राजनीतिमा उमेरको कुनै अर्थ छैनः चन्द्र भण्डारी

हिमालय टाइम्स
Read Time = 3 mins

बुटवल । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताउनु भएकाे छ । उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उहाँले सोंच, व्यवहार र जिम्मेवारी  सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयाे ।

नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस नेता भण्डारीले यस्तो बताउनु भएकाे हाे । अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश तहसनहस भएको उदाहरण दिंदै उहाँले राजनीति र देश विकासमा उमेरले कुनै प्रभाव नपार्ने बताउनु भयाे ।

उहाँले देशले पुरानो अनुहारको निरन्तरता होइन, नयाँ अनुहार खोजेको बताउनुभयाे । “देशले उमेरमा युवा खोजेको होइन, नयाँ अनुहार खोजेको हो, ३० वर्षसम्म एउटै अनुहारले मुलुकलाई विकासको गति दिन सकेन”-भण्डारीले भन्नुभयाे ।

पञ्चायतले ३० वर्ष शासन गरेको र बहुदल आएपछिका ३० वर्ष अहिलेकै अनुहारबाट शासन सञ्चालन भैरहेको भन्दै भण्डारीले भन्नुभयाे-“अव उही पुरानै अनुहारले दृष्टिकोण भएर मुलुक चल्दैन ।” सरकारको नेतृत्वबारे सोधिएको प्रश्नमा काँग्रेस नेता भण्डारीले नयाँ नेतृत्वको विकल्पका बारेमा पार्टीका नेताहरुसँग छलफल गरेपछि मात्र टुंगोमा पुगिने बताउनुभयाे ।

राजनीतिक दलहरु जनतामा पुग्न नसकेकाले अहिले विकल्पको खोजी भएको भन्दै भण्डारीले अहिले पनि जनताको मन जित्न होइन मत किन्न खोज्ने प्रवृत्ति विद्यमान रहेको औंल्याउनुभयाे । “गरीबलाई किन्न खोज्ने प्रवृत्ति बढेको छ, जनताको मन जितेर मत ल्याउने होइन, रक्सी र मासुमा भोट किनबेच हुन्छ”-उहाँले भन्नुभयाे–“नेताहरु मन्त्री बन्ने, कमाउने र परिवार बन्ने सोंचबाट माथि उठ्न नसक्दा यो अवस्था आयो ।” मुलुकको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार रहेको भन्दै भण्डारीले यसलाई निको पार्ने योग्य डाक्टर आफूहरु नै रहेको दावी गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?