नयाँ दलहरूका कारण: समानुपातिकतर्फ बसेका कांग्रेसका प्रभावशाली नेताहरू नै अप्ठेरोमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ । बाँकी तीनवटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ ।

समानुपातिकतर्फसमेत मतगणना सकिने तर्खरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेटअनुसार एमाले पहिलो दलको रूपमा देखापरेको छ । उसले २७ लाख ७४३ हजार ९९९ मत ल्याएको छ ।  नेपाली कांग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ ।

अब तीनवटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मतपरिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन । पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ । राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट संख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ ।

समानुपातिकतर्फको मतपरिणामले नेपाली कांग्रेसका चर्चित नेताहरू संसदमा जानबाट वञ्चित हुने देखिएको छ । समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेरो परेको छ ।

कांग्रेस प्रवक्ता महत यसपटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहानुभएन । उहाँ समानुपातिकको खासआर्य पुरुषतर्फ पहिलो नम्बरमा हुनु हुन्छ। निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बस्नुभएको छ। स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा हुनु हुन्छ । सहमहामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा ३ का फरमुल्लाह मन्सुर मुस्मिल पुरुषतर्फ पहिलो नम्बरमा हुनु हुन्छ । योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बस्नुभएको छ । समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ ।

यद्यपि समानुपातिकबाट सांसद हुनेहरूको सूची टुंगो लगाउनु पूर्वसंघीय संसदमा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ । कांग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने (सम्भावित) सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी संघीय संसदमा कांग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशत अर्थात ३२ जना महिला हुनुपर्छ । अहिले प्रतिनिधिसभामा एकजना र राष्ट्रियसभामा तीनजना महिला छन् । कांग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । बाँकी समानुपातिकतर्फबाट पाउने पाँचजना पुरुष जान पाउने छन् । महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रष्ट व्यवस्था छैन ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्दसूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताउनु भयो। यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुंग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउनु हुन्छ ।

यद्यपि यसपटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन । तर, जनसंख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ । त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खासआर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरु सांसद बन्नेछन् । यसँगै क्रमशः दलित, थारु, मुस्लिम, अपांगता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ ।

जसअनुसार कांग्रेसबाट प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्न सक्नुहुन्छ । यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जयपति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुनुहुन्छ । महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्नुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?