नमुना माझी बस्तीका घर प्रयोगविहीन

रासस
Read Time = 3 mins

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाई नेपाली संघले एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमुना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुण्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । १३ सदस्यीय परिवार नमुना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो ।

तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो । उहाँका अनुसार केही माझी परिवारले नमुना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमुना बस्तीका घरमा आधा भागसम्म ढुंगाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमुना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताउनुभयो । उहाँका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाखसम्म ऋण लागेको उहाँले बताउनुभयो ।

दीर्घकालीन सोच नराखी बनाइएको नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउने जस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?