निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, दार्चुला, बझाङ, डडेलधुरा, डोटी र अछाममा विजय हासिल गरेको हो ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म एमालेले आठ र राप्रपाले एक जिल्लामा आफ्नो वर्चश्व कायम गरेका छन् । एमालले ताप्लेजुङ, पाँचथर, धनकुटा, सोलुखुम्बु, पर्वत, अर्घाखाँची, प्यूठान र बैतडीमा एकल जित हासिल गरेको छ भने राप्रपाले जुम्लामा एक सिट एकलरुपमा जितेको छ ।
आयोगका अनुसार एक सय ६५ सिटमध्ये हालसम्म ८९ स्थानको नतिजा सार्वजनिक भइसकेकामा कांग्रेस २८, एमाले २४, माओवादी केन्द्र नौ, एकीकृत समाजवादी छ, राष्ट्रिय स्वतन्त्र पार्टी पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी चार, लोकतान्त्रिक समाजवादी पार्टी तीन, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रबाट निर्वाचन जितेका छन् ।

दुवै कम्युनिष्ट पार्टीका महासचिव पराजित

हालसम्म दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव निर्वाचनमा पराजित भएका छन् । एमालेका महासचिव शङ्कर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मासँग पराजित हुनुभयो भने माओवादीका महासचिव देवप्रसाद गुरुङलाई एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभयो । माओवादीका उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पनि यस निर्वाचनमा पराजित हुनुभयो । यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव लेखराज भट्ट पनि पराजित हुनुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) निर्वाचनमा पराजित हुनुभयो । आफ्नो गृहजिल्ला छाडेर अर्को जिल्लामा निर्वाचनमा विजयी हुनेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ, कांग्रेसका प्रदीप पौडेल र वीरबहादुर बलायर, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २५ हजार बढी मतान्तरहित विजयी हुनुभएको छ । ओलीले आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीलाई २८ हजार पाँच सय ७६ मतले पराजित गर्नुभयो । पुनले पूर्ण बुढा मगरलाई २५ हजार दुई सय ३९ मतले पछि पारी विजयी हुनुभयो ।

त्यस्तै रास्वपाका अध्यक्ष लामिछानेले निकटतम् प्रतिद्वन्द्वी उमेश श्रेष्ठभन्दा ३४ हजार तीन सय १२ बढी मत प्राप्त गर्नुभयो ।

जेठा–कान्छा

प्रतिनिधिसभाको यस निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्छ । असी वर्षीय उहाँ बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा–१ बाट निर्वाचित हुनुभएको छ । उहाँ ७७ वर्षको हुनुहुन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित हुनुभएको छ । उहाँ पनि ७० वर्षका हुनुहुन्छ ।

यसैगरी रुपन्देही–४बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ–६ बाट निर्वाचित कांग्रेसका डा शेखर कोइराला ७२ वर्षीय हुनुहुन्छ ।

हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उहाँ २७ वर्षीया हुनुहुन्छ । गौतम काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचत हुनुभएको हो । यस्तै मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा पर्नुभएको छ ।

प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले तीन र रास्वपाका दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३ बाट तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी हुनुभएको छ ।

मधेसी समुदायबाट हालसम्म कांग्रेसका दिनेशकुमार यादव सप्तरी ३, रामकृष्ण यादव धनुषा २, अजय चौरसिया पर्सा २, एमालेका रामशङ्कर यादव सिरहा १, जुलीकुमारी महतो (महासेठ) धनुषा ३ र माओवादीका अमनलाल मोदी मोरङ ४, लोसपाका रामप्रकाश चौधरी सर्लाही १, सर्वेन्द्रनाथ शुक्ला रुपन्देही ४, जसपाका वीरेन्द्रप्रसाद महतो सिरहा ४ र प्रदीप यादव पर्सा १ र जनमत पार्टीका चन्द्रकान्त राउत सप्तरी २ बाट निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी हुनुभएको छ ।
औरासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?