मतदाताको ‘मुड’ : पुराना दलका विपक्षमा

Read Time = 9 mins

काठमाडौं । आगामी पाँच वर्षका लागि आफ्नो विश्वास प्रदान गर्दै नेपाली जनताले आफ्नो सार्वभौम मताधिकार प्रयोग गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै अब नेपाली जनताको ‘मुड’को समीक्षा हुनु जरुरी भएको छ । हिजोसम्म आफ्नो मताधिकार कसरी, कुन रूपमा जनताले प्रयोग गर्ने हुन् अनेक अनुमानहरू थिए । तर, जनताको मुड हिजोको मान्यता र विश्वासअनुरूप छैन र परिणामले जनमुडको नवीन तस्वीर देखाउनेछ भन्ने अनुमान गर्न सकिने भएको छ । नेतृत्वमा पुगेर अकुत सम्पत्ति जुटाउने र त्यसैका भरमा विजय हासिल गर्न खोज्ने, दुष्प्रवृत्तिलाई जनमतले तिरस्कार गर्न खोजेको छ । निर्वाचनमा विजयी भएर निरन्तर आम नागरिकलाई दास, नोकर, बँधुवा मजदुर जस्तो ठान्नेहरूको तेजलाई मतदाताले कतै ध्वस्त पारिदिएका छन् कतै अत्यन्त क्षीण गराइदिएका छन् । सम्पूर्ण मतपरिणाम नआएसम्म सबै प्रवृत्तिको मूल्यांकन गर्नु अलि हतार हुनेछ । तर पनि केही संकेतहरूलाई प्रस्तुत गर्नु आवश्यक छ ।

(क) पुरानो सोच अवशान निकट :
संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो महानिर्वाचनसम्म आउँदा पनि पुरानै ढर्रा, सोच र शैलीका आधारमा आम नागरिकहरूको मूल्यांकन गर्ने र तदनुरूप आफ्ना योजनाहरू थोपर्नेहरूलाई मतदाताले भित्तोमा पुर्‍याउन खोजेका छन् । मतदाताले निर्वाचनमार्फत दिएको सन्देश के हो भने सामन्ती जमिन्दारी प्रथा अब कुनै पनि हालतमा चल्ने छैन । विचारले मात्रै नवीनता होइन अनुहार र व्यवहारमा पनि नवीनता खोजी भएको छ ।

(ख) संयुक्त गठबन्धन सिद्धान्तविहीन हो भन्ने प्रमाणित :
अन्तिम सत्य सत्ता भन्ने निरंकुश चिन्तनका प्रयोगवादी शीर्षहरू गलत थिए, यसका पक्षमा उभिनेहरू जो सुकै भए पनि लाचार र निर्विवेकी स्वार्थका पिण्ड थिए भन्ने स्थापित भएको छ । बहुलवाद र बहुदलीय सिद्धान्तको सार्वभौम तत्वमाथि हस्तक्षेप गर्दा जनताको कठोर विरोधको सामना अनिवार्य थियो र त्यस्तै संकेतहरू देखिएको छ । भर्खर उदित एक साधारण पत्रकारको पार्टीको घण्टीले असाधारण प्रभाव पार्न सक्नु समयको माग हो । समयको पदचाप बुझ्न नसक्नेहरूले जतिसुकै ठूला कुरा गरे पनि विगतमा स्थापित लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक ऊर्जालाई प्राप्त संकेतका आधारमा क्षतविक्षत पारिदिएको छ घण्टीले । यसबाट नेपाल कम्युनिष्ट पार्टी एमाले, माओवादी वा अरू कुनै पनि पुराना दलहरू अछुतो रहन सकेनन् । बरु निकै तल पिँधमा नदेख्ने गरी बसेको नेपाली कांग्रेस (बिपी) र संगठन शक्तिको प्रसव वेदना सही रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो केही भए पनि उचाई थप गरेको हो कि भन्ने लाग्छ, संकेत त्यस्तै छन् । मधेश प्रदेशमा घण्टीको आवाज कति पुग्यो स्पष्ट छैन । तर, राजधानीदेखि धेरै गाउँबस्तीमा त्यसको ध्वनिले धेरैको मनलाई कम्पित तुल्याएको अनुभव भएको छ । उमेरले नयाँ भए पनि पुराना पार्टीभित्रका जर्जर मस्तिष्कका अनुयायीहरूले राजनीतिक पुनर्जीवनको विकल्प खोज्नैपर्ने देखिएको छ जनमतको प्रारम्भिक संकेतबाट ।

(ग) आफन्तवाद र पत्नीवाद प्रतिको आक्रोश :
प्रत्यक्षमा ०६४ को समययता निकै कमजोर हुँदै आएको नेपाली कांग्रेसले विगत तीन निर्वाचनमा समानुपातिकबाट आफ्नो थोरै शाख जोगाएको थियो । तर, योपटक त्यो शाख धुलीसात हुने देखिएको छ । नेपाली कांग्रेसका अधिकांश मतदाताहरूले घण्टी, हलो र करुवामा समानुपातिक मत दिएका छन् । कतिपयले त माओवादीसँग गठबन्धनका कारण एमालेको सूर्यमा समेत मत दिएर आफ्नो असन्तोष प्रकट गरेको सुनिन्छ । लौरो आन्दोलन र क्रस खुकरीले समेत नेपाली कांग्रेसका मत घटाउन र कांग्रेसलाई साइजमा ल्याउन मद्दत गरेको अनुमान हुन्छ । किन यस्तो सोच नेपाली कांग्रेसका मतदातामा पलायो ? यथार्थमा नेपाली कांग्रेसले प्रधानमन्त्री पत्नी र गृहमन्त्री पत्नीलाई समेत समानुपातिकमा प्रस्तुत गर्नु र खसआर्यमा सदा सत्ताको डोरीमा पिङ खेल्न सिपालुलाई नै पहिलो नम्बरमा राख्नुले मतदाता क्रुद्ध भएका थिए । लामो समयदेखि निरन्तर योगदान दिएकाहरूलाई छलकपट गर्दै अधिकांश रूपमा आफन्त, परिवार, आफ्ना प्रिय र चाकरीमा महारत प्राप्तहरूलाई नै समानुपातिकको कोटामा राखेको अनुभव मतदाताले गरेपछि नयाँ मत चिन्हको खोजीमा उनीहरू लागे । प्रत्यक्षको उम्मेदवारीमा समेत विभेद भयो र विवेकसम्मत, न्यायसम्मत भएको थिएन । त्योभन्दा पनि ७६ स्थानमा आफ्नो संघीय उम्मेदवार नपाएका नेपाली कांग्रेसका मतदाताहरूले समानुपातिकमा समेत बदला लिने काम गरेको देखिँदै छ । यही हालत माओवादी र एमालेको भएको छ । तर, नेपाली कांग्रेसको जस्तो गम्भीर क्षति ती पार्टीहरूले भोग्नुपर्ने देखिँदैन ।

(घ) मतप्रति उत्साहहीन मतदाता :
पहिले जस्तो मताधिकारका लागि मतदाताहरूमा कुनै जाँगर देखिएन । कति प्रतिशत मत खस्यो त्यसको विवरण त निर्वाचन आयोगले देला । तर, राजधानी जस्तो अत्यधिक जनघनत्वको क्षेत्रमा समेत मतदाताहरूको पातलो उपस्थितिलाई सहज मान्न सकिँदैन । यद्यपि, प्रत्येक दिन श्रमबजार खोज्दै विदेश पलायन हुने मतदाताहरूको लर्को निरन्तर छ । गत वैशाख देखिकै तथ्यांक केलाउने हो भने प्रतिदिन दुई हजारका दरले करिब चार लाख बयालिस हजार वयस्कहरू विदेश पलायन भएका छन् । विगतमा नेपालको लोकतन्त्रलाई संस्थागत गर्न उत्साहित बुद्धिजीवीहरूको ठूलो पंक्तिले योपटक स्वदेश फर्केर योगदान गर्न अरुचि देखायो । त्यो पंक्ति लाखौँमा रहेको छ । स्वदेशमा नै रहेका अनेक वयस्क मतदाताहरू राजनीतिक नेतृत्वको अविश्वनीयताका कारण मतप्रति निरपेक्ष देखिए । परिवर्तनको उत्कट चाहना भएकाहरूले भने ठूला नामधारी पार्टीलाई पाठ सिकाउन हरसम्भव प्रयास गरेको देखिएको छ । तर, ठूला पार्टी विरुद्धको यो पाठ भोलिका दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नै नपढियोस् आजको चिन्ता हो यो । यो चिन्ता सामान्य मतदाताको मात्रै नभएर समयको पदचाप पनि हो कि भनेर बुझ्नु अनिवार्य भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?