चिकित्सा क्षेत्रबाट राजनीतिमा उदाएकी तोसिमा (भिडियाे)

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. तोसिमा कार्कीले प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार १३६ मतसहित विजय प्राप्त गर्नुभएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार १६३ भन्दा बढी मत प्राप्त गरी उहाँ विजय हुनुभएको हो ।

खड्काले १२ हजार ९७३ मत प्राप्त गर्नुभएको छ । अर्का हेभिवेट प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आठ हजार ७६९ मत प्राप्त गर्नुभएको छ । ‘स्वस्थ नेपाली, सुखी नेपाली, डा. तोसिमालाई भोट यसपालि’ भन्ने नारासहित उहाँ चुनावी मैदानमा उत्रनुभएको थियो ।

को हुन् तोसिमा
घण्टी चुनाव चिन्हबाट चुनावी मैदानमा होमिनुभएकी तोसिमा पेसाले चिकित्सक (जनरल सर्जन) हो । बुवा पदमबहादुर कार्की र आमा दीपा कार्कीकी छोरी डा. तोसिमाको जन्म विसं २०४६ सालमा भएको हो । ललितपुर महानगरपालिका-१८ नक्खुखोला मार्ग निवासी डा. तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । उहाँले मोर्डन इण्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएस सम्मको अध्ययन पूरा गर्नुभएको थियो । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरी सामाजिक न्यायका अभियान र भ्रष्टाचार विरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुभएको थियो । तोसिमा स्वास्थ्य पेसासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ । डा. तोसिमाले सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा निर्विरोध भएपछि उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी चुनाव चिन्ह प्रदान गरेको थियो । ललितपुरमा बलियो उम्मेदवारको रूपमा चर्चा बटुल्नुभएकी तोसिमा पछिल्लो समय सामाजिक सञ्जालमा समेत चर्चित हुनुहुन्छ । काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गर्नुभएकी तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

डा. कार्कीले विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा अभियानको नेतृत्व गर्दै आउनुभएको छ । २०७१÷७२ मा मेडिकल कलेजहरूमा हुने बेथितिविरुद्ध उहाँले इन्टर्न डाक्टर तथा मेडिकल विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । यस्तै, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनमा ‘जेल विथ आउट बेल’को अवधारणा समेटी संशोधन गर्न/गराउन सफल हुनुभएको थियो । भूकम्पको बेला सिन्धुपाल्चोकसहित देशका विभिन्न दुर्गम ठाउँहरूमा उहाँले स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएको थियो ।

शीतलहरको बेला सुनसरी, इनरुवा, रौतहट जस्ता ठाउँहरूमा ‘जाडोमा न्यानो’ अभियानको नेतृत्व पनि उहाँले गरिसक्नु भएको छ । यस्तै, उहाँले बाढी पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, इनरुवा जस्ता बस्तीहरूमा ‘राहत तथा उद्धार’ कार्यक्रम साथै स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको थियो । उहाँले २०७४/७५ सालमा त्रिवि मेडिकल कलेजहरूमा हुने एमडी, एमएस र बिडिएस भर्नामा हुने भ्रष्टाचार र बेथितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई मेरिट सूचीअनुसार भर्ना स्थापित गर्न सफल हुनुभएको थियो । उहाँले २०७५/७६ सालमा पुनः सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रिवि मेडिकल कलेजहरूमा हुने स्नातकोत्तर भर्नाको भर्ना शुल्क निर्धारण गरी लागू गराउन सफल हुनुभएको थियो । डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र तर्फको २० पटक सम्मको सत्याग्रहमा उहाँले आमआन्दोलन, व्यवस्थापन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, उहाँ सामाजिक न्यायका अभियान र भ्रष्टाचार विरुद्धका आन्दोलनहरूमा पनि सक्रिय देखिनुभएको थियो ।

‘जनताको आशालाई निराशामा परिणत हुन दिन्नँ’
राष्ट्रिय स्वतन्त्र पार्टीकी नवर्निवाचित सांसद डा. तोसिमा कार्कीले जनताको आशालाई निराशामा परिणत हुन नदिने बताउनुभएको छ । विजयीपश्चात् बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाँले आफ्नो लागि जितभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभएको हो ।

यो जित होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उहाँले भन्नुभयो । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उहाँले भन्नुभयो । जनताको आशा, विश्वास र भरोसालाई पाँच वर्ष सदनमा पेश गर्ने उहाँको प्रतिबद्धता छ । जनताका मुद्दामा म सधैँ साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जित हुनेछ,’ उहाँले भन्नुभयो, ‘मलाई निरन्तर खबरदारी गरिदिनु होला ।’ संसद्मा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उहाँको भनाइ छ । उहाँले आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने पनि बताउनुभएको छ । उहाँले संसद्मा जनमुखी मुद्दाहरू उठाउने बताउनुभयो । आफूले मतदाताहरूसमक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उहाँले बताउनुभएको छ । उहाँले ललितपुरवासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने र जनताको विश्वासमाथि घात नगर्ने पनि बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?