राष्ट्रियता धरापमा दलहरू आपसी सरापमा

इन्द्रबहादुर बराल
Read Time = 15 mins

प्रजातन्त्र पुनःस्थापनापछिको समय त्यति उत्साहजनक नहुँदा राजनीतिमा नैराश्य बढ्दो छ । विदेशी चलखेल त्यत्तिकै तीव्र रूपमा भएको अनुभव पनि सबै नेपालीहरूले महसुस गरेकै विषय हो । राजनीतिक व्यवस्था परिवर्तन भए तर नेपालीको अवस्थामा अपेक्षाकृत परिवर्तन नहुँदा निसन्देह जनतामा असन्तुष्टि बढ्ने नै भयो । जनतामा आएको निराशा र असन्तुष्टिलाई यथासमयमा व्यवस्थापन गर्न नसक्दा त्यसको प्रतिबिम्ब हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभामा सांकेतिक रूपमा देखापर्‍यो पनि । बौद्धिक वर्ग र राजनीतिक विश्लेषकहरूका अनुसार नेपाल अहिले अत्यन्तै गहिरो संकटमा छ, त्यो पनि राष्ट्रियताको सन्दर्भमा ।

चारैतिर नेपालको सार्वभौमसत्तामा देखापरेका अशुभ संकेतहरूले हाम्रो राष्ट्रियता गम्भीर संकटमा छ अर्थात् धरापमा छ भन्ने तथ्य आफैं बोल्छ । एमसिसीदेखि एसपिपी हुँदै नागरिकता विधेयकले राष्ट्रियतामा शंका उब्जाएको छ । हालै सम्पन्न आमनिर्वाचनमा माथिका तीनैवटा सन्धि÷सम्झौता र विधेयकका पक्षधरहरूको विजय उन्मुखताले थप आशंकालाई बल पुर्‍याएको छ । चुनावको यस्तो परिणामले राष्ट्रवादी शक्तिहरू सशंकित भएका छन् । नेपाल र नेपालीका लागि राष्ट्रियता सबैभन्दा प्यारो हो ।

नेपालका कम्युनिष्टहरूले भारतीय विस्तारवादको नारा उरालेर राजनीतिमा स्थापित भए तर पछि आएर त्यो बिस्तारवादको नारा मधुरो हुँदैमात्रै गएन कि उल्टै मौन समर्थनले कम्युनिष्टहरूको द्वैद चरित्र पनि उदांगो भइसकेको छ । नेपालमा विस्तारै राष्ट्रवादी शक्ति कमजोर हुँदैगरेको अवस्था छ ।

यदि राष्ट्रियता नै रहेन भने नेपाली पहिचान रहने स्थिति पनि रहँदैन । दुनियाँमा धेरै ठूल्ठूला युद्धहरू पनि देशको माटोप्रतिको मोहबाट भएका छन् । नेपालको संसदले पारित गरेको नागरिकता विधेयकले नेपालीलाई भविष्यको कुनै कालखण्डमा अल्पमतमा पारी सिक्किमको अवस्था नआउला भन्न सकिने स्थिति छैन । नेपालका कम्युनिष्टले भारतीय विस्तारवादको नारा उरालेर राजनीतिमा स्थापित भए तर पछि आएर त्यो विस्तारवादको नारा मधुरो हुँदैमात्रै गएन कि उल्टै मौन समर्थनले कम्युनिष्टहरूको द्वैद चरित्र पनि उदांगो भइसकेको सर्वविदितै छ । यसैले नेपालमा विस्तारै राष्ट्रवादी शक्ति कमजोर हुँदैगरेको अवस्था विद्यमान छ ।

यो एउटा गम्भीर चिन्ताको विषय बनेको छ । जति पनि राजनीतिक दलहरू छन् ती सबैले राष्ट्रियताको मुद्दालाई सत्तामा चढ्ने सिँढीमात्रै बनाए तर त्यो राष्ट्रियताको सबालमा दिगो रूपले कोही पनि टिक्न सकेको देखिएन । यसर्थ पनि नेपाली राष्ट्रियता धरापमा छ भन्न सकिन्छ । त्यसैले फेरि पनि नेपालीहरू राष्ट्रियताको सवालमा विभक्त हुनु दुर्भाग्यपूर्ण हो । सत्ताका लागि त जनताको मन जित्न नीति र कार्यक्रम अनि सैद्धान्तिक मार्ग चित्र लिएर जाने हो न कि राष्ट्रियतालाई सत्ता चढ्ने भर्‍याङ । एउटा बेइमानले देशको राष्ट्रियता समाप्त पारेको त आफ्नै आँखाअगाडि त्यही नजिकै सिक्किमका लेन्डुप दोर्जे नचिनेको र नजानेको कुन नेपाली होला र !

आज त्यही झझल्को सबै नेपालीका आँखा र मनभरि छचल्किराखेको छ । अतः राष्ट्रियतालाई सत्तासँग साटपाट गर्नेको बहुल्य सरकार र पार्टीहरूमा रहुन्जेल राष्ट्रवादी भावनाले ओतप्रोत भएका सच्चा नेपाली सपूतहरूमा शान्तिको निद लाग्दैन । अहिले आएर थाहा भयो कि राष्ट्रियताको सबालमा राजतन्त्रको आवश्यकता रहेछ कि भन्ने । यद्यपि यो नै अन्तिम सत्य हो त भन्न सकिँदैन तर पनि बीपी कोइरालाले राजतन्त्रको पक्षमा वकालत गर्नुको पछाडि राष्ट्रियताकै सबाल रहेछ कि भन्ने तर्कलाई पुष्टि मिल्छ ।

धरापमा राष्ट्रियताको सन्दर्भमा माथि केही चर्चा भए अब दलहरूका बारे केही विश्लेषणतिर लागौँ । बहुदलीय राजनीतिक प्रणालीमा दलहरू राष्ट्रिय राजनीतिमा हाबी हुनु स्वभाविकै हो । विसं २००७ को क्रान्तिपछि २०१५ सालसम्म पनि संक्रमणकालले धेरै लामो समय खेर फालेकै थियो । जेनतेन २०१५ मा प्रथम आमनिर्वाचनबाट निर्माण भएको सरकार १८ महिनामै अपदस्तपछि फेरि अर्को कालखण्ड सुरु भयो । त्यो कालखण्डलाई कतै अँध्यारो कालखण्ड त कतै स्वर्णीम पनि काल भन्ने गरिएको छ । यस्तै यस्तै तर्क वितर्कहरू चल्दै गए । तथापि त्यो अँध्यारो कालखण्डमा पनि केही सकारात्मक काम बारे आजभोलि विशेष महत्वका साथ चर्चा गर्ने गरेको पाइन्छ ।

तथापि पञ्चायतको तीस वर्षमा अरू धेरै गर्न सकिन्थ्यो होला तर त्यतातिर यथोचित ध्यान दिइएन भन्ने आवाज पनि सुनिएको अवस्था छ । जहानियाँ राणा शासनको १०४ वर्ष नेपालीलाई अन्धकारमा राखियो र शासकको सेवकमात्र बनाइयो । जसले गर्दा नेपालीको राजनीतिक र सामाजिक चेतना प्रायः शून्य नै रहृयो । केही सीमित मानिसहरू जसले राणा परिवारको सेवा गर्ने मौका पाए, उनीहरूले मात्रै आफ्नो वृत्ति विकास गर्ने गरेको अवस्था थियो । तर, पञ्चायत कालको तीस वर्षे अँध्यारोबाट जब बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो त्यही बेलादेखि नेपालीहरूका खास दिनहरू सुरु भएका हुन् भन्दा उपयुक्त नै हुन्छ ।

यद्यपि भौतिक विकासका केही महत्वपूर्ण पूर्वाधार उक्त अँध्यारो कालखण्डमा पनि भएका थिए । त्यसैको जगमा टेकेर आज केही विकासका पूर्वाधारहरूले गति समातिराखेको अवस्था छ । त्यस्तै अर्को कालखण्ड अर्थात् प्रजातन्त्रको पुनःस्थापनापश्चात् पनि केही उल्लेख्य प्रगति भएको पाइन्छ । तर, ती सबै उपलब्धिलाई दलहरूको आन्तरिक मनोमालिन्य र झैझगडाले ढाकिदियो अर्थात् छायाँमा पा¥यो भन्न थालियो । तर, गणतन्त्र नेपालको यात्रासम्म आइपुग्दाको त्यो कालखण्डको उपलब्धिलाई दलहरूकै आपसी खिचातानीले बिर्साइदियो ।

दोस्रो जनआन्दोलनले एउटा २४० वर्ष लामो राजतन्त्रको अन्त्य त गर्‍यो तर जनताका छोराछोरीले के पाए भन्ने प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । हुन त आज जनताका छोराछोरी राष्ट्रप्रमुख भएका छन् भनिँदै छ र हो पनि तर त्यसको प्रतिफल जनताले के पाए भन्ने प्रश्न फेरि तेर्सिराखेको छ । तथापि एकआध केही उल्लेखनीय काम भएका छन् तर ती कामको उपादेयिता हेर्दा लक्षित समूहमा पुगेको छैन भन्नेमा अब कुनै द्विविधा छैन । राजनीतिक र प्रशासनिक क्षेत्रमा समावेशी र समानुपातिक प्रतिनिधित्व त गराइएको छ तर त्यो पहुचवालाको पेरिफेरिमै घुमिरहेको छ ।

यसले आमजनतामा निराशा थपिदिएको छ, उनीहरूमा कुनै उत्साह देखिँदैन । यी सबै घटना र परिघटनालाई अहिलेको शिक्षित पुस्ताले नियालेर हेर्ने र बुझ्ने प्रयासस्वरूप राजनीतिमा हस्तक्षेप गर्न थालेका छन् जुन अत्यन्तै सकारात्मक पक्ष हो । हिजो दलहरूले जनतालाई भेडाबाख्रा जस्तै खेदेर आफ्नो र दलहरूको स्वार्थमा प्रयोग गर्दै दलीय सिण्डिकेट कायम गरेको स्थितिबाट अब भिन्न परिस्थिति देखापरेको छ ।

शिक्षित युवा पुस्ताहरू राजनीतिक मैदानमा उत्रिएपछिको अवस्थाले केही आशा पलाएको मात्रै छैन कि उनीहरूको हस्तक्षेपकारी भूमिकाले परम्परावादी दलहरूको हैकम खस्कँदो गतिमा ओरालो लाग्ने क्रम बढिरहेकोे छ । योग्यता र क्षमता भएकालाई पाखा लगाउँदै आफ्नै वरिपरि घुमिरहने गणेश भक्ति र आफन्तलाई मात्र काखी च्याप्दा आज विस्तारै त्यसको प्रतिफल चाख्दैछन् ठूला भनाउँदा दलहरू । यो अवस्था हालै सम्पन्न आमनिर्वाचनको अन्तिम परिणामपछि भुँडी फोराफोर हुने अनुमान पनि गरिँदै छ ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट उदाउँदै गरेका युवाहरूले नेपालको राजनीतिमा एउटा राम्रो जग बसालिदिए जसले गर्दा आज काठमाडौं उपत्यकामा धेरै युवाहरू प्रतिनिधिसभामा प्रवेश पाइसकेका छन् । यसले नेपाली राजनीतिमा उज्याला किरण देखापरे । आकाशका लाखौं ताराहरूको प्रकाशलाई एउटा चन्द्रमाले निस्तेज पारे झैँ परम्परावादी दलहरूलाई नवउदीयमान युवाहरूले चन्द्रमा जस्तै आफ्नो तेजले वर्तमानको अन्यौल र अन्धकारलाई चिर्ने विश्वास राखेको पाइन्छ । अतः अपेक्षा राखौँ कि तिनै पुराना दलहरूका विकृति, विसंगति र बेथितिको पुनरावृत्ति हुने छैन । युवाहरू जागेपछि देशलाईमाथि उठाउन त्यति कठिन पनि देखिँदैन ।

यत्रो चुनाव सम्पन्न भयो न कुनै नीति छ न कुनै कार्यक्रम, सैद्धान्तिक र वैचारिक कुरा त झन् परकै विषय भयो । भेडाले बाख्राको भीडमा उभिदा गर्व गरेको छ भने बाख्राले पनि भेडाको भीडमा उभिँदा त्यसरी नै गौरवको अनुभूति गरेको छ ।

आज जसरी बुर्जुवा पार्टीको नामले चिनिने कांग्रेस र प्रगतिशील पार्टी भनेर बुझिने कम्युनिष्ट एउटै ड्याङका मुल प्रमाणित भइसके । यी कांग्र्रेस कम्युनिष्टहरूको क्रमशः सतिदेवीको अंग खसे झैँ हरेक अंगप्रत्यंग झर्दै जाने निश्चित छ । नेकपा माओवादीको त करिब अब अस्तिपञ्जरमात्रै बाँकी छ भने अरूको पनि त्यही दुर्दशा हेर्न धेरै समय कुर्नु पर्दैन । यो दृश्य तिनै/तिनै पार्टीहरूको भुँडी फोराफोरले देखाउने छ । यस्तो स्थिति आउनुको पछाडि तिनै पार्टी संगठनभित्रको विवेकहीन नेतृत्व नै जिम्मेवार छन् ।

अब हेर्दै जाऊ इमानदार र लगनशील अनि सदाचारी कार्यकर्ताको मन दुःखेको छ । ती इमानदार, लगनशील र सदाचारी कार्यकर्ताको सराप कांग्र्रेस कम्युनिष्टलाई लाग्ने पक्का छ । अहिले देश आर्थिक रूपले अत्यन्तै जर्जर अवस्थामा छ । निर्वाचन गर्न र कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत विदेशीसँग हात थाप्नुपर्ने अवस्था छ । ऋणैऋणले देश चुर्लुम्म डुबिसक्यो तर पनि यी पुरानादलहरूलाई चिन्ता छैन । यत्रो चुनाव सम्पन्न भयो न कुनै नीति छ न कुनै कार्यक्रम, सैद्धान्तिक र वैचारिक कुरा त झन परकै विषय भयो । भेडाले बाख्राको भीडमा उभिँदा गर्व गरेको छ भने बाख्राले पनि भेडाको भीडमा उभिँदा त्यसरी नै गौरवको अनुभूति गरेको छ ।

न सिद्धान्त मिल्छ न कार्यक्रम मिल्छ, मिल्छ छ केबल सत्तामा जाने र बाँडिचुँडी खाने मत मिल्छ । यस्ता गैरजवाफदेही पार्टीहरूलाई अबको विकल्प कि त सही बाटो डोहो¥याउन सक्नुपर्छ होइन भने माछालाई पानीबाट पाखामा पछार्दा झैँ पछार्नुपर्छ र उदीयमान युवाहरूले जबर्जस्त सत्तामा हस्तक्षेप गर्नुपर्छ । यदि यस्तो कार्यमा युवाहरू पनि चुके भने हाम्री नेपाल आमा भगवान भरोसामा हुनेछिन् । यसर्थ देशको राष्ट्रियता धरापमा छ भने दलहरू आपसी सरापको थुप्रोमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?