कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत पाउनेमा संशय

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभा उपसभामुख सृजना दनुवारले भदौ ४ गतेलाई विश्वासको मत लिन समय दिनुभएको हो । यसअघि मुख्यमन्त्री कार्कीले भने आज (आइतबार)लाई समय माग गर्नुभएको थियो । तर, उसभामुख दनुवारले सोमलाई समय दिनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । उपसभामुख दनुवारले मुख्यमन्त्री थापालाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिनको १ बजेको समय दिनुभएको हो । कोशी प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मत लिने प्रस्तावको छलफल हुनुभन्दा दुई दिनअगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने उल्लेख छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकपछि उपसभामुख दनुवारले अर्को बैठक भदौ ४ गते सोमबार दिनको १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । सभामुख बाबुराम गौतमले कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार गठनका लागि पदबाट राजीनामा दिएपछि कोशी प्रदेशसभाको नेतृत्व उपसभामुखको हातमा पुगेको छ । तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पु¥याएर असार २१ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कांग्रेस नेता थापाको पद सर्वोच्च अदालतको आदेशले खारेज भएपछि सभामुखबाट गौतमलाई राजीनामा गराएर पुनः दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापालाई भदौ १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ ।

सहज छैन विश्वासको मत लिन
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । उहाँ कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । कोशीमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा छन् । अहिलेकै अवस्थामा तलमाथि नभए उहाँलाई विश्वासको मत पाउन समस्या हुने छैन । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएको अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत लिन सभामा बहुमत सिद्ध गर्न सक्नुहुने छ । तर, एमालेले उपसभामुखलाई अनुपस्थित गराएको खण्डमा उहाँलाई विश्वासको मत लिन सकस पर्ने देखिन्छ । मुख्यमन्त्री थापा नेतृत्वको सरकार ढाल्ने प्रयोजनका लागि एमालेले समेत दनुवारलाई राजीनामा गराउन सक्ने सम्भावना कायम छ । उहाँ अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका ज्येष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नुपर्ने अवस्था आउनासाथ उहाँले विश्वासको मत पाउने सम्भावना छैन । उपसभामुख दनुवारले राजीनामा दिनसक्ने अवस्थाप्रति सचेत रहँदै सत्ता गठबन्धनले भने ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिसकेको छ । यद्यपि, एमाले नेताहरूले उपसभामुखबाट राजीनामा नगराउने बताएका छन् । प्रदेशमा राप्रपाका साथ पाएको खण्डमा भने मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने देखिन्छ । तर, राप्रपा हालसम्म विश्वासको मत नदिने अडानमा छ ।

विश्वासको मतका लागि कोशीमा सांसदलाई मन्त्री र १० करोडको अफर : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भइरहेको दाबी गर्नुभएको छ । कोशी प्रदेशसभामा निर्णायक शक्तिको रूपमा रहेको राप्रपा अध्यक्ष लिङ्देनले विश्वासको मत लिन प्रदेशसभा सदस्यलाई मन्त्री पद र १० करोड रुपैयाँको प्रस्ताव गरेको दाबी गर्नुभएको हो । कुन पार्टीका सांसदलाई अफर गरिएको हो भन्ने स्पष्ट नखुलाउनुभएका उहाँले सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैयाँ दिने प्रस्ताव आएको निकट स्रोतले जनाएको बताउनुभएको छ । ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भइसकेसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलामो गएर मन्त्री र १० करोडको अफर गर्दै छन् भन्ने हला काठमाडौंसम्मै आइपुगेको छ,’ उहाँले भन्नुभएको छ । भदौ ४ गते कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?