महाकालीमा एकतर्फी तटबन्धन निर्माणविरुद्ध भारतलाई नेपालको कूटनीतिक नोट

सीमा क्षेत्रमा निर्माण गरिने संरचनाका लागि नेपालसँग सहमति लिन माग

यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरूमाथि भएको ज्यादतीलाई लिएर सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तरा खण्डको धार्चुलातर्फबाट सीमा नदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरूमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो ।

‘सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुनुपर्ने’
मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत उक्त कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालय सूत्रले जनाएको छ । उक्त कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमा क्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ । जसमध्ये दुवै देशको सीमा नदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ ।

त्यसैगरी, सीमा क्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ । तेस्रो बुँदामा सीमा क्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ ।

गृहको पत्रपछि परराष्ट्रको कूटनीतिक नोट
यसअघि सोमबार गृह मन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो । त्यही प्रतिवेदन प्राप्त भएपछि परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो ।

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । गृहले सोमबार परराष्ट्रलाई पत्र लेख्दै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख गरेको थियो ।

नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्‍याउने गृहको पत्रमा उल्लेख छ । गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुनुपर्ने पत्रमा उल्लेख गरेको थियो । साथै पटक-पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेको उल्लेख गर्दै गृहले कूटनीतिक रूपमापहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको थियो ।

आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनजिक खेलिरहेका चार बालक घाइते भएका थिए । नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । प्रशासनले बल प्रयोग गरेर केही घण्टामै गेट खुलाएको थियो । सोमबार पुनः भारतीय पक्षले धारचुलातर्फ पुल बन्द गरेर केही घण्टा आवागमन अवरुद्ध पारेका थिए ।

भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई
नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ । ‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन ?’ भनेर प्रश्न गर्दै भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्काल रोकी दुई पक्षीय वार्ता गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्नुभएको हो ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन’, भट्टराईले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामिला संघीय सरकारको भएकाले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?