नेमकिपाको ‘आधार क्षेत्र’ भक्तपुर

क्षेत्र नम्बर १ मा तीन दशकदेखि वर्चस्व, २ मा गुम्दै

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले भक्तपुर-१ मा विगत तीन दशक देखिको विरासत यसपालि पनि सुरक्षित गरेको छ । नेमकिपाको ‘आधार क्षेत्र’का रूपमा चिनिने भक्तपुर-१ बाट यसपालि पनि प्रेम सुवाल पुनः निर्वाचित हुनुभयो । निकटतम् प्रतिद्वन्द्वीभन्दा ३० हजार बढी मत ल्याउँदै उहाँ पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत मात्रै ल्याउनुभयो । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । २०३९ र २०४४ वडाध्यक्षमा चुनाव जित्नुभएका सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखसमेत बन्नुभएको थियो । २०४८ सालदेखिका संसदीय एवं संविधानसभा निर्वाचनमा भारी मतान्तरका साथ नेमकिपाले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा प्रमुख दलहरूले हस्तक्षेप गर्न सकेका छैनन् ।

प्रजातन्त्र पुनः स्थापनापछि २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा भएका निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले एकलौटी जितेको भक्तपुर-१ मा २०७४ सालयता प्रेम सुवालले किल्ला गाड्नुभएको छ । २०७४ सालको निर्वाचनमा नेमकिपा अध्यक्ष बिजुक्छेंले उम्मेदवारी नदिएपछि किल्ला भत्किने अनुमान गरिएको थियो । तर, त्यसो हुन सकेन । सुवाल नै भारी मतान्तले विजयी हुनुभयो । संसदीय निर्वाचनमा मात्रै होइन भक्तपुर नगरपालिकामा पनि नेमकिपाको एकलौटी राज छ । गत स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाका मेयरसहित उपमेयर र सबै वडाका सबै तहमा नेमकिपाले एक्लो विजय हासिल गरेको थियो । भक्तपुर नगरपालिकामा नेमकिपाले यसरी विजय प्राप्त गरेको यो पहिलोपटक थिएन । २०३९ सालदेखि भक्तपुर नगरपालिकामा नेमकिपाले अनवरत जित हासिल गरिरहेछ । भक्तपुरमा खास के छ ? किन कुनै दलले नेमकिपालाई चुनौती दिन सक्दैनन् ? यसका मूलतः चार÷पाँचवटा कारण छन् । सामाजिक संरचना नै परिवर्तन ल्याउने इतिहास, सामाजिक सुधारका लागि अनवरत प्रयास, सम्पदाको संरक्षण र सम्वद्र्धन, बलियो सांगठनिक संरचना र कमजोर विपक्षीका कारण भक्तपुरमा नेमकिपा सदावहार विजयी बनिरहेको छ । स्थानीय स्रोत, ज्ञान र संस्कृतिको उपयोगले उसलाई स्थापित भक्तपुरमा बलियोसँग स्थापित गरेको छ । भक्तपुरमा नेमकिपा बलियो भइराख्नुको अर्को कारण हो कमजोर विपक्षी । तीन दशकदेखि वर्चस्व जमाएको नेमकिपालाई हराउने विपक्षीसँग कुनै एजेण्डा छैनन् । विकास निर्माणका आश्वासन भक्तपुरवासीका लागि सामान्यजस्तै भइसके ।

क्षेत्र नम्बर २ नेमकिपा तेस्रो स्थानमा
भक्तपुर-१ मा तीन दशकदेखि नेमकिपाले किल्ला गाडिरहँदा क्षेत्र नम्बर २ मा भने वर्चस्व कायम गर्न सकेको छैन । २०७० सालसम्म आलोपालो जित्ने गरे पनि पछिल्ला दुई निर्वाचनमा भने लगातार नेमकिपा पराजित भएको छ । यसपालि क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभयो । क्षेत्र नम्बर २ मा नेकपा एमाले दोस्रो हुँदा नेमकिपा उम्मेदवार भारी मतान्तरसहित तेस्रो भए । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका महेश बस्नेत दोब्बर मतान्तरसहित विजयी हुनुभएको थियो । क्षेत्र नम्बर २ मा यसअघि नेमकिपा र कांग्रेस आलोपालो जस्तो विजयी हुने गरेका थिए । यो क्षेत्रमा २०४८ सालमा कांग्रेस, २०५१ मा नेमकिपा, २०५६ मा कांग्रेस, संविधानसभाका २०६४ र २०७० मा भएका दुई निर्वाचनमा क्रमशः नेमकिपा र कांग्रेसका उममेदवार विजयी भएका थिए । पछिल्ला दुई निर्वाचनमा जित हात पार्न नसकेको नेमकिपा क्षेत्र नम्बर २ मा भने कमजोर हुँदै गएको देखिएको छ ।

‘स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न संसद्मा आवाज उठाउँछु’
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसद्मा आवाज उठाउने बताउनुभएको छ । शनिबार भक्तपुरमा आयोजित धन्यवाद ¥यालीमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित सांसद सुवालले आफ्नो दबाब स्वदेशमै रोजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताउनुभएको हो । देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू लाग्ने उहाँको भनाइ छ । ‘संसद् भनेको कानुन बनाउने ठाउँ हो, एउटा कानुन राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रै देशमा काम दिनुपर्छ भनेर कानुन बनायौँ भने ७०÷८० लाख युवाहरू विभिन्न देशमा सस्तो ज्यामीको रूपमा जानुपर्दैन । यस्तै आवाज हामीले संसदमा उठाउने हो ।’

देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने उहाँले बताउनुभयो । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उहाँले आरोप लगाउनुभयो । देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने उहाँको भनाइ छ । ‘हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउनेछौँ ।’ सुवालले चुनाव जितेपछि सर्वसाधारणका छोराछोरीलाई १५ लाखमै डाक्टर पढाउने बन्दोबस्त गर्न आफूले संसद्मा संघर्ष गर्ने बताउनुभएको थियो । ख्वप विश्वविद्यालय स्वीकृत गराई १५ लाखमै मेडिकल शिक्षा दिन आफ्नो संघर्षलाई अझै अगाडि बढाउने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?