इंग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा

Read Time = 4 mins

दोहा । इंग्ल्याण्ड र फ्रान्स जारी कतार विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारको अल बयात रंगशालामा आइतबार राती भएको खेलमा इंग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्डका लागि खेलको ३८औँ मिनेटमा जोर्डान हेन्डर्सनले सुरुवाती गोल गर्नुभएको थियो । पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले अग्रता दोब्बर बनाउनुभयो । साथै खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इंग्ल्याण्डलाई तेस्रो अग्रता दिलाउनुभयो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इंग्ल्याण्डले ३-० ले जित्यो ।

यस्तै, अर्को खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गर्‍यो । जितसँगै साबिक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो ।

यसअघि शनिबार सम्पन्न खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्याण्ड्सले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता दिलाउनुभयो । उहाँले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाउनुभयो ।

त्यस्तै, खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाउनुभयो । उहाँले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जित पक्का भएको थियो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा पोल्याण्डले पेनाल्टीमार्फत् एक सान्त्वना गोल गर्‍यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक हृयुगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिनुभयो । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाउनुभएको थियो । दोस्रो प्रयासमा भने उहाँले गोल गर्न सफल हुनुभयो ।

विश्वकपमा फ्रान्स समूह ‘डी’ को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?