मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको दाङ २ का मतगणना पुनः सुरु

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

बुटवल । दाङ २ को मतगणना अहिले सुचारु भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिनुभयाे । मतको विषयमा निर्णय गर्ने अधिकार मुख्य निर्वाचन अधिकृतलाई भएअनुसार सो निर्णय गरिएको हो । मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुनबमोजिम कारबाही हुने पनि उहाँले बताउनुभयाे ।

८८ वटा मतपत्रमध्ये माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । मतगणना स्थलमा रहेका राजनीतिक दलले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

हस्ताक्षर नगरिएका मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयाे । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उहाँले भन्नुभयाे । हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने उहाँले बताउनुभयाे ।

हालसम्मको मत परिणाम अनुसार दाङ २ मा एमालेका उम्मेदवार शंकर पोखरेलले पाँच हजार ९३९ मत ल्याउँदा माओवादी केन्द्रकी रेखा शर्माले सात हजार ५११ मत ल्याएर अग्रता कायम राख्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?