सरकार निर्माणमा गठबन्धनका लागि‘अफर’मा साना दल

त्रिशंकु संसद्को कारण साना पार्टीहरू सरकार निर्माणमा निर्णायक

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै आगामी सरकारको चासो बढ्दै गएको छ । सत्तारूढ दलहरू गठबन्धन गरेरै चुनावमा होमिए पनि आशातीत परिणाम ल्याउन नसकेपछि आगामी सरकार कसको नेतृत्वमा बन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । उसो त सत्ता गठबन्धनको संयुक्त बैठकले आगामी दिनमा पनि गठबन्धलाई निरन्तरता दिएरै अघि बढ्ने निर्णय गरिसकेको छ । तथापि, शक्ति बाँडफाँडको विषय अझै टुंगिन बाँकी रहेकाले यही गठबन्धन कायम रहने विषयमा संशय बाँकी नै छ । सरकार बनाउन दलहरूबीच बहुपक्षीय गठबन्धन गर्नुपर्ने भएको छ । बहुमत कसैले पनि नल्याएपछि सरकार बनाउन दलहरू सांसदको जोडघटाउमा लागेका हुन् । सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गरेका छैनन् ।

सरकारको नेतृत्व गर्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्ना दाबी राख्दै आएका छन् । सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन गठबन्धनमा रहेका दलहरू र अन्य साना दलहरूसँग पनि निरन्तर संवाद गरिरहेको छ । माओवादी केन्द्र पनि सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने कोसिसमा छ । उसले एमालेलाई देखाएर कांग्रेससँग ‘बार्गेनिङ’ गरिरहेको छ । नेकपा एमालेले यस विषयमा आधिकारिक धारणा बाहिर ल्याएको छैन उसले ‘पर्ख र हेर’को रणनीति अँगालेको छ । माओवादी र एमालेभित्र वामपन्थी पार्टीहरू मिलेर जानुको विकल्प नभएको भन्दै वाम सरकार बनाउनुपर्ने आवाज पनि मधुरो रूपमा उठिरहेकै छ ।

संसद्मा धेरै पार्टीहरूको उपस्थिति भएकाले सरकारको समीकरण निकै जटिल पनि देखिएको छ । माओवादी र एमालेलाई बाहिर राखेर पनि सरकार बनाउन सकिने सम्भावना उत्तिकै छ । त्यसैगरी, एमाले र कांग्रेसको नेतृत्वमा पनि सरकार बनाउन सकिने चर्चा चलिरहेकै छ यद्यपि यो सम्भावना भने निकै कमजोर रहेको छ । त्रिशंकु संसद्को कारण साना पार्टीहरू पनि सरकार निर्माणमा निर्णायक देखिने सम्भावना बढेर गएको छ । जस्तोसुकै गठबन्धन गरे पनि साना दलहरूको सहयोग चाहिने भएकाले उनीहरूको महŒव बढ्दै गइरहेको छ ।

साना दलहरू निर्णायक शक्ति
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि १३८ सिट ल्याउन सकेका छैनन् । नेपाली कांग्रेसले सर्वाधिक ८९ सिटमा जित हासिल गर्दा माओवादी केन्द्र ३२ सिटमा खुम्चिएको छ । एकीकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्न नसके पनि उसले प्रत्यक्षमा भने १० सिट जितेको छ । लोसपाले प्रत्यक्षमा चार सिट जितेर राष्ट्रिय दल बन्नबाट वञ्चित भएको छ । जनमोर्चाले प्रत्यक्षमा एक सिट हात पारेको छ । यसरी पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी १३६ सिट आएको छ । सरकार बनाउन १३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा १३ र प्रत्यक्षमा सात गरी २० सिट प्राप्त गरेको छ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ । तर, तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय दल भने हुन सकेन । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा पाँच गरी ६ सांसद हात पारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रत्यक्ष र समानुपातिकमा गरी १४ सिट ल्याएको छ भने जनता समाजवादी पार्टीले प्रत्यक्ष र समानुपातिकमा गरी १२ सिट हात पारेको छ । सरकार गठनमा साना दलको सहयोग अनिवार्य हुने भएकाले नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन् । उनीहरूलाई गठबन्धनमा तान्ने प्रयास भइरहेका छन् । तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्ता गठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?