वसभामुखभन्दा अगाडि पूर्वमहान्यायाधिवक्ताहरूसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू अग्निप्रसाद खरेल, रमेश बडाल, मुक्तिनारायण प्रधान र प्राडा. भरतबहादुर कार्की सहभागी रहनुभएको थियो ।

पूर्वमहान्यायाधिवक्ताहरूले पनि नागरिकता विधेयक प्रमाणीकरण बहसको विषय भएको बताउँदै न्यायिक निरूपण सर्वोच्च अदालतले गर्ने उल्लेख गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको थियो । अघिल्लो संघीय संसद्बाट दुईपटक पारित नागरिकतासम्बन्धी विधेयकलाई भण्डारीले प्रमाणीकरण गर्नुभएको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?