कविता : मेरो अध्ययनको खोज

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ नन्दलाल खरेल
मेरो अध्ययनको खोज
अभाव, पीडा, दुःखमा रुमलिएका
भुइँतहका मानिसहरू ।
प्रहार गर्छु
शोषक, सामन्ती, दलाल
माफिया, बिचौलियामाथि
अनेक लेखकीय शिल्पी
प्रयोग गरी ।

मेरो अध्ययनको खोज
प्रकृतिप्रदत्त सम्पदाहरू
हावा, पानी, जंगल, जमिन ।
सबै चिज
सबैका लागि समान
न कि मुट्ठीभर औंलामा
गन्न सकिने मानिसमा मात्र
नहोस् कसैगरी ।

मेरो अध्ययन र खोज
मानिस किन गरिब हुन्छ
विभेद किन मानिस मानिसमा ।
किन सधैँ
पुँजीवदी दासता स्वीकार्न
किन बाध्य छौँ हामी
के यसलाई चिर्न सक्दैनौँ
कहिल्यै कसैगरी ।

मेरो अध्ययन र खोज
किन घुँडा टेक्छन्
पटक-पटक सम्झौता गर्छन्
कम्युनिष्ट क्रान्तिकारीहरू ।
निजी सम्पत्तिको समूल नष्ट गरी
हिँड्ने कम्युनिष्ट क्रान्तिकारीहरू
किन जोड्न अकूत सम्पत्ति
भावी पुस्ताको लागि ।

मेरो अध्ययनको खोज
कसरी हुन्छ मानिस
शान्ति, विवेकी र आनन्दी ।
गर्छु अठोट
न्याय, समानता, सहिष्णुता
यो हुन् औजार
सुन्दर शान्त बनाउन
जादुगरी प्रयोग गरी ।

मेरो अध्ययनको खोज
मानिस ईश्वरले बनायो कि
ईश्वर मानिसले ।
निष्कर्षमा पुग्छु
मानिस ईश्वरले होइन
ईश्वर मानिसले पो बनायौँ
यसो भन्दा मुर्ख भन्छन्
समाजका अहंकारी ।

मेरो अध्ययनको खोज
जीवन त देखिन्छ
मृत्यु किन देखिँदैन ।
किन सधैँ
आवाज त सुनिन्छ
किन मौन सुनिँदैन
भेटेको छैन अहिलेसम्म
प्रश्नहरू छन् अनुत्तरित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?