‘कोरोनापछि श्रम बजारमा चुनौती थपियो’

Read Time = 3 mins

काठमाडौं । कोरोनाले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभावबारे छलफल भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी अधिकारीबीच कोरोनाले कार्यस्थल र रोजगारीको स्थितिमा आ-आफ्ना देशमा पारेको प्रभावबारे छलफल भएको हो । बिल्डिङ रेजिलियन्स फर फ्युचर अफ वर्क एण्ड पोष्ट कोभिड-१९ विषयक कार्यक्रममा दक्षिण एशियाका नेपाललगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड युनियन र सरकारका प्रतिनिधिको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

सो अवसरमा महासंघको रोजगारदाता परिषद् सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोरोना महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नयाँ चुनौती देखा परेको भन्दै उल्लेखित चुनौती सामना गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो । जसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको भनाइ थियो ।

दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भौगोलिकरूपमा हामी दक्षिण एशियाली देश एकअर्कासँग नजिक छौँ, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्र छन्, दक्षिण एशियाली रोजगारदाता मञ्च (साफी) तीमध्ये एक हो, साफीलाई हाम्रो पारस्परिक हित र सहयोगका लागि अझ प्रभावकारी परिचालनतर्फ हाम्रो साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा आइएलओका देशीय निर्देशक डा. रिचार्ड हवार्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, आइएलओ काठमाडौं र दिल्ली अफिसका वरिष्ठ विज्ञ, सार्कटुकका महासचिव लक्ष्मण बस्नेतलगायतले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?