आचार्यको निधन राज्यको चरम असफलता हो : मेयर बालेन

फाइल तस्बिर

Read Time = 6 mins

काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति राज्यको चरम असफलताको संकेत देखिएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँको निधन राज्यको चरम असफलता भएको हो बताउनुभएको हो । उहाँले आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरू भएपनि ठूलो कारण राज्य भएको बताउनुभएको छ ।

‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो, र सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो,’ बालेनले लेख्न भएको छ ।

मेयर बालेनले अब अरु कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा संवदेनशील भएर काम गरिरहेको बताउनुभएको छ ।

 

मेयर शाहले सामाजिक सञ्जालमा लेख्नुभएको छ
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।

एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगर क्षेत्रको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?