ललितपुरका ९ क्षेत्रः ५ मा एमाले, ३ मा कांग्रेसको जित

हिमालय टाइम्स
Read Time = 5 mins

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशम्शेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गर्नुभयाे । त्यस्तै क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गर्नुभएकाे छ ।

त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित हुनुभयाे ।

ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयाे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर २ को प्रदेशसभा १ मा  एमालेका रामेश्वर  श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पार्नुभयाे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गर्नुभयाे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर ३ को प्रदेशसभा १ मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा २ मा एमालेका प्रेमभक्त महर्जनले जित हासिल गर्नुभयाे । ललितपुर क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, प्रदेशसभामा निर्वाचित सदस्य रघुनाथ र प्रेमभक्तलाई मंसिर ८ गते बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

प्रतिनिधिसभामा निर्वाचित डा. कार्कीले ११ हजार १ सय ३६ मत, प्रदेशसभामा निर्वाचित रघुनाथले ९ हजार ७ सय ६६ मत र प्रेमभक्तले ९ हजार ५८ मत प्राप्त गर्नुभएकाे छ । ९४ हजार १ सय १६ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ लाख ५० हजार ४ सय १० मतदाता रहेको यस जिल्लामा १ लाख ६५ हजार ४ सय ३८ मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?